२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९३

सीमा क्षेत्रमा अवैध सटही कारोबार

लक्ष्मी साह

बारा — प्रहरीले सुराकीका आधारमा सुवर्ण गाउँपालिका–७, सनफुलवास्थित दसगजा क्षेत्रबाट मंगलबार साँझ एक भारतीयलाई ५७ लाख ७९ हजार ४ सय ९० रुपैयाँसहित पक्राउ गर्‍यो ।

नेपालको महागढीमाई नगरपालिका–१ बरियारपुर गाउँमा ससुराली पर्ने भारतको मोतिहारी छौडादानो थाना दर्पा गाउँपालिका(११, पिपरा टोलका २४ वर्षीय वृजकिशोरकुमार कुसवाहा पक्राउ परेका हुन् ।


प्रहरीले उनले प्रयोग गर्ने बीआर ०५ एसी ४४८६ नम्बरको भारतीय बाइक पनि नियन्त्रणमा लिएको छ । जाँचका क्रममा बाइकको विभिन्न भागलगायत शरीरका विभिन्न भागमा लुकाएको रकम बरामद भएको प्रहरीले जनाएको छ । रकमको स्रोत नखुलाएपछि प्रहरीले उनलाई सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग ललितपुरमा पठाएको छ ।


यस्तै २०७४ चैत १२ (एक वर्षअघि) मा दसगजा क्षेत्रमा पर्ने विश्रामपुर गाउँपालिका–१ छतवामा ४० लाख नगद नेपाली रकम नेपाल ल्याउँदै गर्दा कुसवाहा जस्तै एक भारतीय नागरिक पक्राउ परेका थिए । मोतिहारी जिल्ला आदापुर श्यामपुर बजारका गुडुकुमार साह कानु नेपाली नम्बरको ना५४प १५४५ नम्बरको बाइकसहित पक्राउ परेका थिए ।


उनलाई पनि प्रहरीले सम्पत्ति शुद्धीकरण विभागमा अनुसन्धानका लागि पठाएको थियो । वृजकिशोर र गुडु प्रहरीको अभिलेखमा कायम भएका अवैध काराबारी हुन् । तर सीमा क्षेत्रमा यस्तो कारोबार गर्ने थुप्रै पाइन्छन । खुला सीमाको फाइदा उठाउँदै उनीहरूले यस्तो धन्दामा रमाएका हुन् ।


केही समययता सीमा क्षेत्रमा अवैद्य रकम सटही गर्ने कारोबारी बढेको सूचनाका आधारमा प्रहरी सक्रिय भएको छ । भारतीय रुपैयाँ अभावले यस्तो धन्दा फस्टाउँदै गएको हो । भारतीय रुपैयाँको आवश्यकता पूरा गर्न व्यक्तिले सटही कारोबार गरेका हुन् ।


भारतीय रुपैयाँ साट्नका लागि लाग्ने बट्टा (प्रति सय ३ रुपैयाँ) बाट कमाउने उद्देश्यले भारतीय र नेपाली नागरिकले सीमा क्षेत्रमा यस्तो धन्दा गर्न पल्केका हुन् । ‘व्यापार र जागिरभन्दा यसमा बढी कमाई हुने भएकाले यो कारोबार गर्छौ,’ एक सटही कारोबारीले भने, ‘कारोबार गर्न सजिलो छ ।’ नेपालका बैंकमा नेपाली रकम राखेर पारिको बैंकबाट भारतीय रकम झिकेर प्रति सयकडा ३ रुपैयाँको दरले बट्टा कमाएर कारोबार गर्ने गरिएको उनले बताए ।


नेपाली व्यापारीलगायतलाई भारतबाट कारोबार गर्न भारतीय रकम चाहिने भएकाले यो धन्दा फस्टाएको उनले सुनाए । सीमा पारिका भारतीयले नेपाली आफन्त, नेपाली श्रीमती, नातागोता, विश्वासिलो र साझेदारीमा काम गर्ने नेपालीको नाममा रहेको बैंक खातामा नेपाली रकम जम्मा गरी पारिको बैंकबाट भारतीय रकम झिकेर भारतीय रकम सटही गर्न यस्तो धन्दा अपनाइएको उनले बताए । अहिले स्थानीय तहमा बैंक भइसकेकाले त्यस्तो कारोबार गर्नेहरू झन् बढेका छन् ।


प्रहरी अधिकारी रञ्जितसिंह राठौरका अनुसार सीमा क्षेत्रमा हुण्डी र बट्टा कमाउन अवैद्य सटही गर्ने संगठित गिरोह बढा निगरानी बढाइएको छ । यसैबीच स्रोत नखुलेको रकमसहित पक्राउ पर्नेका पक्षबाट प्रहरी अधिकारीसँग ‘लबिइङ’ गर्ने बढेका छन । उनीहरूलाई बचाउन पक्राउ परेकै मितिमा रकमको स्रोत खुलाउन तमसुक गर्ने गरिएको स्रोतको भनाइ छ ।


‘हुण्डी र अवैद्य सटही कारोबार गर्ने फरक(फरक गिरोह छन् । हुण्डीमा सरकारलाई तिर्नुपर्ने विनिमय दर अनुसारको खरिद तथा बिक्री मूल्य तिर्नु पर्दैन,’ उनले भने, ‘बैंकबाट कारोबार नगरेर हातोहात कारोबार गर्छन्, जसबाट उनीहरूलाई एक त सरकारलाई कर तिर्नु परेन र अर्को बैंकमा स्रोत खुलाउनुपरेन । नोक्सानी नभएर सिधै कमाइ भयो ।’ यसैगरी सटही काम गर्नेले नेपाली रकमबाट भारतीय रकम साटेर बढी मुनाफा कमाउन बट्टाको काम गर्ने गरेको उनको भनाइ छ ।

प्रकाशित : असार ५, २०७६ १०:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?