मालपोतमा हाकाहाकी घूस

बारा — भूमि सुधार तथा मालपोत कार्यालय कलैयामा कर्मचारीले कामै पिच्छे घूस माग्ने गरेको सेवाग्राहीले गुनासो गरेका छन् । दृष्टिबन्धक पुकुवा गराउन मालपोतमा पुगेका उमेशलाल दास झन्डै ३ घण्टासम्म लाइनमा बसे ।

आफ्नो पालोमा उनले कागजपत्र बुझाए तर कर्मचारीले लिन मानेनन । उनीभन्दा पछाडि आएका बिचौलियाले दिएको फाइल तुरुन्तै सदर भयो ।


‘लामो समयसम्म मेरै आँखा अगाडि यो प्रक्रिया चलिरह्यो,’ बारा नागरिक समाजका अध्यक्ष उमेशलाल दासले भने, ‘कर्मचारीको घूस्याहा प्रवृत्तिका कारण धेरै सेवाग्राही समस्यामा छन ।’ कर्मचारीको बदमासीको कारण आजित भएर सर्वसाधारण सेवाग्राही मालपोतको काम आफैं नगराएर बिचौलियाको जिम्मा लगाउन बाध्य रहेको उनले जानकारी दिए ।


बिचौलियाले एकैछिनमा घूसको बलमा काम गराइदिन्छन् । सेवाग्राहीलाई काम गराउन कर्मचारीको ईशारा कुर्दा कुर्दै दिन बित्ने गर्छ नाम नछाप्ने सर्तमा अर्का सेवाग्रहीले गुनासो गरे । बेलाबेलामा अख्तियारले छापा मार्ने र घूससहित कर्मचारीलाई पक्राउ गर्ने घटनाक्रम बढेपछि कर्मचारीले बिचौलियाबाट कागजात सहितको फाइलमै घूस लिने नयाँ युक्ति लगाएका हुन ।


कर्मचारीले घूस नलिउन भन्ने उद्देश्यले निगरानी गर्न मालपोत कार्यालयको प्रायः सबै स्थानमा सिसी क्यामरा जडान गरिएको छ । तर कर्मचारीले सिसी क्यामराबाट बच्न फाइलमै पैसा लिने गरेको प्रत्यक्षदर्शीले बताए ।


कार्यालयको डिआर (दर्ता नं.) र पुर्जा प्रिन्ट गराउन फोटो खिचेर दर्ता नं. लिने स्थानमा दुईवटा काम गरेवापत २ सय रुपैयाँ, रसिद काट्ने ठाउँमा टोकन लिँदा सय रुपैयाँ, लिखत प्रमाणित गराउन सय रुपैयाँ र मठ फाँटमा पनि सय रुपैयाँ फाइलमै राखेर काम गराउन बिचौलियाले कर्मचारीलाई घूस दिन्छन । त्यति मात्र होइन ५ बजेपछि बिचौलियाको फाइलको काम गर्दा कर्मचारीले लेट फाइनको नाममा प्रतिफाइलबाट ५ सय रुपैयाँदेखि १ हजार रुपैयाँसम्म लिने गरेको स्रोतले जानकारी दियो ।


एउटा फाइलको काम पूरा गराउन बिचौलियाले यसरी ५ सय रुपैयाँ काम गरेवापत घूस रकम लिन्छन । यसरी एक दिनमा काम गराउँदा कर्मचारीले बिचौलियाबाट ५० हजारदेखि ७५ हजार रुपैयाँको हाराहारीमा घूस लिने गरेको नाम नछाप्ने सर्तमा एक बिचौलियाले जानकारी दिए ।

प्रकाशित : असार ३, २०७६ ०९:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?