कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

दुर्गन्धित बन्यो लहान बजार

भरत जर्घामगर

सिरहा — फोहोरले दुर्गन्ध बढाएको भन्दै लहान नगरपालिका ४ का वडाबासीले अवरोध गरेपछि २६ दिनदेखि बजार क्षेत्रको फोहोर उठ्न सकेको छैन । बजार क्षेत्रका चोक, सडक, गल्लीमा फोहोर थुप्रिदा संक्रामक रोगको प्रकोप फैलनसक्ने स्थानीयले गुनासो गरेका छन् । 

२०७१ सालमा लहान नगरपालिकाले सर्वदलीय सहमति जुटाएर ४ नम्बर वडास्थित खुट्टी खोला किनारको ३५ बिघा जग्गामध्ये १२ बिघामा फोहोरमैला व्यवस्थापन केन्द्र बनाउने निर्णय गरेको थियो । फोहरमैलालाई दीर्घकालीन व्यवस्थापन गर्न नगरपालिकाले संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयको जगेडा कोषबाट ५२ लाख ५५ हजार रुपैयाँ लागतमा फोहरमैला व्यवस्थापन केन्द्र निर्माण गरेको थियो । तारबार घेरासहित केन्द्रमा आँप लगायत फलफूलका बिरुवा रोपेर बगैंचा बनाइएको थियो ।


तत्कालीन समयमा फोहरमैला व्यवस्थापन केन्द्र निर्माणको विरोध गर्दै स्थानीय रामप्रसाद महतो र रामप्रकाश पासमानले पुनरावेदन अदालत राजविराजमा रिट दायर गरेका थिए । नगरपालिकासँग सहमति भएपछि महतो र पासमानले रिट फिर्ता लिएका थिए ।

नगरपालिकाले ५ वर्षदेखि नियमित रुपमा सोही स्थानमा फोहर फाल्दै आएको थियो । नगर क्षेत्रबाट दैनिक ३० मेट्रिक टन फोहोर संकलित हुन्छ । त्यसका लागि नगरपालिकाले बजार क्षेत्रमा ४० र अन्य वडामा २४ गरी ६४ कर्मचारीलाई खटाएको छ । फोहोर संकलन, विसर्जन र सरसफाईमा नगरपालिकाले वार्षिक १ करोड रुपैयाँ खर्चन्छ ।


वडाबासीले फोहरमैला व्यवस्थापन केन्द्रको मूलगेटमा तालाबन्दी गरेपछि कर्मचारीले गेटमैं फोहोर फालिदिएका थिए । गेटमै फालिएको फोहरले मानव बस्तीमा दुर्गन्ध फैलिएको भन्दै स्थानीयले झाडुसहित नगरपालिका कार्यालय घेराउ गरेका थिए ।

४ नम्बर वडाबासीको अवरोधकैं कारण गत जेठ १ गतेदेखि नगरक्षेत्रको फोहोर उठन सकेको छैन । वडाध्यक्ष रामनाथ पण्डितले दुर्गन्ध बढेपछि स्थानीय अवरोधमा उत्रिन बाध्य भएको बताए ।


नगरपालिकाले समस्या समाधानका लागि वैशाखको पहिलोसाता बजार क्षेत्रका वडाध्यक्षहरू सम्मिलित ७ सदस्यीय समिति गठन गरेको थियो । ‘फोहोर व्यवस्थापनका लागि हरेक प्रयास भए पनि कसैले विकल्प दिन सकेको छैन,’ लहान नगरपालिकाका प्रमुख मुनि साह सुडीले भने, ‘फोहोर व्यवस्थापनका लागि विकल्प पाए त्यसको अधिकतम उपयोग गर्न तयार छु ।’


फोहरमैला व्यवस्थापन केन्द्रमा प्रत्येक दुई महिनामा कर्मचारी खटाएर फोहोरलाई गोडमेलसहित व्यवस्थापन गर्ने काम भइरहे पनि दुर्गन्ध बढायो भनेर फोहोरको राजनीति गरिएको आरोप प्रमुख साहले लगाए । ‘नियोजित घटना भएको छ । नगरपालिकाले फोहोरबाट मोहर निकाल्ने सामग्री खरिद गरी प्लान्ट निर्माण गर्न ७० लाख रुपैयाँ विनियोजन गरेको छ,’ प्रमुख साहले भने, ‘केन्द्रको घेराबेरासहित विभिन्न प्रजातिका बिरुवा रोपेर हुर्काउने, फोहोर प्रशोधन गरी प्रांगारिक मल उत्पादन गर्नेसमेत योजना छ ।’


उनका अनुसार त्यसक्षेत्रमा उच्चस्तरको समसान घाटका लागि सेड निर्माण, प्रतीक्षालय निर्माण गर्ने योजना थियो । फोहरमैला व्यवस्थापनका लागि वाटर एडसँग सम्झौता भएर डिपिआर तयार भइरहेको अवस्थामा अवरोधका कारण काम स्थगित भएको उनले जानकारी दिए ।

प्रकाशित : जेष्ठ २८, २०७६ १०:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?