कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९१

फर्जी तालिम दिने पक्राउ

लक्ष्मी साह

बारा — जिल्लाका विभिन्न विद्यालयका राहत शिक्षिका र बाल विकास सहयोगी कार्यकर्तालाई ‘शैक्षिक तालिम दिन्छौं’ भन्दै अवैद्य रकम असुल्ने गरेको पाइएको छ । एक सयभन्दा बढी शिक्षिकाबाट प्रति शिक्षक २ हजार ५ सयदेखि ३ हजारसम्म गरेर ३ लाखभन्दा बढी रकम असुल गरिएको पाइएको हो ।

प्रारम्भिक बाल विकास केन्द्रका सहयोगी कार्यकर्ता र राहत दरबन्दीका शिक्षिकालाई तालिम दिने भन्दै अग्र्रिम रकम उठाउँदै हिँडेका एक जनालाई प्र्रहरीले पक्रेपछि यो रहस्य खुलेको हो ।


प्रहरीले ठगी गरेको आरोपमा सर्लाहीको हरिपुर नगरपालिका–२, का ३५ को विजय चौधरी भन्ने वीरेन्द्र कुवँरलाई कोल्हवी नगरपालिका–३, स्थित नेपाल राष्ट्रिय आधारभुत विद्यालयबाट रकम संकलन गर्दैगर्दा सोमबार पक्राउ गरेपछि अवैद्य रकम असुलेको पुष्टि भएको हो ।


पक्राउ परेका कुवँरको साथबाट रकम संकलनमा प्र्रयोग गरिएको १ ठेली रसिद, संस्थाको लेटर प्याड, केही थान सिडी चक्काहरू र उद्योग मन्त्रालयअन्तर्गतको कम्पनी रजिष्टारको कार्यालयमा दर्ता गरिएको एउटा गैरसरकारी संस्थाको प्र्रमाणपत्र बरामद भएको इलाका प्रहरी कार्यालय कोल्हवीका प्रहरी निरीक्षक पुष्कर बोगटीले बताए ।


प्रहरीले कुवँरमाथि ठगी मुद्दा दर्ता गरी थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेको छ । ‘पहिलेदेखि नै गुनासो आएको थियो,’ प्रहरी निरीक्षक बोगटीले भने, ‘विभिन्न विद्यालयबाट १ सय भन्दा बढीसँग रकम संकलन गरिसकेको रहेछन् ।’ निरीक्षक बोगटीले जिल्लाका दुर्गम क्षेत्रका विद्यालयमा कार्यरत शिक्षिकाबाट कुवँरले रकम संकलन गरेको उनले बताए ।


‘सेभ द स्कुल’ बहुउद्देश्यीय संस्थाको नाममा कुवँरले एक महिनायता जिल्लाको निजगढ, कोल्हवी, सिमरा र छिमेकी रौतहटका विभिन्न विद्यालयका प्रधानाध्यापक र शिक्षकलाईसमेत प्रभावमा पारेर तालिम दिने नाममा रकम उठाउदैँ आएका थिए । कुवँरले निजगढ नगरपालिकाको विभिन्न विद्यालयबाट २० जनासँग २५/२५ सयका दरले रकम उठाएको पाइएको छ । निजगढ–११ का नेपाल राष्ट्रिय माध्यमिक विद्यालय रतनपुरका शिक्षक कुलदिप ठाकुरका अनुसार कुवँरले जेठ २४ बाट तालिम संचालन गर्ने भन्दै एक महिना अघि पैसा लिइ तालिम दिएका छैनन् । ‘रकम लिएर गएपछि सम्पर्कविहिन भए, उनले भने, ‘अहिले एर्कैचोटी पक्राउ परेपछि ठगी गरेको थाहा भयो ।’


कुवँरले तालिम वापत हरेकसँग अग्र्रीम २ हजार ५ सय र प्रमाण पत्रको छुट्टै थप ५ सय गरी ३ हजारका दरले अवैद्य रकम अुलेको सुनाए । संस्थाले बालबालिकाको लागि उपयोगी शैक्षिक सामाग्र्री र पुस्तकसमेत सप्लाई गर्ने भन्दै कुवँरले विद्यालयमार्फत खरिदको लागि प्रस्ताव राख्ने गरेको पनि सुनाए । केही समयअघि चौधरीले कोल्हवी नगरपालिका कार्यालयमा पुगेर नगर भित्रका विद्यालयको लागि आफ्नो संस्था मार्फत शैक्षिक सामाग्र्री खरिद गरिदिन आग्र्रहसमेत गरेको कोल्हवी नगरपालिकाका प्रमुख भरतबहादुर भण्डारीले जानाकारी दिए ।

प्रकाशित : जेष्ठ ३०, २०७६ ०९:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?