पम्पमाथि नियमन गर्दै स्थानीय प्रशासन

लक्ष्मी साह

बारा — बारामा सञ्चालित अधिकांश पेट्रोलपम्प मापदण्डविपरीत सञ्चालनमा रहेको पाइएको छ । उपभोक्तालाई कम परिमाणमा इन्धन दिएर ठगी गर्नेदेखि दशगजानजिक अनियमित तरिकाले पेट्रोलपम्प सञ्चालन गरेको पाइएको हो । कतिपय सर्वजानिक जग्गा र सडक अतिक्रमण गरी पम्प सञ्चालन गर्दर् ैआएको भेटिएको छ ।

पेट्रोलपम्पमा अनियमितता भएको जनगुनासो बढेपछि स्थानीय प्रशासनले त्यस्ता पम्पमाथि नियमन गर्न थालेको छ । नियमनको क्रममा स्थानीय प्रशासनले दुई सातायता ९ वटा पम्प बन्द गरेको छ । प्रशासनले नेपाल आयल निगमलाई पत्र लेख्दै ती सबै पेट्रोलपम्पको इन्धन आपूर्ति रोक्का गरेको छ ।


राजमार्ग छेउको ६ र दशगजा छेउको २ वटा गरी ८ वटालाई दुई साताअघि र कलैया उपमहानगरपालिका–२ का जगदम्बा आयल स्टोरलाई सोमबारबाट बन्द गरेको हो । प्रशासन कार्यालयका प्रवक्ता प्रशासकीय अधिकृत मुरारी कार्कीका अनुसार साविक रामपुर टोकनी–२ मा आफ्नो निजी जग्गामा पेट्रोलपम्प सञ्चालन गर्न भन्दै लिइएको अनुमति अर्कै ठाउँमा सञ्चालन गरेको पाइएको छ ।


चित्रगुप्त पेट्रोलपम्प ऐलानी जग्गामा सञ्चालन गरिएको पाइएकाले बन्द गरिएको उनले बताए । यसैगरी, विस्तार हुँदै गरेको वीरगन्ज–पथलैया ६ लेनको सडक मिचेर जबर्जस्ती सञ्चालन गर्दै आएको ५ वटा पेट्रोलपम्प बन्द गरिएको उनले जनाए ।


सडकमा पर्ने अटोपियर पेट्रोलपम्प, अपना आयल स्टोर, कटारुगा पेट्रोलपम्प, राहुल पेट्रोलपम्प र तराई आयल स्टोर बन्द गरिएको उनले बताए । उनका अनुसार दशगजाभन्दा क्रमशः ९ सय र ५ सय मिटरभित्र सञ्चालन हुँदै आएको सुवर्ण गाउँपालिका–३ को आयुष आयल स्टोर र पचरौता नगरपालिका–४ बेल्दारीको अमन एन्ड सुमन आयल स्टोर बन्द गरिएको छ ।


अहिले भने दशगजाभन्दा २ किमिभित्र पेट्रोलपम्प सञ्चालन गर्नुपर्ने कानुनी व्यवस्था छ । ‘नेपाली उपभोक्तालाई इन्धन नदिई भारततिर निकासी गर्ने गरेको गुनासो आएपछि नियमन गर्न खाजेका छौं,’ कार्कीले भने ।


कलैया उपमहानगरपालिका–२, मानमत–मटिअर्वा सडकखण्डमा पर्ने जग्दम्बा आयल ट्रडर्सले उपभोक्तालाई कम इन्धन दिंदै आएकोले कारबाहीका लागि बन्द गरिएको उनले बताए । कार्कीले प्रत्येक १० लिटर इन्धनमा ३ सय एमएल इन्धन कम दिंदै आएको पनि पाइएको उनले जनाए ।


‘९ वटै पेट्रोलपम्पमाथि नियमन गरेका छौं,’ उनले भने, ‘गुणस्तर तथा नापतौल र आयल निगमसित समन्वय गरी कारबाही प्रक्रिया अघि बढेको छ ।’ यसैबीच, चित्रगुप्त पेट्रोलपम्पको सञ्चालकले स्थानीय प्रशासनविरुद्ध जनकपुरधाम उच्च अदालतको अस्थायी इजलास वीरगन्जमा ‘स्टे अर्डर’ को लागि निवेदन दिएको छ ।


यसको पहिलो सुनुवाइ बुधबार हुँदै छ । केही महिनाअघि गुणस्तर तथा नापतौल क्षेत्रीय कार्यालय वीरगन्जले अनुगमन गर्दा आधा दर्जनभन्दा बढी पेट्रोलपम्पमाथि मुद्दा चलाएको थियो । थप मेसिन प्रयोग गरेर उपभोक्तालाई कम परिमाणमा इन्धन दिने गरिएको गुनासो बढेपछि क्षेत्रीय कार्यालयले मुद्दा चलाएको थियो ।


कलैया उपमहानगरपालिका–१ स्थित अमित आयल स्टोर्स, कलैया–१४ स्थित महम्मद आयल स्टोरलगायतमा नापतौलले सिल गरेको थियो । अधिकांश पेट्रोलपम्पमा सुविधा छैन । खानेपानी र चर्पी सुविधा नभएको पाइएको छ । राजमार्गका पेट्रोलपम्पहरू २४ सैं घण्टा सेवा दिनुपर्नेमा असुरक्षाको कारण देखाउँदै राति ८ नबज्दै बन्द गर्ने गरेका छन् ।


‘सुरक्षा हुँदाहुँदै असुरक्षाको बहाना गरी उपभोक्तालाई इन्धन नदिएको गुनासो आएमा त्यस्ता पेट्रोलपम्पमाथि छानबिन गरी नसिहत दिने दिन सकिन्छ,’ नेपाल आयल निगम क्षेत्रीय डिप्पो अमलेखगन्जका प्रमुख प्रदीप यादवले भने ।

प्रकाशित : जेष्ठ २२, २०७६ ११:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?