विद्यालयमा स्वास्थ्य बिमा

ओमप्रकाश ठाकुर

सर्लाही — जिल्लाको उत्तरी क्षेत्रमा पर्ने लालबन्दी नगरपालिकास्थित एक सामुदायिक विद्यालयमा स्वास्थ्य बिमा लागु गरिएको छ । वडा कार्यालयको पहलमा लक्षित वर्गका लागि छुट्याइएको रकमबाट बालबालिकाको स्वास्थ्य बिमा गरिएको हो ।

नगरपालिकाको प्रेम ज्योति प्राथमिक विद्यालयमा अध्यनरत्त सम्पूर्ण विद्यार्थीको वडा कार्यालयको पहलमा स्वास्थ्य बिमा गरिएको हो । आई एम इ जेनरल इन्सोरेन्ससँगको समन्वयमा विद्यालयमा अध्यनरत १ सय २६ जना विद्यार्थीको पहिलो पटक एकैसाथ स्वास्थ्य बिमा गरिएको वडाध्यक्ष उज्वल कार्कीले जानकारी दिए ।

विद्यालयमा अध्यन गर्ने अधिकांश बालबालिकाका अभिभावक ज्याला मजदुरी गरेर गुजारा टार्ने निम्न वर्गीय परिवारका भएकाले वडा कार्यालयबाट लक्षित वर्गका लागि विनियोजित १ लाख रुपैयाँको बजेटबाट विद्यालय आफैंले अभिभावकत्व ग्रहण गर्ने गरी स्वास्थ्य बिमा गरिएको वडाध्यक्ष कार्कीले बताए ।

‘वडा भित्रका विद्यार्थीको स्वास्थ्यमा बर्सेनि अभिभावकले लाखौं रुपैयाँ खर्च गरिरहेका छन्, निम्न आयश्रोत भएकाले स्वास्थ्यमै बढी रकम खर्च भएपछि विद्यार्थी पनि विद्यालय नियमित आउन सकेका थिएनन्, कतिपयले पढाइनै छाड्नु पर्ने अवस्था आएको थियो,’ उनले भने, ‘स्वास्थ्य बिमा भएपछि अभिभावकको पनि लाखौ रुपैयाँ जोगिने र विद्यार्थी पनि नियमित हुने उद्देश्यका साथ विद्यालयमा स्वास्थ्य बिमा सुरु गरेका छौं ।’

स्वास्थ्यमा लाखौं खर्च जोगाउन वडाबासीलाई विमा गराउनु पर्छ भन्ने सन्देष दिनका लागि पनि बालबालिकाको स्वास्थ्य बिमा सुरु गरिएको वडाध्यक्ष कार्कीको भनाई छ । अघिल्लो वर्षको बिमाको प्रिमियम तिर्न सजिलो होस् भन्ने उद्देश्यका साथ खुत्रुके बचत योजना पनि विद्यालयले सुरु गरेको छ ।

विद्यालयले प्रत्येक विद्यार्थीलाई खुत्रुके दिएर रकम सानो सानो रकम जम्मा गर्न भनेको छ । नगरभित्रका ४८ सामुदायिक विद्यालय मध्ये पहिलो पटक शुक्रबार प्रेम ज्योती प्राथमिक विद्यालयमा विद्यार्थी स्वास्थ्य विमा उदघाटन गर्दै नगर प्रमुख मान बहादुर खडाले विमा कार्यक्रम क्रमैसँग नगर भित्रका सबै विद्यालयमा लागु गरिने बताए । बिमा कार्यक्रमलाई नियमित र प्रभावकारी बनाउन केही रकम अभिभावकबाट समेत लिने ब्यवस्था गरेर भएपनि कार्यक्रम लागु गरिने नगर प्रमुख खड्काले बताए ।

नौ सय ७१ रुपैयाँ प्रत्येक वर्ष प्रिमियम तिर्ने गरि विद्यालयमा अध्यनरत्त १ सय २६ विद्यार्थीको विमा गरिएको हो । विमित विद्यार्थीको दुर्घटनामा परी मृत्यु भएमा १ लाख रुपैयाँ बिमा कम्पनिले तिर्नेछ । यस्तै दुर्घटनामा परि पुर्णरुपमा अशक्त भएमा ३ लाख रुपैयाँ र आसिंक रूपमा अशक्त भए एक लाख रुपैयाँ बिमा कम्पनीले बेहोर्ने छ ।

बिमित विद्यार्थी दुर्घटनामा परी घाइते भएमा २५ हजार सम्मको औषधी उपचार सेवा तथा विद्यार्थी बिरामी भएर अस्पताल भर्ना भए ५० हजार सम्मको औषधि उपचार सुविधा पाउने छन् । विद्यार्थीको अभिभावकको दुर्घटनामा परी मृत्यु भएमा बिमा अवधिभर ५ लाख रुपैयाँ र घाइते भएर पूर्णरूपमा अशक्त भएमा ५ लाख र आसिंक अशक्त भए २ लाख ५० हजार रुपैयाँ बिमालेतिर्ने कम्पनीले जनाएको छ ।

प्रकाशित : असार २, २०७६ १०:४४
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

