अस्ट्रेलियाबाट फर्केर गाउँमै उद्योग

भरत जर्घामगर

सिरहा — कोही अध्ययन गर्न कोही रोजगारीका लागि धेरै युवा पुस्ता विदेसिएका छन् । अध्ययन पूरा गरेपछि अधिकांश युवायुवती विदेशमै करिअर बनाउन लागेका छन् ।

अस्ट्रेलियाबाट फर्केर गाउँमै उद्योग

तर, पाँच वर्ष अस्ट्रेलियामा अध्ययन गरी स्वदेश फर्किएका सिरहा धनगढीमाई नगरपालिका ९ मुसहरनियाका ३४ वर्षीय सोनाम स्याङबोले गाउँमै उद्योग सञ्चालन गरेका छन् । उनले अस्ट्रेलियामा अध्ययन गरी हासिल गरेको अनुभव, ज्ञान, सिप र कलाको सदुपयोग गर्दै गाउँघरमैं रोजगारी सिर्जना गर्न उद्यमी बनेका हुन् ।


काठमाडौंको कलेज अफ एप्लाइड फुड एन्ड डेरी टेक्नोलोजी (क्याफोडेट) कलेजबाट ९ वर्षअघि खाद्य प्रविधिमा चार वर्षे बिटेक अध्ययन गरेका स्याङबो उच्च शिक्षाका लागि सन् २०१३ मा अस्ट्र्लेिया गएका थिए । उनले त्यहाँ ५ वर्षे पाठ्यक्रममा पोषण र व्यापार व्यवसायलाई कसरी अगाडि बढाउन सकिन्छ भन्ने अध्ययन पूरा गरे ।


‘सातामा २ दिन कलेजको पढाई हुन्थ्यो,’ उनले सुनाए, ‘पढाईका क्रममा खर्च जुटाउन दिनमा १२ घण्टा जोतिनु पर्थ्यो ।’ अध्ययनपछि गतवर्ष नेपाल फर्किएका सोनाम भने कहिल्यैं वैदेशिक रोजगारीमा नफर्कने निधोमा पुगे । कारण थियो, ‘आफ्नै १० कट्ठा जमिनमा रोपेको ५० बोट आँपका फल नबिकेर त्यसै भुइँमा झरिरहँदा मन पोल्यो ।’


गतवर्ष सिरहामा प्रशस्त आँप फल्यो । धेरै फलेकाले आँपको मूल्य किसानले पाएनन् । ढुवानी भाडासमेत असुली नभएपछि किसानले आँप बिक्री गर्न सकेनन् । बोटबाट आँप झरिरहन्थ्यो । किसानमा त्यसको विकल्प थिएन । वैदेशिक शिक्षा पूरा गरेर आएका सोनाममा किसानको लगानी खेर गएको सह्य भएन ।


उनले सुनाए, ‘बोटबाट आँप होइन किसानको आँसु झरेको मैले पाएँ, त्यसपछि मलाई यही केही गर्नुपर्छ, किसानको आँसुलाई हाँसोमा परिवर्तन गर्नुपर्छ भन्ने सोच जागृत भयो ।’ त्यही सोचले उनले पहिला आफ्नै आँप बगैचामा झरेका फल संकलन गरे । वरपर नातागोता र छिमेकका बगैचाबाट खेर जाने आँप पनि संकलन गरे ।


खेर गइरहेको आँपलाई संकलन गरी बोक्रा र कोपा निकालेर उनले गुदी तयार गरे । खाद्य प्रविधि र अस्ट्रेलियाको पढाईलाई सदुपयोग गर्दै उनले बोक्रा र कोपा छोडाएको आँपबाट गुदी तयार गरे । बजारबाट पानी भर्ने जार र केएमएस केमिकल ल्याएर गुदीलाई ८० डिग्री तापक्रममा राखेर कहिल्यैं नबिग्रने गरी जुस तयार गरे ।


‘जुस बनाउने क्रममा जार र जनशक्तिमा ५ हजार लाग्यो,’ उनले भने, ‘खेर गएको संकलित आँपबाट ३ हजार लिटर जुस बनाएँ, जुन प्रतिलिटर ५० रुपैयाँको दरले बिक्री गरिरहेको छु ।’ यस वर्ष दोब्बरभन्दा बढी जुसको उत्पादन गर्ने तयारीमा उनी छन् । रोजगारीका क्रममा बिदामा अस्ट्रेलियाबाट घर आएका सोनाम अब नफर्किने गरी यही उद्यममा सक्रिय छन् । त्यसपछि उनले घरेलु कार्यालयमा स्याङबो फुडस एन्ड बेभरेज उद्योग दर्ता गराएका छन् ।


उद्योग दर्तासँगै उनले खेर जाने गोलभेडालाई सस बनाउन थालेका छन् । आँप, गोलभेडामात्र होइन उनले त्यही पढाईको ज्ञानलाई सदुपयोग गर्दै गाउँघरमा उत्पादन हुने कटहर लगायत विभिन्न फलफूलका अचारलगायत परिकार बनाएर महिला, पुरुष अझ युवालाई तालिम दिएर त्यसको उपयोगितासँगै स्वरोजगारमा जोडिने हौसला दिन लागिपरेका छन् ।


लगानी अभावमा उद्योगको रूप दिन नसकेका उनले सामान्य उद्योग सञ्चालनका लागि पास्चराइजर मेसिन, बोथिङ, सिल प्याक मेसिनलगायत स्थापना गर्न पनि कम्तीमा २५ लाख रुपैयाँ लगानी लाग्ने बताए । रकम अभावमा उद्योगको रूप दिन नसकिएको उनी

बताउँछन् ।


‘रकम अभावमा लगानी गर्न नसक्दा उद्योगको रुप दिन सकिएको छैन,’ उनले भने, ‘तर आफ्ना उत्पादन आँप जुस, गोलभेडा सस, अचार लगायतको गुणस्तर प्रमाण पत्रका लागि विभागमा नमुना पठाएको छु, ।’ बिस्तारै यसलाई उद्योगका रूपमा बिस्तार गर्दै लगेका स्याङबोले गाउँगाउँमा आफूले सिकेको सीपलाई स्थानीयमा तालिमा दिन सुरु गरेका छन् ।


उनले स्थानीय तहले सहयोग गरे यस क्षेत्रमा आफूले सिकेको सीपलाई प्रवर्द्धन गर्न अझ हौसला प्रदान हुने बताए । स्याङबो भन्छन्, ‘गाउँघरमा काम प्रशस्त छन्, यो काम मेरो लागि होइन भन्ने होइन, म पढेको मैले गर्ने होइन भन्ने होइन । बरु मान्छेले मिहिनेत गर्नुपर्छ, अवश्य फल पाइन्छ भन्ने ध्येय राख्ने हो । रोजगारी विदेशमा होइन गाउँघरमैं प्रशस्त छन् ।’

प्रकाशित : जेष्ठ २५, २०७६ १०:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?