१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५२

आँपको मूल्य अकासियो

भरत जर्घामगर

सिरहा — आँपको मौसमसँगै बजारमा मूल्य अकासिएको छ । उत्पादनमा कमी आउँदा यसवर्ष भाउ महँगिएको हो । उत्पादन घटेसँगै कृषक मारमा छन् । एकातिर उत्पादन घटेको छ भने अर्कातिर बजारमा आँपको मूल्यमा वृद्धि भए पनि किसानले त्यस अनुसारको बजार भाउ पाएका छैनन् । 

आँपको मूल्य अकासियो

लामो खडेरी, फूल लाग्ने समयमा मधुवा किराको प्रकोप र दाना लागिसकेपछि हावाहुरीले क्षतिको कारण यसवर्ष आँप उत्पादन घटेको कृषि प्राविधिकको भनाइ छ । आँपको प्रमुख संकलन केन्द्र मानिएको लहान बजारमा बम्बई र मालदह जातको आँप प्रतिकिलो ७० देखि १ सय २० रुपैयाँमा बिक्री वितरण भइरहेको छ ।


कृषि ज्ञान केन्द्र सप्तरीका अनुसार सिरहामा यसवर्ष ५ हजार ७ सय ५५ हेक्टर जग्गामा कृषकहरूले आँप खेती गरेका थिए । गतवर्ष त्यही जग्गामा ४३ हजार ९ सय ४५ मेट्रिक टन आँप उत्पादन भएको थियो । कार्यालयका कृषि अर्थविज्ञ किसुनदेव राउतले यसवर्ष त्यही जग्गामा २० प्रतिशत ८ हजार ७ सय ८९ मेट्रिक टनमात्र विभिन्न प्रजातिका आँप उत्पादन भएको छ ।


८० प्रतिशत उत्पादन घट्यो । सिरहा, सप्तरीमा उत्पादित आँप लहान बजारमा संकलन गरी काठमाडौं, पोखरालगायतका बजारसम्म पुग्ने गरेको थियो । तर यसवर्ष आँप उत्पादनमा कमी आउँदा स्थानीय बजारमैं खपत हुने भएकाले राजधानीलगायतका बजारमा यहाँका आँप व्यापारीले पुर्‍याउने सम्भावना कम रहेको कार्यालयको भनाइ छ ।


उता, आँपका थोक बिक्रेताले कृषकबाट सयकडाका दरमा खरिद गरी किलोग्राममा बिक्री गर्दा कृषकले भने सोचेजति आम्दानी लिन पाएका छैनन् । लहान बजारमा आँप बेच्न आएकी सप्तरी श्रीपुरकी पार्वती चौधरीले व्यापारीले तौलेर नलिईकन गोटाको सयकडा एक हजारदेखि १३ सय रुपैयाँ दरमा किन्ने गरेकाले आफूहरूले आम्दानी लिन नपाएको सुनाइन् । उनले डेढ बिघा जग्गामा आँप खेती गरेकी छन् । त्यत्ति जग्गामा ७० आँप बोट भए पनि यसवर्ष २५ बोटमा मात्र आँप फलेको सुनाइन् ।


सीमित मात्रामा बजारमा आँप आएकाले व्यापारीले सयकडाको दरले आँपको बिक्री गर्न मानेका छैनन् । लहान बजारस्थित संकलन केन्द्रका थोक बिक्रेता मनोज गुप्ताले मालदह आँप प्रतिकिलो १ सय २० रुपैयाँसम्म बिक्रीे भएको बताए । गतवर्ष लहान बजारमा ४० देखि ५० रुपैयाँ प्रतिकिलो बिक्री गरेको र यसवर्ष बजारमा आँप कमी आएकाले मूल्यमा केही उतारचढाव आएको उनले जानकारी दिए ।


गतवर्षको तुलनामा यो बिक्री दर मूल्य दोब्बरभन्दा बढी हो । सिरहा र सप्तरीलाई आँप खेतीको भण्डार मानिन्छ । सप्तरीमा यसवर्ष ६ हजारभन्दा बढी हेक्टरमा आँप खेती गरिएको थियो । सिरहा र सप्तरीका कृषकहरूले आम्रपाली, मालदह, बम्बई, दशहरी, कलकतिया जातका आँपको खेती गर्दै आएका छन् ।

प्रकाशित : असार ९, २०७६ १०:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?