२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९२

प्रयोगविहीन भए चर्पी

सुनीता बराल

महोत्तरी — ४ वर्षअघि खुला दिसामुक्त क्षेत्र घोषणा गरिएको महोत्तरीको गौशाला–१० भरतपुरमा चर्पीको प्रयोग अझै गरिएको छैन । साविकको भरतपुर गाविस खुला दिसामुक्त क्षेत्र बनाउने अभियानका क्रममा सिट र रिङ गाविसले दिएपछि मुसहरी टोलमा बनेका ७० घरपरिवारको चर्पी अहिले प्रयोगविहीन छन् । 

प्रयोगविहीन भए चर्पी

चर्पी बनाउने अभियानका बेला बनाएको खरको छाना भएका अस्थायी टहरा हावाले उडाएपछि र पानीले कुहिएपछि चर्पी प्रयोगमा आउन छाडेको हो । घरमा पुरुषहरू नभएकाले चर्पी बनाउन नसकेको र हावाले छाना उडाएपछि २ वर्षदेखि चर्पी प्रयोग नगरेको लालवतीदेवी सदाले बताइन् ।


‘भारत गएका श्रीमान्को कमाइले खानसमेत नपुग्ने भएपछि चर्पी बनाउन सकिएको छैन,’ लालवतीले भनिन्, ‘बाहिर जता गए पनि खुला भएकाले चर्पी नहुँदा समस्या पनि छैन किन बनाउनुपर्‍यो ?’ चर्पी २ वर्षदेखि प्रयोगविहीन हुँदा मुसहरी टोलका बच्चादेखि वृद्धवृद्धाहरू खुला शौचका लागि उखुबारी, फूलबारी, आँप बगैंचा, सार्वजनिक स्थलमा जान्छन् ।


चर्पी बनाउन नसक्दा बाहिर जानुपर्ने भएपछि गर्मिको समयमा सर्पको डर हुने गरेको स्थानीय सगुनी सदाले बताइन् । कमाएकाले खानसमेत नपुगेपछि चर्पी बनाउन नसकेको भन्दै उनले चर्पीको दिगो घर बनाउन नगरपालिको सहयोग गर्छ भन्ने आशा गरेको बताइन् ।


रिङ र सिट भएको चर्पीलाई घेरबेर गरे पनि काम चलाउन छाडेर उक्त टोलका मानिस बाहिर शौच गर्न जाने भएपछि खुला दिसामुक्त क्षेत्र कार्यान्वयन नभएको स्थानीय सन्तोष यादवले बताए । मसहरी टोलको चर्पीलाइ स्थायी घर बनाउन वडाकै बजेटबाट भए पनि सहयोग गरिने गौशाला–१० का वडाध्यक्ष शेष जलिलले बताए ।


खुला दिसामुक्त क्षेत्र घोषणा गरिएको खुला ठाउँ फोहोर बन्दै गएपछि नगरको बजेटबाट भए पनि चर्पी बनाइदिन पर्ने अवस्था आएकाले आफू सहयोग गर्ने योजमामा रहेको जलिलले सुनाए ।

प्रकाशित : असार ८, २०७६ ०९:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?