३८ अर्बको बजेट आउँदै

कान्तिपुर संवाददाता

जनकपुर — प्रदेश नं २ सरकारले करिब ३८ अर्बको बजेट आइतबार सार्वजानिक गर्ने भएको छ । गत वर्षभन्दा दश अर्ब बढीको बजेट ल्याउन लागेको प्रदेश सरकारले १ अर्ब ३० करोड रुपैयाँ ऋण लिने लक्ष्य राखेको छ । 

आर्थिक मामिला तथा योजना मन्त्रालय अन्तर्गत बजेट महाशाखा स्रोतका अनुसार प्रदेश सरकारले आव ०७६/७७ को अनुमानित ३७ अर्ब ९७ करोड ७७ लाख रुपैयाँको बजेट सार्वजानिक गर्ने भएको छ । आव ०७५/७६ को बजेट शुक्रबारसम्म करिब २१ प्रतिशत मात्र खर्च भएको प्रदेश कोष तथा लेखा नियन्त्रण कार्यालयले जनाएको छ ।

गतवर्ष प्रदेश २ सरकारका आर्थिक मामिला तथा योजना मन्त्री विजयकुमार यादवले २९ अर्ब ७८ करोड ६९ लाख ३८ हजार रुपैयाँको बजेट सार्वजानिक गरेका थिए । सङ्घीय सरकारको असहयोग र कर्मचारीको अभावको कारण यसवर्ष बजेट कार्यान्वयन गर्न नसकेको स्वीकार गर्दै आर्थिक मामिला मन्त्री यादवले आगामी वर्ष बजेट कार्यान्वयनका लागि व्यवस्थापन गर्ने बताए ।

मन्त्री यादवले आगामी आर्थिक वर्षका लागि सङ्घीय सरकारले उपलब्ध गराएको वित्तीय समानीकरण अनुदान ७ अर्ब ८ करोड ५९ लाख, राजस्व बाँडफाँटतर्फ दस अर्ब ४३ करोड ९३ लाख र ससर्त अनुदान ११ अर्ब ५० करोड गरी २९ अर्ब एक करोड ५९ लाख र समपूरक अनुदान एक अर्ब ५० करोड रुपैंयाा बजेट विनियोजन गरेर सार्वजानिक गर्दैछन् ।

प्रदेश सरकारले आन्तरिक आयतर्फ विज्ञापन कर १२ लाख, मनोरञ्जन कर एक लाख, दण्ड जरिवाना १२ लाख, विशेष रकम एक अर्ब ५० करोड, वैदेशिक सहायता ५० करोड, प्राकृतिक रोयल्टीको बाँडफाँट दश करोड, सेवा दस्तुर ५० करोड, चालू आर्थिक वर्षको बचत हुने २ अर्ब ५५ करोड रुपैयाँ र १ अर्ब ३० करोड रुपैयाँ आन्तरिक ऋण लिने लक्ष्य राखेको छ ।

चालू आर्थिक वर्ष ०७५/७६ मा एक अर्ब रुपैयाँ आन्तरिक ऋण लिने लक्ष्य राखे पनि कतैबाट ऋण नलिएको आर्थिक मामिला मन्त्रालयको बजेट महाशाखा श्रोतले जनाएको छ । चालूआर्थिक वर्ष वित्तीय समानीकरण अनुदान ७ अर्ब एक करोड ६१ लाख, राजस्व बाँडफाँटतर्फ ८ अर्ब ५२ करोड ८७ लाख ३८ हजार र सशर्त अनुदान ९ अर्ब १८ करोड ११ लाख, समपूरक अनुदान ४४ करोड रुपैंयाँ थियो ।

आन्तरिक आयतर्फ विज्ञापन कर ५० लाख, मनोरञ्जन कर ५० लाख, दण्ड जरिवाना १० लाख, विशेष रकम ६८ करोड ७६ लाख ९८ हजार, सेवा शुल्क दस्तुर ५५ करोड रुपैंयाँ हुने अनुमान गरिएको थियो । तर आन्तरिक आय शून्य रहेको छ । चालू आर्थिक वर्ष एक अर्ब रुपैयाँ आन्तरिक ऋण लिने लक्ष्य थियो ।

प्रकाशित : असार १, २०७६ ०९:५४
प्रतिक्रिया
पठाउनुहोस्

न पुस्तक न शिक्षक

‘घरमा अभिभावक र विद्यालयका शिक्षकलाई गुनासो गरे पनि पढाइ भएको छैन’ 
सन्तोष सिंह

धनुषा — जनकपुर उप महानगरपालिका–२२ बसबिट्टीस्थित विद्यालयको कक्षा ९ मा अध्ययनरत मनीषा मण्डल नियमित विद्यालय आउँछिन । तर, पढन पाउँदिनन् । विद्यालय आएदेखि उनी तल्लो कक्षाका विद्यार्थीलाई पढाउँछिन् ।

दुई महिनादेखि पढाइबाट वञ्चित कक्षा ९ का विद्यार्थी । तस्बिर : सन्तोष/कान्तिपुर

‘पढ्ने किताब र कक्षामा पढाउने शिक्षक पनि छैनन्,’ उनले भनिन्, ‘बिहानै ६ बजे आएर १२ बजे सम्मको समय विद्यालयमै बित्छ । घरमा अभिभावक र विद्यालयका शिक्षकलाई गुनासो गरे पनि पढाइ भएको छैन ।’ विद्यालयका शिक्षकले पढाउन नमान्दा यहाँका विद्यार्थीले नै तल्लो कक्षा कोठामा गएर भाइबहिनीलाई पढाउने गरेका छन् ।

विद्यालयमा नयाँ शैक्षिकसत्रदेखि कक्षा ९ सञ्चालनमा भएको छ । शैक्षिक सत्र सुरु भएको २ महिना बितिसक्दा विद्यार्थी पढन पाएका छैनन् ।

विद्यालयका शिक्षक हाजरी गरी घर फर्किने र उपस्थित शिक्षक कार्यालयमा गफमै मग्न बन्दा विद्यार्थीलाई पढाउन मनीषालाई उनकै सहपाठीहरू काजल र निलमले पनि सघाउँछन् । मनीषा, काजल र नीलम तल्लो कक्षा पढाइरहँदा उनीसँग पढने कक्षाका अन्य विद्यार्थी खेलेरै घर फर्किने गरेको कक्षा ९ मा अध्ययनरत चञ्चलकुमार मुखियाले बताए ।

उप महानगरस्तरीय कक्षा ८ को बोर्ड परीक्षामा राम्रो अंक ल्याउन नसेकेका यहाँका विद्यार्थीलाई पुनः परीक्षा लिएर नतिजा प्रकाशन गरेको छैन । नतिजा प्रकाशन नभएका कारण विद्यालयको कक्षा ९ मा अध्ययनरत विद्यार्थी पाठयपुस्तक पाउन नसकेको प्रधानाध्यापक श्यामसुन्दर मण्डलले बताए ।

कक्षा ९ यसै वर्ष सुरु गरे पनि शिक्षक अभावमा सञ्चालन गर्न समस्या भएको बताए । विद्यालयमा कक्षा थप गर्ने जनशक्ति नहुँदा पनि स्थानीय तहका जनप्रतिनिधिले जबरजस्ती थप गर्न खोज्दा २ महिनादेखि पाठय पुस्तक र शिक्षक अभाव भएको प्रअ मण्डलले बताए ।

जनकपुरधाम उप महानगरपालिका– २२ का वडा अध्यक्ष शिवरत्न पाण्डेले विद्यालयको समस्या समधानका लागि प्रयास भइरहेको बताए । ‘शिक्षक र पाठ्य पुस्तक ल्याउन पहल गरेको छु,’ उनले भने । विद्यालयका विद्यार्थी २ महिनासम्म पढन नपाउनुमा आफ्नो पनि त्रुटि भएको वडा अध्यक्ष पाण्डेले स्वीकार गरे ।

