१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४७

३ महिनादेखि ठेकेदार सम्पर्कविहीन

सकारात्मक सोचकासाथ थालिएको काम भए पनि समयमै सम्पन्न नहुँदा जानकी मन्दिरमा आउने श्रद्धालुलाई सास्ती
श्यामसुन्दर शशि,

जनकपुर — जानकी मन्दिर परिसरमा बालुवा–ढुङगाको चाङ थुप्रारिएको छ । ढलका लागि खनिएको खाल्डा पुरिएको छैन । बालुवा–ढुङाको चाङले मन्दिरको सफाइ हुन सकेको छैन । 

३ महिनादेखि ठेकेदार सम्पर्कविहीन

मुख्यमन्त्री स्वच्छता अभियानअन्तर्गत सञ्चालित जानकी मन्दिर पुनर्निमाणमा ढिलाई हुँदा मन्दिरमा फोहरको डंगुर थुप्रिएको छ । मन्दिर परिसरमा जताततै राखिएका निर्माण सामग्रीका कारण श्रद्धालुलाई आउजाउ गर्न समस्या परेको छ । ठेकेदार तीन महिनादेखि काम रोकेर सम्पर्कविहीन छन् । जानकी मन्दिरमा थुप्रिएको निर्माण समाग्रीले दिनदिनै आउने हजारौं धर्मालम्बीले गलत सन्देश बोकेर फर्किरहेका छन् । लज्जाकै विषय बने पनि पुनर्निमाणमा प्रदेश सरकारले चासो देखाएको छैन ।


मंसिर तेस्रो साता प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत मन्दिर परिसरबाट ‘प्रदेश स्वच्छता अभियान’ सुरु गरेका थिए । अभियानअन्तर्गत जानकी मन्दिरमा मार्बल र टायल्स जडान, तीन मुख्यद्वार पुनर्निर्माण तथा ढल निकासका लागि ८ करोड रुपैयाँ विनियोजन गरिएको थियो । आयोजनाको शिलान्यास भई काम सुरु भए पनि कामको गति सुस्त छ । परिसरका पुराना संरचना भत्काइएकाले मन्दिर परिसर सांगुरो भएको छ । सांगुरो स्थानमा फूल, माला, प्रसादी पसल समेत थापिएकाले श्रद्धालुलाई आउजाउ गर्न कठिन छ ।


‘सुन्दरता बढाउनु सराहनीय काम हो । तर, यत्रतत्र निर्माण सामग्री थुपारिएकाले मन्दिरको सरसफाई प्रभावित भएको छ । श्रद्धालुलाई कठिनाइ भइरहेको छ,’ मन्दिरका उत्तराधिकारी महन्त रामरोशन दासले भने, ‘मन्दिरको सौन्दर्यलाई प्राथमिकतामा राख्नुपर्छ । यहाँ त ३ महिनादेखि ठेकेदारको नाकमुख देखिएको छैन ।


जानकी मन्दिरमा वर्ष भरि नै पूजाअर्चना तथा विशेष पर्व त्यौहारको आयोजन हुन्छ । जसमा हजारौंको सहभागिता हुन्छन् । श्रावणमा दुई सातासम्म चल्ने झुलनोत्सव पर्वको आयोजना हुन अब डेढ महिनामात्र बाँकी छ । असोजसँगै चाडपर्व सुरु हुन्छन् । ‘दैनिक हजारौं श्रद्धालुको आगमन हुने मठमन्दिरको काम छिटो सम्पन्न गर्नु पर्ने हो । ढिलाई हुँदा श्रद्धालुलाई कठिनाई हुन्छ,’ महन्त दास भने । यता, मुख्यमन्त्री स्वच्छता अभियानको सुपरिवेक्षण गर्दै आएका जलस्रोत सिंचाइ विभागका सिनियर डिभिजन इन्जिनियर भगवान् झाले निर्धारित समयमा काम पूरा हुने दाबी गरेका छन् । १ वर्षभित्र पूरा हुने भनिएको उक्त आयोजना अगामी ६ महिनाभित्र सम्पन्न हुने उनले बताए ।


झाका अनुसार मन्दिरको दक्षिण, पश्चिम र उत्तरी भागमा ढल जडान, च्याम्बर निर्माण तथा ढलानको काम सकेको छ । तिनतिरको काम सम्पन्न भएपछि मात्र अगाडिको काममा हात हाल्ने योजना रहेको उनले बताए ।


‘श्रद्धालुलाई मार्का नपरोस भनेरै हामीले चरणबद्ध काम थालेका हौं । अगामी ६ महिनाभित्र काम सम्पन्न हुन्छ,’ झाले भने । ढल निकास र ढलानको काम सम्पन्न भई सकेपछि वर्षाको मौसममा समेत मार्वल र ग्रेनेट जडान काम जारी रहने झाको कथन छ । पुरातत्त्व विभागले पछिल्लो पटक दिएको निर्देशनका कारण मार्वल र ग्रेनेट खरिद गर्न ढिला भएको उनले जानकारी दिए ।

मुख्यमन्त्री स्वच्छता अभियानअन्तर्गत मन्दिर परिसरमा रातो मार्वल र ग्रेनाइटको आकर्षक डिजाइन बनाउने योजना थियो । तर, पुरातत्त्व विभागले मन्दिर परिसरलाई मन्दिरभन्दा आकर्षक बनाउन नहुने बताएपछि पछिल्लो समय सेता मार्वल र ग्रेनाइट खरिद गर्नु परेको थियो ।


लाइटिङबाट तर्किए एनआरएन

जानकी मन्दिरमा लेजरलाइटसहितको आकर्षक लाइटिङ गर्ने सम्झौता गरेर गैरआवासीय नेपाली संघ सम्पर्कविहीन बनेको छ । गतवर्ष असार ९ गते गैर आवासीय नेपाली संघका अध्यक्ष भवन भट्ट र जानकी मन्दिरका महन्त रामरोशन दासबीच ५ करोडको लगानीमा मन्दिरमा विद्युतीकरण गर्ने लिखित सम्झौता भएको थियो ।


गैरआवासीय नेपाली संघका अध्यक्ष भट्ट र जानकी मन्दिर व्यवस्थापनका तर्फबाट महन्थ दासबीच भएको सम्झौतामा विवाह पञ्चमी (२०७५ साल मंसिर) सम्म मन्दिरमा लाइटिङ सिस्टम जडान गरिसक्ने उल्लेख थियो । तर लिखित सम्झौता गरे पनि संघका कुनै पदाधिकारीले योजना बारे खोजखवर नलिएको दासले बताए । ‘सुरुमा सम्बन्धित पदाधिकारीहरूसंग सम्पर्क पनि हुन्थ्यो । अहिले उहाँहरू सम्पर्कमा पनि छैनन्,’ दासले भने ।

प्रकाशित : जेष्ठ ३०, २०७६ ०९:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?