किसानका फर्म पर्यटकीय गन्तव्य

प्रकाश बराल

बागलुङ — पैयुँथन्थापका गंगाबहादुर थापाले सदरमुकाममा खोलेको कृषि फर्म अहिले गतिलो पर्यटकीय गन्तव्य बनेको छ । मठमन्दिर र सहर घुम्दामात्र रमाउने आन्तरिक पर्यटकको रोजाइमा थापाको कृषि फर्म पनि पर्न थालेको छ ।

बागलुङ नगरपालिका–३ को गौंडाकोटमा २० वर्षअघि जग्गा भाडामा लिएर थापाले कृषि कर्म सुरु गरेका थिए । उनको सिको गर्दै अहिले ८० भन्दा बढी किसानले व्यावसायिक तरकारी खेती गर्छन् । अधिकांशले जग्गा भाडामा लिएका छन् ।

केहीको आफ्नो जमिन छ । एउटै फाँटमा यतिका धेरै किसानले गरेको कर्म हेर्न आउनेकै कारण गौंडाकोट, पावरहाउस र मूलपानीतर्फ दर्जन बढी पसल र रेस्टुरेन्ट खुलेका छन् । थापाले प्लास्टिकका टनेलमा बेमौसमी तरकारी खेती गर्छन् भने मौसमी तरकारी, कुखुरा पालन, च्याउखेतीसमेत गरेर वर्षको १० लाख रुपैयाँ कमाउँछन् ।

आफ्नै पुर्ख्यौली जग्गामा माछा पालेका नारायण उपाध्यायको फर्म हेर्न पनि उत्तिकै आउँछन् । १० हजार बढी माछाका भुरा छाडेर बर्सेनि झन्डै १० लाखकै कारोबार गर्ने उपाध्यायले दैनिक आउने पर्यटकलाई जानकारी दिन समय छुट्याएका छन् । ‘पूर्वपश्चिमदेखि घुम्न र कृषि कर्म हेर्न आएकालाई समय दिएर केही बताउनैपर्छ,’ उपाध्यायले भने, ‘हाम्रो थोरै समयले उनीहरूमा प्रेरणा जाग्यो भने विदेश नगई नेपालमै उत्पादनको काम गर्लान् ।’

थापा र उपाध्यायजस्तै यहाँका एक सय बढी किसानले सहकारी खोलेका छन् । मिर्मिरे कृषि सहकारी संस्थामार्फत उनीहरूले बागलुङ बजारलाई चाहिने कुल तरकारीको ६० प्रतिशत बढी उत्पादन गर्छन् । कुखुरा, माछा र बंगुरबाट आत्मनिर्भर बनाइसकेको थापाले बताए ।

यहाँका व्यपारीले दैनिक सयौं केजी तरकारी किसानका घरघरै पुगेर उठाउँछन् । यहाँ सानाठूला गरी ४० माछा पोखरी छन् । भाडामा जग्गा लिएर बसेको यो गाउँलाई उनीहरूले ‘नयाँ कृषि सहकारी गाउँ’ नामकरणसमेत गरेका छन् । यो गाउँ घुम्न विद्यार्थी पनि आउँछन् । बलेवास्थित कृषि प्राविधिकको पढाइ हुने क्याम्पसले आफ्ना विद्यार्थीको ६ महिने प्रयोगात्मक अभ्याससमेत यहीं गर्न थालेको छ । विद्यार्थीले पनि धेरै खर्च नगरी गाउँघरमै प्रयोगात्मक अभ्यास गर्न पाएको बताए ।

समाजशास्त्र र पत्रकारिता पढ्ने विद्यार्थीले पनि यो गाउँ घुम्न थालेका छन् । उनीहरूको प्रतिवेदनमा किसानकै कथा बढी लेखिन्छ । ‘एकहुल साथी गएका थियौं, हरेक व्यक्तिको मेहनतको समाचार लेख्न सकियो,’ जैमिनी नगरपालिका– ७ का नवीन सुवेदीले भने, ‘खाली हात बसेको कोही पनि देखिएन ।’ उनीहरू पत्रकारिताको अभ्यासका लागि गाउँ पुगेका थिए । मेहनत गर्दा कृषि पेसाबाटै ठूलो कमाइ गर्न सकिने अनुभव पाएकोसुवेदीले बताए ।

धम्जाबाट झरेका मनबहादुर पुन, तंग्रामका जगबहादुर विक, रेशकी सरस्वती पुन, पैंयुँथन्थापकी लक्ष्मी थापा लगायतले दैनिक कृषि कर्म गरिरहेका छन् । घुम्न आएका विद्यार्थी र सहकारीकर्मीले कामकै अनुभव लिएर जाने गरेको विकले बताए । ‘कतिपयले कुटोकोदालो समातेर तरकारी गोडछन्,’ उनले भने, ‘कतिपयले प्राविधिक कुरा सोध्छन् ।’ धेरै किसानको व्यक्तित्व र अनुभवमा आधारित डकुमेन्ट्रीसमेत बनेका छन् ।

प्रकाशित : असार २, २०७६ १०:३७
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT