१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

राजस्व अशुली वृद्धि

पर्सा — सङ्घीय सरकारले बजेट सार्वजनिक गर्नुअघि आयातकर्ताले व्यापारिक सामग्री आयातमा वृद्धि गरेपछि वीरगन्जस्थित दुवै भन्सार कार्यालयबाट राजस्व अशुली चार गुना वृद्धि भएको छ । वीरगन्ज भन्सार र सिर्सिया सुक्खा बन्दरगाह भन्सार कार्यालयले आइतबार र सोमबार दुई दिनमै एक अर्ब ७८ करोड रुपैयाँ राजस्व संकलन गरेका छन् ।

लामो समयदेखि लक्ष्य अनुरुप राजस्व संकलनमा कमी आएका बेला यी भन्सार कार्यालयले राजस्व अशुली वृद्धि भएपछि उत्साहित भएको जनाएका छन् । वीरगन्ज भन्सार कार्यालयले सोमबार ७३ र आइतबार ७० करोड रुपैयाँ राजस्व संकलन गरेको थियो ।


सामान्य दिनमा यो भन्सारले औसत १२ देखि २५ करोड रुपैयाँसम्म राजस्व संकलन गर्दै आएको थियो । कार्यालयका सूचना अधिकृत मनीष महतोले २ दिनमा सवारी साधन, मदिरा, चुरोट, खैनी आदिको आयात बढी भएको बताए । सामान्यतया बजेटमा सरकारले यी वस्तुको अन्तशुल्क वृद्धि गर्ने प्रवृत्ति रहेकाले बजेट भाषणअघि आयातकर्ताले हतारमा यी वस्तु भन्सार जाँचपास गराउने चलनेछ ।


मंगलबार पनि ७० देखि ८० करोड रुपैयाँ हाराहारीमा राजस्व संकलन भएको अनुमान गरिएको महतोले बताए । तर, गत आर्थिक वर्षको बजेट भाषणअघि भन्दा यस वर्ष थोरै वस्तु भित्रिएको उनले बताए । तर गत वर्ष यस वर्षको भन्दा बढी चहलपहल देखिएको थियो ।


सिरसिया सुक्खा बन्दरगाह भन्सार कार्यालयले आइतबार २१ करोड र सोमबार १४ करोड रुपैयाँ राजस्व संकलन गरेको थियो । सामान्य अवस्थामा यो भन्सारले दैनिक ७ देखि ८ करोड रुपैयाँ राजस्व संकलन गर्दै आएको छ । कार्यालयका सूचना अधिकृत विकास साहले २ दिनमा सर्वाधिक बढी मदिरा भित्रिएको बताए ।


दुई दिनमा आधा दर्जन मदिरा आयातको कन्साइन्मेन्ट रहेको उनले बताए । ‘एउटा कन्साइन्मेन्टमा कम्तीमा एक कन्टेनर मदिरा हुन्छ, एक कन्टेनर मदिराले १ देखि २ करोड रुपैयाँ राजस्व दिन्छ,’ उनले भने, ‘यसबाहेक फलाममा पनि कन्साइन्मेन्ट थिए, आयातकर्ताले सवारी साधन छुटाउने तयारी गरेकाले बढी राजस्व संकलन हुने सम्भावना छ ।’


सुक्खा बन्दरगाह नाका मुलुककै सर्वाधिक बढी मदिरा आयात हुने नाका हो । यो नाका हुँदै तेस्रो मुलुकबाट सबै खाले मदिरा आयात हुने गरेको छ । यो भन्सारको राजस्वमा सर्वाधिक बढी योगदान गर्ने वस्तुको सूचीमा फलाम पछि मदिरानै पर्ने गर्छ ।

प्रकाशित : जेष्ठ २३, २०७६ ०९:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?