कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५३

जडीबुटी खेती गर्न जथाभावी वन फँडानी

पवन यादव

सिमरा — बाराको जितपुर सिमरा उपमहानगरपालिका १७ लामीडाँडा वन क्षेत्रको जग्गा ट्रेक्टरले सोमबार सम्याइँदै थियो । बिहानैदेखि वनको जग्गामा जडीबुटी खेती गर्न ‘नेचुरल रिसोर्स इन्डस्ट्रिज’ का कर्मचारीले खेतलाई मलजल गर्न कम्पनीकै ट्रेक्टर र स्थानीय मजदुरलाई खटाएका थिए ।

जडीबुटी खेती गर्न जथाभावी वन फँडानी

नेचुरल रिसोर्सकै कर्मचारी विजयकुमार यादव काम गराउन ट्रेक्टर र मजदुर खटिएको स्थलमा बसेका थिए ।


वन क्षेत्र अतिक्रमण बढ्दै गएको भन्दै अतिक्रमित क्षेत्रको स्थलगत अनुगमन गर्न हल्खोरिया साझेदारी वन व्यवस्थापन समितिका अध्यक्षसहितको टोली, हल्खोरिया सब डिभिजन वन कार्यालय डुमरवानाका प्रमुख रेन्जरसहितका सशस्त्र वनरक्षक, नेपाल प्रहरी, सञ्चारकर्मीसहित लामीडाँडा जंगलमा पुगेको थियो ।


टोलीलाई देख्नेबित्तिकै ट्रेक्टरचालक फरार भएका थिए । नेचुरल रिसोर्सले हल्खेरिया साझेदारी वन व्यवस्थापन समितिसँग ०६५ मा १० वर्षका लागि जडीबुटी खेती गर्न र वनको जग्गा उपभोग गरेबापत प्रत्येक वर्ष १० हजार वृक्षारोपण गर्ने सम्झौता गरेको थियो । सम्झौताको म्याद सकिए पनि रिसोर्सले साझेदारीसँग सहमति नै नगरी जथाभावी वन फँडानी गर्दै थप वन क्षेत्रमा खेती विस्तार गरेको छ । रिसोर्सले वनको झाडी फाँडेर नयाँ स्थानमा खेती गर्न थालेपछि हल्खोरिया साझेदारी वन व्यवस्थापन मूल समितिका सदस्यहरूले आपत्ति जनाउँदै त्यसलाई रोक्न माग गरेका छन् ।


वन फँडानीबारे खबर पाएपछि ८ दिनअघि समिति सदस्य कलैया उपमहानगरपालिका १५ बकुलहरका युनुस अन्सारी त्यहाँ पुगेका थिए । त्यसबेला किन यसरी वन फाँडेको भनी कर्मचारीलाई सोध्दा सम्झौताअनुसार गरेको जवाफ कर्मचारीले दिएको उनले बताए ।


‘ढालेर बेपत्ता बनाइएको रूखको जरोमा आगो लगाएर प्रमाण नष्ट गर्दै गरेको देखें,’ उनले भने, ‘रूखको जरो जलाएर खरानी खेतमै मिलाइरहेका थिए ।’ वनको यस्तो दुर्दशा देखेर मूल समितिका पदाधिकारीलाई खबर गरे । वन खनजोत गरी जडीबुटी खेती गर्न खटिएका रिसोर्सका कर्मचारी विजयकुमार यादवले विगतमा भएको सम्झौताअनुसार वृक्षारोपण गरिएको क्षेत्र छाडेर अर्को स्थानमा जडीबुटी खेती गर्न वनको जग्गा सम्याइएको दाबी गरे ।


‘आफ्नो कम्पनीको माथिल्लो अधिकारीको आदेशमा नयाँ स्थानमा खेती विस्तार गरिएको र थप क्षेत्रको झाडी फँडानी गरिरहेका हौं,’ उनले भने, ‘सम्झौता अवधि सकिएको/नसकिएकोबारे आफूहरूलाई कुनै जानकारी छैन ।’ यसअघि काम रोक्न कोही नआएको उनले दाबी गरे ।


०६२ अघि यो वन क्षेत्र अतिक्रमण गरी बस्ती बसेको थियो । मूल समितिकै प्रयासमा ०६२ मा बस्ती खाली गराइयो । फेरि वन अतिक्रमण हुने सम्भावना बढेपछि तत्कालीन अध्यक्ष राधेश्याम शिवाकोटीले जडीबुटी खेती गर्न नेचुरल रिसोर्सलाई सहमति दिएको हल्खोरिया साझेदारी वन व्यवस्थापन समितिका अध्यक्ष रवीन्द्र सिंहले बताए ।


प्रत्येक वर्ष खेती गरिएको स्थलमा १० हजार बिरुवा कम्पनीले रोप्ने र हुर्काउने सहमतिमा रिसोर्सलाई वनको जग्गा लिजमा दिइएको उनले जनाए । ‘मेरो कार्यकालमा जडीबुडी खेती गर्न रिसोर्सलाई अनुमति दिइएको छैन,’ उनले भने, ‘पहिलाकै पदाधीकारीले रिसोर्सलाई वनको जग्गा लिजमा उपलब्ध गराएका थिए ।’


हल्खोरिया सब डिभिजन वन कार्यालय डुमरवानाका प्रमुख रेन्जर राजेशकुमार साहले ३५ हेक्टरमा जडीबुटी खेती गर्ने सहमति गरेको रिसोर्सले म्याद सकिए पनि जबर्जस्ती खेती जारी राखेको र थप वन क्षेत्रमा खेती गर्न वन फँडानी गरेको आरोप लगाए । ‘सम्झौता अवधिसम्म हामीले केही गर्न पाएनौं,’ उनले भने, ‘सम्झौता अवधि सकिए पनि जडीबुटी खेती नरोकिएपछि त्यसलाई रोक्न अहिले हामी खटेका छौं ।’ अहिले वन अतिक्रमण बढेकाले सबै सरोकारवालाको ध्यानाकर्षण गराउन र वन अतिक्रमण रोक्न आफूहरूलाई सहयोग गर्न उनले आग्रह गरे ।


वन अतिक्रमण रोक्न जाँदा स्थानीयबाट आफूहरू धम्की खेप्नुका साथै पटक–पटक घेरामा पर्ने गरेका दुखेसोसमेत उनले पोखे । जडीबुटी खेती स्थलमा नेपाल प्रहरी र सशस्त्र वनरक्षकसहित पुगेका डिभिजन वन कार्यालय सिमरा बाराका प्रमुख मञ्जुर आलमले जडीबुटी खेती गरिएको क्षेत्र खाली गराएर वन क्षेत्रलाई आफ्नो नियन्त्रणमा लिन वन कर्मचारीलाई निर्देशन दिए ।


‘वन ऐन मिचेर जथाभावी गर्नेलाई कानुनी कारबाही गछौं ।’ उनले भने, ‘वन ऐन नियम विपरीत वन क्षेत्रमा कसैले केही गर्न पाइँदैन ।’ वन क्षेत्र भएको अतिक्रमणलगायतको बारेमा आफू अहिले बुझ्ने क्रममा रहेको उनले बताए । २ साताअघि वन प्रमुखको जिम्मेवारी सम्हालेका आलम हालै बारामा सरुवा भई आएका छन् ।


प्रकाशित : जेष्ठ २२, २०७६ ११:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?