कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

तालिम लिँदै भीमाकली

शंकर आचार्य

पर्सा — उनी कहिले आमा चित्रसेनकलीसँग लुटुपुटु गर्छिन् । कहिले दूध चुस्न थाल्छिन् । कहिले आफ्नो र आमाको शरीर धुलाम्य पार्छिन् । कहिले आमालाई नखरा पनि देखाउँछिन् । पर्सा राष्ट्रिय निकुन्जको अमलेखगन्जस्थित हात्तिसारकी कान्छी सदस्य छावा भीमाकलीको बाल्यकाल अचेल यसरी नै बितिरहेको छ ।

तालिम लिँदै भीमाकली

चित्रसेनकलीले २०७४ माघ १० गते जन्म दिएकी भीमाकली अहिले १७ महिनाकी भइन् । हात्तीसारका कर्मचारी उनलाई परिवारकै कान्छो सदस्यका रूपमा स्याहार सुसार, माया र स्नेह दिएर हुर्काउँदैछन् ।


निकुन्जका सहायक संरक्षण अधिकृत अशोक राम भीमाकलीलाई उनको उमेरसँगै ससाना तालिम पनि दिन थालिएको बताउँछन् । ‘अहिले उनलाई बस्न, उठन, सवारी लिन सिकाउँदै छौ, यसै गतिमा सिक्दै गए उनलाई ट्रेन्ड हुन थप २ देखि ३ वर्ष लाग्छ,’ रामले भने, ‘हामी फकाएर तालिम दिंदै छौं, विगतजस्तो कुटेर, मानिस बसेर तालिम दिने चलन अब रहेन, बिल्कुलै फकाएर तालिम दिइन्छ ।’ हात्तीसारमा प्रत्येक हात्तीलाई फनैत, पछुवा र माउते गरी ३ कर्मचारीको दरबन्दी हुन्छ ।


भीमाकलीले पनि बयस्क भएपछि तीनवटा कर्मचारीको दरबन्दी पाउनेछिन् । हाल यो हात्तीसारमा १० वटा हात्तीको दरबन्दी छ । ती मध्ये ९ पोथी र १ मात्र भाले छन् ।


हात्तीसारमा भीमाकलीको जन्म निकुञ्जको मात्र नभई विश्वमै वन्जयन्तु संरक्षण क्षेत्रमा एउटा ठूलो उपलब्धि र सफलता पनि हो । यो हात्तीसारमा हालसम्म एउटै पनि हात्ती नजन्मेकाले पनि निकुन्ज तथा यसको हात्तीसारका कर्मचारीलाई चित्रसेन कलीको पहिलो सन्तानको विशेष प्रतीक्षा थियो । १२ वर्षीया चित्रसेनकलीले निकुन्जको हात्तीसारलाई पहिलो उपहारनै दिइन् । जंगली हात्तीसँगको संसर्गले उनको गर्भ रहन गएको थियो ।


अहिले हात्तीसारमा भीमाकलीलाई हेर्न पनि दैनिक थुप्रै आगन्तुक आउने गरेका छन् । भीमाकली आगन्तुकहरूसँग खेल्न रमाउन पछि पर्दिनन् । निकुन्जमा पर्यटकलाई जंगल सफारी गराउन तथा निकुन्जको गस्ती प्रयोजनमा समेत यी हात्ती प्रयोग हुँदै आएका छन् ।

प्रकाशित : जेष्ठ २८, २०७६ ०९:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?