कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९१

नेता नेपाललाई गाडीमा बसाउन दुई गुटबीच तानातान

सर्लाही — नेपाल कम्युनिष्ट पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाललाई जिल्लामा ल्याउन सिमरा विमानस्थल पुगेका स्थानीय दुई धारका नेताले आफ्ना गाडीमा चढाउन तानातान गरेका छन् । काठमाडौंबाट सर्लाहीको हरिपुरमा आयोजित ईद मिलन समारोहका लागि आएका नेता नेपाललाई स्वागत गर्न जिल्लाका दुई धारका नेता छुट्टाछुट्टै रुपमा सिमरा विमानस्थल पुगेका थिए ।

नेता नेपाललाई गाडीमा बसाउन दुई गुटबीच तानातान

नेता नेपाल विमानस्थलबाट बाहिरिने बित्तिकै जिल्ला अध्यक्ष रेवती पन्तले स्वागत गर्दै आफ्ना गाडीमा आउन आग्रह गरेपछि नेपाल निकट मानिएका सुरेन्द्र लामा र प्रदेश सांसद बेची लुंगेलीले अर्कोतिर तानेका नेकपाको एक कार्यकर्ताले बताए । दुई पक्षबीचको तानातानले नेता नेपाल अलमलमा परेका थिए । लगतै विमानस्थलको एक कोठामा गएर नेपालले दुवैलाई सम्झाइबुझाई गरेपछि समस्या समाधान भएको थियो ।


नेता नेपाल जिल्ला आउँदा एक पक्षको गाडीमा चढ्ने तथा फर्किंदा अर्को पक्षको गाडीमा चढ्ने सहमति भएको कार्यकर्ताको दाबी छ । माधव नेपालनिकट जिल्ला नेता लामाले हरिपुर नगरपालिकाले गरेको कार्यक्रममा बोलाएकोले मंगलबार दिनभरी लामासँगै बस्ने र उनैले व्यवस्थापन गरेको गाडीमा चढ्ने सहमति भएको छ । यस्तै बुधबार सदरमुकाम मलंगवामा पार्टी कार्यालय उद्घाटन कार्यक्रम रहेकाले बुधबारको व्यवस्थापन जिल्ला अध्यक्ष पन्तले गर्ने सहमति भएको एक नेताले जनकारी दिए ।


नगरपालिकाले गरेको कार्यक्रममा नेतालाई आफूले बोलाएकाले आफूसँग आउनु पर्ने नेपालनिकट नेताको जिकिर थियो भने नेकपाका अर्का वरिष्ठ नेता झलनाथ खनालनिकट मानिएका जिल्ला अध्यक्ष रेवती पन्तले जिल्लाको अध्यक्ष भएकोले आफ्नो गाडीमा जानुपर्ने माग अघि सारेका थिए । जिल्लाका दुई पक्षका नेताबीचको जुंगाको लडाइँ देखेर विमानस्थल पुगेका कार्यकर्ता निराश देखिन्थे ।


पार्टी एकिकरणपछि एकत्रित हुनु पर्ने ठाउँमा पहिलादेखि नै एउटै पार्टीमा अटाएका नेताबीच दूरी बढ्दो छ । पार्टीका जिल्ला तहकै नेता विभिन्न धारमा रुमल्लिँदा आमकार्यकर्ता भने निराश हुँदै गएको छ । पार्टी एकीकरण पछाडि एक ढिक्का हुनुपर्ने ठाउँमा पहिलादेखि नै एक ठाउँमा अटाएका पनि फरक फरक धारमा रुमल्लिएको आम कार्यकर्ताहरुको भनाइ छ ।



प्रकाशित : जेष्ठ २८, २०७६ १८:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?