ल्यावबिनाको प्रयोगशाला

भरत जर्घामगर

सिरहा — प्रदेश २ का ८ जिल्लाका किसानले लगाउने विभिन्न बालीनालीमा लाग्ने रोग र किराको पहिचान, व्यवस्थापनका लागि प्रत्यक्ष रूपमा प्रयोगशाला सेवा उपलब्ध गराउने उद्देश्यले सदरमुकाम सिरहामा खोलिएको बाली संरक्षण प्रयोगशाला बजेट र जनशक्ति अभावमा उपयोगविहीन भएको छ । प्रयोगशाला नहुँदा सेवा प्रभावित भएको छ ।

बजेट र जनशक्ति अभावमा प्रयोगशालाविहीन भएको सदरमुकाम सिरहास्थित बाली संरक्षण प्रयोगशाला कार्यालय ।तस्बिर : भरत/कान्तिपुर

प्रदेश २ का सप्तरी, सिरहा, धनुषा, महोत्तरी, रौतहट, सर्लाही, बारा, पर्सा क्षेत्रमा उत्पादन र उत्पादकत्व वृद्धिमार्फत खाद्य सुरक्षा र आय–आर्जनमा टेवा पुर्‍याउने उद्देश्यले प्रदेश सरकार मातहतमा रहने गरी सदरमुकाम सिरहामा २०७५ कात्तिक ७ मा बाली संरक्षण प्रयोगशाला स्थापना गरिएको थियो ।

‘प्रयोगशाला स्थापनाका लागि ६० देखि ७० लाख लाग्ने भए पनि ४ लाख मात्र बजेट दिइएको छ,’ बाली संरक्षण प्रयोगशालाका कार्यालय प्रमुख अशोककुमार यादवले भने, ‘४ लाख रुपैयाँले एउटा माइक्रोस्कोप, किरा समात्ने उपकरण, सुकाउने र संकलन गरेर बाकसमा राख्ने सामग्री मात्र खरिद गर्न पुग्यो ।’

उनका अनुसार उपकरण पूरा नभएकाले नै प्रयोगशाला सुचारु गर्न सकिएको छैन । बाली संरक्षण प्रयोगशालालाई कृषकहरूको खेतबारीमा निरीक्षण गरी रोग किराको नमुना संकलन र तिनको संरक्षणमार्फत बालीनालीको क्षति न्यूनीकरणमा कृषकलाई सहयोग पुर्‍याउने जिम्मेवारी तोकिएको छ ।

त्यसैगरी कार्यालयले कृषिबाली उत्पादनमा नोक्सानी पुर्‍याउने शत्रु जीव र फाइदा पुर्‍याउने मित्र जीवबारे कृषक पाठशाला, स्थानीय जडिबुटीको प्रयोगबारे कृषकलाई जानकारी गराई एकीकृत बाली संरक्षण व्यवस्थापनमा सहयोग पुर्‍याउने, हानिकारक रासायनिक विषादीको प्रयोगमा कमी ल्याउनमा सहयोग गर्नुपर्नेछ ।

त्यसैगरी प्रदेश २ मा उत्पादन हुने बालीनालीमा लाग्ने रोग र किराको पेस्ट म्याप तयार गर्ने, रोग र किराको संकलन तथा संरक्षण गरी पेस्ट म्युजियम स्थापना गर्ने र यसका माध्यमबाट रोग किराको पहिचान तथा व्यवस्थापन सेवा उपलब्ध गराउने लगायत १३ वटा महत्त्वपूर्ण जिम्मेबारी कार्यालयको भए पनि बजेटसँगै जनशक्ति र प्रयोगशाला अभावमा ती सेवा सञ्चालनमा समस्या भएको कार्यालयले जनाएको छ ।

कार्यालयमा प्रमुख यादवसहित एक जना बाली संरक्षण अधिकृत, प्राविधिक सहायक १, सहलेखापाल १ र १ कार्यालय सहयोगीसहित ५ कर्मचारी कार्यरत छन् । जनशक्ति अभाव र सवारी साधन एउटा जिपको भरमा प्रदेश २ का ८ जिल्लामा सेवा प्रवाह गर्न कठिनाइ भएको कार्यालय प्रमुख अशोक कुमार यादवले जानकारी दिए ।

प्रकाशित : जेष्ठ १३, २०७६ ११:०७
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

कुटपिटबाट सैनिकको मृत्यु पछि पुरुषले गाउँ छाडे

भरत जर्घामगर

सिरहा — गाउँलेको कुटपिटबाट बिदामा घर आएका सैनिक जवानको मृत्यु भएपछि सिरहाको बरियारपट्टी-४ स्थित तेनुवापट्टी गाउँ सुनसान भएको छ ।

तेनुवापट्टी गाउँमा भेटिएका बृद्धा र बालबालिका ।तस्बिर : भरत/कान्तिपुर

गाउँमा बालबालिका, वृद्धवृद्धा, महिला मात्र भेटिन्छन् । पक्राउ पर्ने डरले पुरुषहरू गाउँ छाडेर भागेको छन् । गाउँमा भएका महिला, वृद्धवृद्धा समेत त्रसित छन् । नयाँ मान्छे गाउँ प्रवेश गरेपछि टोलका महिला, वृद्धवृद्धा बोल्न समेत डराउँछन् ।

