१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

थन्किए घुम्ती शौचालय

रौतहट — चन्द्रपुर नगरपालिकाको मुख्य चोकमा एउटा पनि सार्वजनिक शौचालय छैन । यो चोकमा दैनिक ठूलो संख्यामा गाडी र मानिस आवत–जावत गर्छन् । उनीहरूलाई शौच गर्न निकै समस्या हुने गरेको छ । यसैलाई आधार बनाएर १० लाख रुपैयाँभन्दा बढी खर्चिएर ल्याएका घुम्ती शौचालय एक महिनादेखि नगर परिसरमै थन्किएका छन् । 

थन्किए घुम्ती शौचालय

निजी क्षेत्रलाई सञ्चालन गर्न दिने तयारी भइरहेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बलराम ढकालले बताए । ‘नगरपालिकाले भन्दा पनि निजीस्तरबाट सञ्चालन गराउने योजनाका साथ ठेक्काको सूचना जारी गरिसकेका छौं,’ उनले भने, ‘जसले बढी मूल्यमा बोलकबोल गर्छ उसैलाई ठेक्का दिएर चाँडै सञ्चालनमा ल्याउँछौं ।’ उनले सञ्चालनमा अब ढिला नहुने बताए ।


नगरकै मुटुका रूपमा रहेको ४ नम्बर वडाको मुख्य चोकमा सार्वजनिक शौचालय बनाउन जमिन अभाव भएपछि नगरपालिकाले २ वटा घुम्ती शौचालय खरिद गरेको थियो । नगरपालिकाको सार्वधिक भिडभाड हुने चोकको दुई स्थानमा सञ्चालनमा ल्याउने नगरपालिकाको योजना छ ।


बाहिर तथा जिल्लाका विभिन्न स्थानबाट काम लिएर आउने सेवाग्राहीलाई शौच गर्न समस्या भएपछि नगरपालिकाले घुम्ती शौचालय खरिद गरेको जनायो । तत्कालीन चन्द्रनिगाहपुर गाविसले चोकको दक्षिण क्षेत्रमा बग्ने पैनीमा शौचालयको भवन निर्माण गर्न थालेको थियो । त्यस बेला ठूलै विवाद भएपछि रोकिएको हो ।


चोकमा मानिस शौच गर्न नपाएर छटपटाउने गरेको दृश्य यहाँका लागि नौलो होइन । पैदल यात्रीहरू शौचालय खोज्दै होटल पुग्छन् । उनीहरूलाई होटल सञ्चालकले शौच गर्न दिँदैनन् । यस्तो अवस्थामा घुम्ती शौचालय चाँडै सञ्चालनमा ल्याउनु पर्ने स्थानीय समाजसेवी बाबुराम दाहालले बताए ।


नगरपालिकाको मुटु मानिने चोकमा सार्वजनिक शौचालय नहुँदा कति ठूलो समस्या छ भन्ने सबैलाई थाहा छ,’ उनले भने, ‘सामान खरिद गरी ल्याउने अनि त्यसलाई व्यवस्थापन र सञ्चालन गर्न नसक्ने ?’ नगरपालिकाले अहिलेसम्म नगर प्रहरी समेत भर्ना गर्न नसकेको झन्दै दाहालले आक्रोस व्यत्त गरे ।

प्रकाशित : जेष्ठ ९, २०७६ १०:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?