१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४७

राजपाको संशोधन प्रस्तावपछि सहमति

अजित तिवारी

जनकपुर — प्रदेश २ को सरकारले नीति तथा कार्यक्रममा आफूलाई बाइपास गरेको भन्दै सत्ता घटक राष्ट्रिय जनता पार्टी (राजपा) का मन्त्रीहरूले मन्त्रिपरिषद् बैठकमा संशोधन प्रस्ताव पेस गरेका छन् । जनकपुरस्थित मुख्यमन्त्री कार्यालयमा शनिबार अपराह्न बसेको मन्त्रिपरिषद् बैठकमा राजपाका मन्त्रीहरूले नीति तथा कार्यत्रमको संशोधन प्रस्ताव पेस गरेका हुन् । 

मन्त्रिपरिषद् बैठकअघि बसेको राजपाको संसदीय दल बैठकले नीति तथा कार्यक्रमबारे उपलब्ध सांसदहरूको राय/सुझाव संकलन गरेको थियो । बैठकमा सहभागी उद्योग, वन, पर्यटन तथा वातावरण राज्यमन्त्री सुरेश मण्डलले सरकारको नीति तथा कार्यत्रमबारे सांसदहरूसित छलफल भएको बताए । ‘सांसदहरूको सुझाव राजपाका मन्त्रीहरूले मन्त्रिपरिषद् बैठकमा बुझाएका छन्,’ उनले कान्तिपुरसँग भने ।


प्रदेश २ को सरकारले आइतबार दिउँसो १ बजे नीति तथा कार्यक्रम प्रदेशसभामा पेस गर्दै छ । प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थले सरकारको नीति तथा कार्यक्रम पढेर सुनाउने छन् । आर्थिक वर्ष २०७६/७७ को नीति तथा कार्यक्रम तयार पार्दा परामर्श नगरेको भन्दै राजपाको अध्यक्ष मण्डलले पक्र लेखेर असन्तुष्टि व्यत्त गरेको थियो ।


राजपाका संसदीय दल नेता जितेन्द्र सोनललाई शुक्रबार राजपाको अध्यक्ष मण्डलले पत्र लेख्दै पार्टीको स्पिरिटअनुसार नीति तथा कार्यक्रम नआए छलफलमा सहभागी नहुन निर्देशन दिएको थियो । शनिबार अपराह्नको मन्त्रिपरिषद् बैठकपछि भने राजपा प्रदेशसभा बैठकमा सहभागी हुन तयार भएको छ ।


राजपाको भागमा प्रदेश २ को तीनवटा मन्त्रालय छन् । संसदीय दलका नेता सोनलले भौतिक पूर्वाधार तथा विकास, रामनरेश रायले उद्योग, वन, पर्यटन तथा वातावरण र नवलकिशोर साहले सामाजिक विकास मन्क्रालय सम्हालेका छन् । नीति तथा कार्यत्रममा राजपाको दुई मामिलामा तीव्र असहमति छ ।


राजपाले सम्हालेको मन्त्रालयको बजेट सिलिङ गत आर्थिक वर्षभन्दा पनि कम गरिएको छ । यस्तै राजपाले हाँकेको मन्त्रालयमा मुख्यमन्त्रीको नामसँग जोडिएको योजना खन्याइएकामा असन्तुष्टि छ । ‘बजेट आवश्यकताका आधारमा दिनुपर्छ । नभए गत वर्षको सिलिङअनुसार विनियोजन हुनुपर्छ,’ राजपाका एक सांसदले भने, ‘तर, मन्त्रालयको बजेट नै आधा कम गरिएको छ ।’


यस्तै, किसान योजना, मुख्यमन्त्री पूर्वाधार योजना र मुख्यमन्त्री अति पिछडिएको जनता योजनाबाट मुख्यमन्त्रीको नाम झिक्नुपर्ने राजपाको अडान छ । राजपाका संसदीय दल नेता एवं मन्त्री सोनलले आफ्ना एजेन्डालाई शनिबारको मन्त्रिपरिषद् बैठकले स्वीकार गरेको बताए ।

प्रकाशित : जेष्ठ १९, २०७६ ०७:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?