बरियारपट्टी-४ सोहपुरस्थित घर आएका सैनिक जवान २५ वर्षिीय अनिसकुमार सिंहलाई गत वैशाख २८ गने राति बिजुलीको पोलमा बाँधेर तेनुवापट्टीका स्थानीयले कुटपीट गरेका थिए ।

स्थानीयको कुटाइबाट घाइते उनको काठमाडौंको छाउनीस्थित वीरेन्द्र सैनिक अस्पतालमा उपचारका क्रममा जेठ १ मा मृत्यु भएको थियो । अनिस संखुवासभाको खाँदबारीस्थित बराहदल गुल्ममा कार्यरत थिए ।

तेनुवापट्टीका विलक्षण यादवको घरमा चोरी गर्न आएको भन्दै अनिसलाई पक्राउ गरेर गाउँलेले मिलेर बिजुलीको पोलमा बाँधेर राति १:३० बजे मरनासन्न हुनेगरी कुटपिट गरेका थिए । कुटपिटको भिडियो समेत सामाजिक सञ्जालमा भाइरल भएको थियो ।

पोलमा बाँधेको ठाउँबाट आफन्तले अनिसलाई बिहान ४ बजेमात्र प्रहरीको सहयोगमा उद्धार गरी उपचारका लागि लहानस्थित सप्तऋषि अस्पताल लगेका थिए । त्यहाँ उपचार सम्भव नभएपछि विराटनगरस्थित नोबेल अस्पताल लगिएको थियो ।

विराटनगरमा समेत उपचार हुन नसकेपछि वैशाख ३० मा अनिसलाई छाउनी लगिएको थियो ।
अनिसको मृत्युलगत्तै विलक्षणले घरमा ताला लगाएर गाउँ नै छाडेका छन् । सञ्चारकर्मी टोली गाउँ पुग्दा भेटिएका उनका छिमेकी ७५ वर्षीय श्याम साह र ७३ वर्षीय अशेश्वर साहले रातिको समयमा भएकाले हल्ला खल्ला भएपनि घटनाबारे आफूहरूलाई थाहा नभएको बताए ।

उनीहरूले घट्ना भएको भनिएको विलक्षणको घरमा ताला लगाएर उनीहरू अन्यत्रै गएको बताए । वस्तुभाउको हेरचाह आफन्तले गरिदिएको उनीहरूले सुनाए । ‘घटनापछि गाउँका पुरुषहरूले गाउँ नै छाडेका छन,’् रामायण पढिरहेका ती दुई वृद्धले भने, ‘पक्राउ पर्ने डरले उमेर पुगेका पुरुष गाउँमा छैनन्, बर्दी र सादा पोशाकमा आएर प्रहरीले सोधखोज गरेकाले पनि गाउँमा वृद्धवृद्धा र महिला, बालबच्चा मात्रै बसेका छन् ।’

घटनापछि मृतकका बुवा नरेन्द्रकुमार सिंहले प्रहरीमा किटानी जाहेरी दिएपछि प्रहरीले अनुसन्धानसँगै घटनामा संलग्नको विभिन्न टिम बनाएर खोजीलाई तिब्र बनाएको छ ।

चोरीको आरोप लगाएपनि मृतकका आफन्तले घरमै रहेको बेला गत वैशाख २८ गने राति अनिसलाई आँगनमा सुतिरहेको अवस्थामा १२ बजेपछि केही व्यक्तिहरूले अपहरण गरेर लगेको र डेढ किलोमिटर पश्चिमतिर पर्ने आधारभुत विद्यालय तेनुवापट्टीछेउ हातखुट्टा बाँधेर कुटपीट गरिएको दाबी गर्दै आएका छन् ।

लहानमा मृतकका काका मनोज सिंहले घरमा आयोजना गरेको अष्टजाममा सपरिवार गएको र घरमा ७० वर्षीय हजुरआमा ऐंजन देवी र अनिस मात्रै रहेको मौका छोपी अपहरण गरी मरणासन्न कुटपिट गरिएको परिवार पक्षले दाबी गरेका छन् ।

सिरहाका प्रहरी प्रमुख एसपी जीवनले श्रेष्ठले किटानी जाहेरी परेलगत्तै प्रहरीले घटनाको अनुसन्धान गरी संलग्नको खोजीलाई तीब्र पारिएको जनाए । ‘घटनास्थल गाउँका पुरुष सबै भागेकाले अनुसन्धानमा समस्या भएपनि विभिन्न टिम बनाएर खोजीसँगै, शंकास्पद स्थानमा खानतलासी, गाउँमा भेटिएकाहरूसँग सोधपुछ जारी राखेका छौं,’ एसपी श्रेष्ठले भने, ‘छिमेकी जिल्लासँग र भारतीय प्रहरीसँग समेत समन्वय गरी खोजी कार्यलाई तीब्रता दिएका छौं ।’ हरेक कोणबाट अनुसन्धान र खोजीकार्यलाई तीब्रता दिएकाले पक्राउ गर्नमात्रबाँकी रहेको उनले जानकारी दिए ।

प्रकाशित : जेष्ठ ७, २०७६ ११:२५
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
×