आत्मरक्षा तालिम लिँदै किशोरी

कान्तिपुर संवाददाता

जनकपुर — आफूमाथि हुने लैंगिक हिंसा तथा विभेदबाट जोगिन प्रदेश २ का ६ हजार ४ सय किशोरी मंगलबारदेखि आत्मरक्षा तालिम लिन थालेका छन् । ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्र निर्माणका लागि खेलकुद’ मूल नारासाथ सामाजिक विकास मन्त्रालयले ८ जिल्लाका ६४ सामुदायिक विद्यालयका छात्रालाई आत्मरक्षा तालिम दिन लागेको हो । 

प्रदेश २ सामाजिक विकास मन्त्रालयले सञ्चालन गरेको १५ दिने आत्मरक्षा तालिम सिक्दै किशोरी ।तस्बिर : श्यामसुन्दर शशि/कान्तिपुर

तालिम उद्घाटन समारोहका प्रमुख अतिथि आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्रकुमार यादवले प्रदेश २ किशोरीलाई शारीरिक तथा मानसिक रूपले सक्षम बनाउन आत्मरक्षा तालिम सञ्चालन गरिएको बताए ।

‘चेलीबेटीहरू सक्षम भएर पनि सामाजिक विभेदको कारण अवसरबाट वञ्चित रहँदै आएका छन्,’ उनले भने, ‘तालिमले उनीहरूलाई आत्मरक्षा गर्न सीप सिकाउनुका साथै आत्मबल पनि बढाउने छ ।’ पूर्व खेलाडीसमेत रहेका मन्त्री यादवले यस्ता तालिम वर्षभरि चलाउनुपर्ने बताए । प्रदेश सरकारले सञ्चालन गरेको १५ दिन तालिम अझै लम्बाउनुपर्ने उनको भनाइ थियो ।

सामाजिक विकास मन्त्री नवलकिशोर साहले लैंगिक हिंसाका कारण किशोरी अध्ययनलाई निरन्तरता दिन नसकिरहेको बताए । उनले भने, ‘किशोरीलाई शारीरिक रूपले सक्षम तथा आत्मरक्षा गर्न सक्ने सीप दिनुपर्दछ भने मेरो मान्यता छ ।’ जनविकास स्रोत केन्द्रका अध्यक्ष वैद्यनाथ यादवको अध्यक्षतामा कार्यक्रम भएको थियो । सहभागी किशोरीलाई प्रमुख प्रशिक्षक मोहम्मद असगर खाँले आत्मरक्षा तालिम दिएका थिए ।

प्रकाशित : असार ११, २०७६ ०९:५७
प्रतिक्रिया
पठाउनुहोस्

विद्यालयमा पोसाक ढाका

अंग्रेजी माध्यमबाट पढाइ हुने स्कुलमा विद्यार्थीलाई मासिक शुल्क अनिवार्य छैन । विद्यार्थीलाई आवश्यक किताब, कापी, कलम साथै पोसाकको समेत व्यवस्था विद्यालयले गरेको छ ।
आश गुरुङ

लमजुङ — छात्रा ढाकाको चोली र फ्रकमा छन् । छात्रले ढाकाकै भोटो र सुरुवाल लगाएका छन् । टाई र बेल्ट प्रयोगमा छैन । बेंसीसहर नगरपालिका ३, गाउँसहरको लमजुङ दरबार नजिकै हेभेन हिल एकेडेमीमा छात्राछात्रको स्कुल पोशाकमा नेपालीपन झल्किन्छ ।

लमजुङको बेंसीसहर ३ मा रहेको हेभेन हिल एकेडेमीमा छात्राछात्र ढाकाद्वारा निर्मित पोसाकमा । तस्बिर : आश/कान्तिपुर

बिहान साढे ९ बजेदेखि खुल्ने स्कुलमा प्रार्थनाअघि विद्यार्थीलाई नेपाली तथा अंग्रेजी र्‍याम प्रस्तुत गरी नाच्न लगाइन्छ । कमजोर विद्यार्थीका लागि ‘हर्स थेरापी’ गरिएको छ । घोडचढीले विद्यार्थीमा आत्मविश्वास बढ्ने र बढाउने विश्वास स्कुलको छ । ‘नेपालीपन झल्काउन हामीले ढाकाको लुगा प्रयोगमा ल्यायौं । विद्यार्थीमा आत्मविश्वास बढाउन हर्स थेरापी गर्दै आएका छौं’ प्रिन्सिपल शम्सेरबहादुर थापाले भने ।

एकेडेमीमा १ सय १० विद्यार्थी छन । अंग्रेजी माध्ययमबाट पढाइ हुने स्कुलमा विद्यार्थीलाई मासिक शुल्क अनिवार्य छैन । विद्यार्थीलाई आवश्यक किताव, कापी, कलम साथै पोसाकको समेत व्यवस्था विद्यालयले गरेको छ । उनका अनुसार हरेक शनिबार विद्यार्थीलाई खाना पकाउन सिकाइन्छ । यसबाट बालबालिकामा सिर्जनात्मक क्षमताको विकास हुने उनले बताए । बालबालिकाले विभिन्न परिकार खान पाउने भएकाले कुपोषणबाट बचाउन र पढाइप्रति रुची बढाउन थप मद्दत मिलेको उनले दावी गरे ।

‘विद्यार्थीलाई पूर्ण बालमैत्री वातावरणमा पढाउने गरिएको छ’ उनले भने । उनले गत डिसेम्बरमा दुबईको एक संस्थाबाट ‘टिचिङ एक्सिलेन्ट अवार्ड–२०१८’ समेत पाएका थिए । यस वर्ष बेलायती संस्था भार्की फाउन्डेशनले एक मिलियन अमेरिकी डलरको ‘ग्लोबल टिचरङ प्राइज’ को उत्कृष्ट ५० मा उनी छानिएका थिए । अन्तिममा उनी विजयी हुन सकेनन् । ‘म नेपालबाट यो पुरस्कारका लागि ५० जनामा पर्ने एक्लो शिक्षक थिएँ । पुरस्कार प्राप्त नभएपनि विश्वभरबाट ५० जनामा छानिनु नै ठूलो कुरा ठानेको छु’ उनले भने । उनका अनुसार उक्त पुरस्कारका लागि विश्वभरका ३० हजार शिक्षकले फर्म भरेका थिए ।

गाउँमा मावि कक्षा पढेपछि कक्षा ११ र १२ पढ्न शम्सेर बेंसीसहर झरे । उच्च शिक्षाका लागि काठमाडौं गए । नगरकोटमा एउटा होटलमा काम गरे । गाउँ फर्केर उनले हेभन हिल होटल खोले । उनको होटलमा विदेशी पर्यटक आउन थाले । उनीहरूको सम्पर्कबाट स्कुल पढाउन भोलेन्टियर विदेशी आउन थाले ।

उनीहरूको सहयोग साथै स्वदेशी तथा विदेशी सहयोगबाट असाहय तथा गरीब परिवारका विद्यार्थी पढाउन थालेको उनले बताए । ‘अहिले खाना, खाजा, ड्रेस, कापीकलम सवै व्यवस्था उहाँहरूले गर्नुहुन्छ’ उनले भने । ‘म ३६ वर्षको भएँ । युवाले गाउँको सेवा गर्नुपर्छ भनेर लागेको छु,’ उनले भने । उनका अनुसार ८ जना शिक्षकको तलब पनि स्वदेशी तथाविदेशी सहयोगबाटै जुट्छ ।

प्रकाशित : असार ११, २०७६ ०९:५२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्