कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४९

हुलाकी सडकमा दुर्घटना बढ्यो

लक्ष्मी साह

बारा — हुलाकी सडक विस्तार गरी फराकिलो पारिएपछि दुर्घटना बढेको छ । फराकिलो सडकमा चालकले तिव्र गतिमा सवारी चलाउँदा अनियन्त्रित भई दुर्घटना हुने गरेको हो । 

बाराको विभिन्न सडकमा टिपर, ट्रक, मोटरसाइकल लगायत अन्य चार पाङ्ग्रे सवारी चालकले सडक खाली देखेपछि अनावश्यक तिव्र गतिमा गुडाउँदा दुर्घटना बढेको ट्राफिक प्रहरीले जनाएको छ । सडकमा सवारी दुर्घटनामा ज्यान गुमाउने र अङ्गभङ्ग हुनेको संख्या बढैछ । दुर्घटना न्यूनीकरण नहुँदा स्थानीयबासी चिन्तित बनेका छन् ।


उनीहरूले दुर्घटना न्यूनीकरणका लागि सम्बन्धित निकायको ध्यानाकर्षण गराउन थालेका छन् । केही दिनअघि भरखरै कालोपत्रे गरिएको हुलाकी सडकको हरनहिया र पटेर्वा चोक नजिकै एक घण्टामा ३ ठाउँमा चारवटा मोटरसाइकल ठोकिँदा ६ जना घाइते भए । उनीहरूको वीरगन्ज र काठमाडौं अस्पतालमा उपचार भइरहेको छ ।


यसैगरी दुई साता अघि ट्रकमा ठोकिंदा मोटरसाइकलमा सवार आदर्श कोतवाल गाउँपालिका १ च्युँटाँहाका गाउँका २० वर्षीय कृष्णनन्दन साहको मृत्यु भएको च्युँटाहा प्रहरी चौकीका इन्चार्ज प्रहरी नायब निरीक्षक रामप्रसाद साहले बताए । उनका अनुसार बरियारपुरदेखि पटेर्वासम्मको नयाँ कालोपत्रे भएको पूर्व–पश्चिम हुलाकी सडकमा दैनिक दुर्घटना भइरहेको छ ।


केही महिनाअघि कलैया–पिलुवा सडक खण्डमा एक कारले बाइकलाई ठक्कर दिँदा जितपुर सिमरा उपमहानगरपालिका १८, का युवक संजीव ढकालको घटनास्थमै मृत्यु भएको थियो । ‘नयाँ सडकहरू कालोपत्रे भएपछि सडक खुला पाएर तीब्र गतिमा गाडी चलाउँ दुर्घटना भइरहेको छ,’ प्रहरी नायब उपरीक्षक रञ्जितसिंह राठौरले भने, ‘दुर्घटना न्यूनीकरणका लागि बेलाबेलामा ‘सरपराइज’ जाँच भइरहेको छ ।’


पछिल्लो केही वर्षयता जिल्लाका विभिन्न ठाउँमा सडक निर्माणको कामले गति लिएपछि त्यस सडकमा गुड्ने सवारीहरू दुर्घटना हुँदा मृत्यु र घाइते हुनेको संख्या बढ्न थालेपछि स्थानीयहरू त्रसित भएका छन् । यस्तो दुर्घटना रौतहटको कटहरिया जोड्ने कलैया–मलाही सडक, हुलाकी मार्गअन्तर्गत उत्तर महेन्द्र राजमार्ग र दक्षिणमा दसगजा जोड्ने मानमत–मटिअर्वा, तामागढी–सिम्रौनगढ र मधेसको लाइफ लाइन पूर्व–पश्चिम जोड्ने हुलाकी मार्गमा यस्तो समस्या देखिएको हो ।


हुलाकी मार्गअन्तर्गत वीरगन्जको प्रतिमा चोकदेखि बरियारपुरसम्म जोड्ने सडक र कालोपत्रे भइरहेको बरियारपुरदेखि रौतहटको सिमानासम्म जोड्ने हुलाकी मार्गमा त्यस्तो समस्या देखिएको हो । उक्त सडकमा मसिनो गिट्टी ओछ्याएर छाडिएकोले सवारी चिप्लेर दैनिक दुर्घटना भइरहेको छ ।


निर्माण कम्पनीले निर्माणको काममा प्रयोग गरिरहेको विभिन्न उपकरण, मालवाहक सवारी, निर्माणमा प्रयोग गरिने सामग्री, सामग्री राख्ने ड्रम, अन्य भाँडालगायतका सामान यत्रतत्र सडकमै जथाभावी छोड्नुले दुर्घटना जोखिम बढेको छ ।


सडक निर्माणमा संवेदनशील भएर काम नगर्दा र सावधानीका उपायहरू नपनाउँदा दुर्घटना भइरहेको छ । निर्माण कम्पनीको मनोमानी, अव्यवस्थित निर्माण प्रक्रिया र त्यसको अनुगमन गर्ने निकायको कमीले दुर्घटना जोखिम बढेको हो । यस्तो बेथितीले रातविरात सवारीमा आवागमन गर्नेहरूले झनै जोखिम मोल्नु परिरहेको छ ।


टिपरले १ को मृत्यु, १ घाइते

मंगलबार कलैयाबाट पिलुवा तर्फ जाँदै गरेको ना८ख ३१२९ नम्बरको टिपरले एक दम्पती सवार मोटरसाइकललाई ठक्कर दिंदा एक जनाको घटना स्थलमै मृत्यु भएको छ । अर्काको सिकिस्त अवस्थामा वीरगन्जको मेडिकल कलेजमा उपचार भइरहेको छ ।


व्यापारको सिलसिलामा नवलपरासी बस्दै आएका बाराको कलैया उपमहानगरपालिका २६ सिसवा महेशपुरकी ३५ वर्षीया खुश्बु नेसाको घटनास्थलमै मृत्यु भएको हो ।


उनका ४० वर्षीय पति जाकिर हुसेनको अवस्था चिन्ताजनक छ । मानमत(मटिअर्वा सडक खण्डको कलैयाबाट पिलुवा तर्फ जाँदै गरेको उक्त टिपरले कलैया उपमहानगरपालिका २४, श्रीपुर गाउँ नजिकै नवलपरासीबाट कलैया तर्फ आउँदै गरेको दम्पत्ति सवार ना१६प ९७५७ नम्बरको बाइकलाई ठक्कर दिएको थियो ।


टिपर र तिनका चालक कलैया– १६ निवासी सुरेन्द्र पटेल प्रहरी नियन्त्रणमा छन् । दुर्घटनापछि आक्रोसित स्थानीयले शवलाई सडकमा राखेर केहीबेर प्रदर्शन गर्दै यातायात अवरुद्ध गरेको थियो । दुर्घटना कम गर्न प्रहरी र ट्राफिकले तीब्र गतिमा चलाउने सवारीलाई नियन्त्रण नगरेको भन्दै उनहरूले प्रदर्शन गरेका थिए ।

प्रकाशित : जेष्ठ २३, २०७६ ०९:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?