१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६३

चेक बाउन्स मुद्दामा पुनःपक्राउ

अवधेशकुमार झा

राजविराज — चेक बाउन्स मुद्दामा धरौटी बुझाएर कारागारबाट मुक्त भएका राजविराज नगरपालिका–१ का सागरकुमार साहलाई सप्तरी प्रहरीले पक्राउ गरेको छ ।

सप्तरी जिल्ला अदालतका तात्कालीन न्यायाधीश श्यामसुन्दर अधिकारीलाई मुद्दा प्रभावित गर्ने उद्देश्यले बैंक खातामार्फत ५ लाख रुपैयाँ दिएको आरोपपछि चर्चामा आएका साह चेक बाउन्स मुद्दामा अदालतले तोकेको धरौटी बुझाउन नसकेपछि महोतरीको जलेश्वर कारागारमा थुनामा रहेका थिए ।


अदालतले तोकेको ५ लाख रुपैयाँ धरौटी मंगलबार बुझाएर रिहा भए लगत्तै सप्तरी प्रहरीले जलेश्वरबाट उनलाई नियन्त्रणमा लिएको हो । सप्तरीको महदेवा गाउँपालिका २ का बुधनीदेवी मण्डलसित रकमको कारोबार गरेको र रकम फिर्ता गर्न दिइएको चेक बाउन्स भएपछि बुधनीदेवीले सागरमाथि जिल्ला प्रहरी कार्यालय सप्तरीमा ठगी मुद्दा दिएकी थिइन् । सोही मुद्दाको अनुसन्धानका क्रममा साहलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक गुरुप्रसाद तिम्सिनाले बताए ।


न्यायाधीश अधिकारीले फलफूलका व्यापारी रहेका साहसँग एउटा मुद्दामा फैसला प्रभावित गर्ने उद्देश्यले ५ लाख रुपैयाँको कारोबार गरेको आरोपसहित न्यायपरिषदमा उजुरी परेको छ । फलफूल व्यापारी साहले जिल्ला न्यायाधीश अधिकारीको माछापुच्छ्रे बैंकमा रहेको खाता नम्बर ६१३६५२४५२०१४८०१७ मा विभिन्न मितिमा ५ लाख रुपैयाँ पठाएको भौचर कान्तिपुरलाई प्राप्त भएको थियो ।


साहले अधिकारीको खातामा ०७५ साल असार १५ गते १ लाख, असार ३२ गते २ लाख र उनी सरुवा भएको दिन ०७५ साउन २ गते २ लाख गरी कुल ५ लाख रुपैयाँ पठाएका थिए । न्यायाधीश अधिकारीलाई खातामा पठाइएको ५ लाख रुपैयाँ पठाउने उद्देश्य भौचरमा व्यापार लेखिएको छ ।


स्रोतका अनुसार फलफूल व्यापारी सागरले दैनिक रूपमा राजविराजमा रहँदा न्यायाधीश अधिकारीलाई भेट्ने गरेका थिए । विभिन्न मुद्दामा झगडियासित कुरा मिलाउन अधिकारीले नै सागरलाई निर्देशित गर्थे । ‘झगडियासित कुरा मिलाएर रकम उठाउने र श्यामसुन्दर श्रीमान् समक्ष पुर्‍याउने काम नै सागरको थियो,’ स्रोतले भन्यो ।


हाल जिल्ला अदालत कालीकोटमा रहेका न्यायाधीश अधिकारीले फलफूल व्यापारी सागरकुमार साहसित आफ्नो रकमको कारोबार भएको स्वीकार गरेका छन् । उनले सागरसित आफ्नो लेनदेनको पैसा आफूलाई खातामा हालेको दाबी गर्दै आएका छन् । सप्तरी जिल्लाको सप्तकोसी नगरपालिका १ फत्तेपुर बस्ने मनोजकुमार साहले न्यायाधीश अधिकारीले सागरकुमार साहमार्फत आफनो मुद्दा प्रभावित गर्ने उद्देश्यले रकम लिएको भन्दै हदै सम्मको कारबाही माग गर्दै परिषदमा उजुरी दिएका हुन् ।


साहले उजुरी पत्रमा आफ्नी पत्नी सुनिताकुमारी साहलाई सप्तकोसी नगरपालिका २ बस्ने मो अली हुसेनले भगाई बिबाह गरेकोमा आफूले बहुबिबाहको मुद्दा चलाएको बताएका छन् ।


०७४ सालमा सुनिताले पति मनोजविरुद्ध हालेको मानाचामल मुद्दामा बहुबिबाहको मिसिलसमेत सामेल गरी नियमानुसार पेस गर्नु भनी सप्तरी जिल्ला अदालतबाट आदेश भएको थियो । दुवै मुद्दा एकसाथ रही ०७५ साल असार २५ गते पेसी तारेख तोकिएकोमा न्यायाधीश अधिकारीलाई सुनिताका भाइ विजयकुमार साह, अली हुसेनका छोरा र सुनिता समेत मिली सागरकुमार साह मार्फत न्यायाधीश अधिकारीलाई पैसा दिएको आरोप परिषदमा पठाइएको उजुरीमा लगाइएको छ ।

प्रकाशित : जेष्ठ ९, २०७६ १०:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?