उपमहानगरका शिक्षा संयोजक मेहिलाल यादवले पाठय पुकस्तकको रकम विद्यालयमा पठाएको बताए । विद्यालयमाथि मुद्दा रहेको अवस्थामा कक्षा थप गर्न उप महानगरले अनुमति दिंदा विद्यार्थीको भविश्य अन्योलमा परेको यादवले बताए ।

'बेटी’लाई झन समस्या
कक्षा ९ मा अध्ययनरत मनीषा प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले ल्याएको ‘बेटी पढाऊ, बेटी बचाऊ’ बारे सञ्चार माध्यममा सुने पनि आफूहरूलाई पढन कुनै सहुलियत नभएको बताउँछिन् ।

‘प्रदेश सरकारले बेटी (छोरी) पढाउन योजना ल्याएको सुनेको छु तर हामीलाई सरकारले पढाउने शिक्षक र किताब समेत दिन सकेको छैन,’ उनले भनिन्, ‘गाउँका केटाहरू पढन अर्को गाउँ र बोर्डिङ स्कुलमा जान्छन् । हामीलाई जान दिइएको छैन ।’ जनकपुर सहरभन्दा २ किलोमिटर पश्चिममा रहेको बसबिट्टीबाट आवतजावतको समस्या र सुरक्षाका कारण देखाएर छोरीलाई पढाउन सहर जान नदिएको उनले बताइन् ।

उनको गाउँमा निजी विद्यालयका बस जान्छन् । धनिका छोराछोरी बस चढेर सहरको सम्पन्न विद्यालयमा पढछन् । गरिब र दलितका छोराछोरी मात्र गाउँको विद्यालयमा पढने गरेका छन् । जनकपुरधाम उप महानगरपालिका– २२ का वडा अध्यक्ष शिवरत्न पाण्डेले छोरीलाई बाहिर पढन जान समस्या हुने भएर गाउँकै विद्यालय मावि स्तरको बनाउन लागेको बताए ।

‘छोरी बाहिर पढन जाँदा असुरक्षित हुन्छन्,’ उनले भने, ‘समय र समाज दुवैलाई मध्यनजर गरी गाउँमै छोरीले पढन पाउने गरी व्यवस्थापनमा जुटेको छु ।’

सरकारीमा मनपरी
उप महानगरको अधारभूत तहको प्रावि र निमावि सामुदायिक विद्यालयमा अध्ययन गर्ने विद्यार्थी दलित र गरिब छन् । विद्यार्थी संख्या न्यून भएको विद्यालयमा पहुँचवाला नेता र कर्मचारीको आफन्त शिक्षक छन् । तर, पढाइ नहुँदा सामुदायिक विद्यालयको अवस्था दयनीय बनेको छ । नगर भित्रका सामुदायिक विद्यालय शिक्षकको जागिर खाने केन्द्र बनेका छन् ।

उप महानगर भित्रका विद्यालयमा शिक्षक समयमा नआउने, हाजरी गरी घर फर्किने, विद्यालयमा बसे पनि कक्षा कोठामा नजाने, गफ चुटने प्रवृत्तिका कारण गरिब दलित पढने विद्यालयको अवस्था कमजोर बनेको छ ।

तत्कालीन जिल्ला शिक्षा कार्यालयले सहर क्षेत्रका विद्यालयमा दरबन्दीभन्दा बढी शिक्षक थुपारेका थिए । जुन समस्या अझ समाधान हुन सकेको छैन । उप महानगरमा रहेका शिक्षाका कर्मचारी निजी विद्यालयको अपग्रेड र अनुगमनको बहानमा आर्थिक लाभ लिन व्यस्त छन् ।

निजी विद्यालय अपग्रेडमा उप महानगरका कर्मचारीले ५० हजारदेखि २ लाखसम्म लिने गरेकोआरोप छ । निजीलाई कडाइ गर्ने शिक्षाका कर्मचारी सामुदायिक विद्यालयमा अनुगमन गर्न नै पुग्दैनन् ।

प्रकाशित : असार १, २०७६ ०९:५४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्