१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६०७

गुठी विधेयकविरुद्ध महन्तहरु आन्दोलित 

श्यामसुन्दर शशि

(जनकपुर) — प्रस्तावित गुठी विधेयक फिर्ता लिनु पर्ने मागसहित जनकपुरका सन्त महन्तहरुले आइतबार प्रदर्शन गरेका छन् । बाह्रबिघास्थित तुलसी स्मारकबाट निस्केको विरोध जुलुसले नगर परिक्रमा गरेको थियो । प्रदर्शनमा सहभागीहरुले प्रमुख जिल्ला अधिकारीमार्फत सरकारलाई ज्ञापनपत्र बुझाएका छन् ।

गुठी विधेयकविरुद्ध महन्तहरु आन्दोलित 

रामानन्दीय वैष्णव संघका कार्यवाहक अध्यक्ष रामभजन दास वैष्णवको नेतृत्वमा निस्केको जुलुसमा जानकी मन्दिरका छोटे महन्त रामरोशन दास, सुन्दर सदनका महन्त नवलकिशोर शरणलगायत यहाँका अधिकांश गुठी, राजगुठी तथा निजी गुठीका महन्तहरु सहभागी थिए । उनीहरुले प्रमुख जिल्ला अधिकारीमार्फत सरकारको नाममा बुझाएको ज्ञापनपत्रमा प्रस्तावित गुठी विधेयक फिर्ता लिन माग गरेका छन् ।


जनकपुरधाममा गुठी संस्थानको पूर्ण स्वामित्वमा रहेको राममन्दिर, रत्नसागर मठ जस्ता राजगुठी, गुठी संस्थानको आंशिक स्वामित्व रहेको जानकी मन्दिरजस्ता छुट गुठी, स्वतन्त्र रुपमा गुरु शिष्य परम्पराअनुसार सञ्चालित निजी मठमन्दिर (गुठी) छन् । सुन्दर सदनका महन्त नवलकिशोर शरणले प्रस्तावित गुठी विधेयकमा पूर्खा (पूर्व महन्तहरु)ले आर्जन गरेका वा पुस्तैनी श्रीसम्पति, पूजाअर्चना, धर्म व्यवहारमाथि हस्तक्षेप गर्न खोजिएको आरोप लगाए ।


शुक्रबार जानकी मन्दिरका महन्त रामतपेश्वर दास वैष्णवले गुठी विधेयक फिर्ता नलिए जनकपुरका सम्पूर्ण मठ मन्दिर बन्द गर्ने चेतावनी दिएका थिए । प्रस्तावित विधेयकमा धर्मअधिकारी राख्ने प्रावधानप्रति पनि महन्त दासले आक्रोश पोखेका थिए । मठ मन्दिरका महन्तहरुलाई मासिक २ हजार तलब दिने सरकार धर्मअधिकारीहरुलाई कसरी पाल्न सक्छ ?’ उनको कथन थियो । सरकारको गलत नीतिकै कारण मठ मन्दिरको जग्गा बिक्री तथा अतिक्रमणमा परेको आरोप स्थानीय महन्तहरुको छ ।

प्रकाशित : असार १, २०७६ १५:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?