१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

कुटपिटबाट सैनिकको मृत्यु पछि पुरुषले गाउँ छाडे

भरत जर्घामगर

सिरहा — गाउँलेको कुटपिटबाट बिदामा घर आएका सैनिक जवानको मृत्यु भएपछि सिरहाको बरियारपट्टी-४ स्थित तेनुवापट्टी गाउँ सुनसान भएको छ ।

कुटपिटबाट सैनिकको मृत्यु पछि पुरुषले गाउँ छाडे

गाउँमा बालबालिका, वृद्धवृद्धा, महिला मात्र भेटिन्छन् । पक्राउ पर्ने डरले पुरुषहरू गाउँ छाडेर भागेको छन् । गाउँमा भएका महिला, वृद्धवृद्धा समेत त्रसित छन् । नयाँ मान्छे गाउँ प्रवेश गरेपछि टोलका महिला, वृद्धवृद्धा बोल्न समेत डराउँछन् ।


बरियारपट्टी-४ सोहपुरस्थित घर आएका सैनिक जवान २५ वर्षिीय अनिसकुमार सिंहलाई गत वैशाख २८ गने राति बिजुलीको पोलमा बाँधेर तेनुवापट्टीका स्थानीयले कुटपीट गरेका थिए ।


स्थानीयको कुटाइबाट घाइते उनको काठमाडौंको छाउनीस्थित वीरेन्द्र सैनिक अस्पतालमा उपचारका क्रममा जेठ १ मा मृत्यु भएको थियो । अनिस संखुवासभाको खाँदबारीस्थित बराहदल गुल्ममा कार्यरत थिए ।


तेनुवापट्टीका विलक्षण यादवको घरमा चोरी गर्न आएको भन्दै अनिसलाई पक्राउ गरेर गाउँलेले मिलेर बिजुलीको पोलमा बाँधेर राति १:३० बजे मरनासन्न हुनेगरी कुटपिट गरेका थिए । कुटपिटको भिडियो समेत सामाजिक सञ्जालमा भाइरल भएको थियो ।


पोलमा बाँधेको ठाउँबाट आफन्तले अनिसलाई बिहान ४ बजेमात्र प्रहरीको सहयोगमा उद्धार गरी उपचारका लागि लहानस्थित सप्तऋषि अस्पताल लगेका थिए । त्यहाँ उपचार सम्भव नभएपछि विराटनगरस्थित नोबेल अस्पताल लगिएको थियो ।


विराटनगरमा समेत उपचार हुन नसकेपछि वैशाख ३० मा अनिसलाई छाउनी लगिएको थियो ।

अनिसको मृत्युलगत्तै विलक्षणले घरमा ताला लगाएर गाउँ नै छाडेका छन् । सञ्चारकर्मी टोली गाउँ पुग्दा भेटिएका उनका छिमेकी ७५ वर्षीय श्याम साह र ७३ वर्षीय अशेश्वर साहले रातिको समयमा भएकाले हल्ला खल्ला भएपनि घटनाबारे आफूहरूलाई थाहा नभएको बताए ।


उनीहरूले घट्ना भएको भनिएको विलक्षणको घरमा ताला लगाएर उनीहरू अन्यत्रै गएको बताए । वस्तुभाउको हेरचाह आफन्तले गरिदिएको उनीहरूले सुनाए । ‘घटनापछि गाउँका पुरुषहरूले गाउँ नै छाडेका छन,’् रामायण पढिरहेका ती दुई वृद्धले भने, ‘पक्राउ पर्ने डरले उमेर पुगेका पुरुष गाउँमा छैनन्, बर्दी र सादा पोशाकमा आएर प्रहरीले सोधखोज गरेकाले पनि गाउँमा वृद्धवृद्धा र महिला, बालबच्चा मात्रै बसेका छन् ।’


घटनापछि मृतकका बुवा नरेन्द्रकुमार सिंहले प्रहरीमा किटानी जाहेरी दिएपछि प्रहरीले अनुसन्धानसँगै घटनामा संलग्नको विभिन्न टिम बनाएर खोजीलाई तिब्र बनाएको छ ।


चोरीको आरोप लगाएपनि मृतकका आफन्तले घरमै रहेको बेला गत वैशाख २८ गने राति अनिसलाई आँगनमा सुतिरहेको अवस्थामा १२ बजेपछि केही व्यक्तिहरूले अपहरण गरेर लगेको र डेढ किलोमिटर पश्चिमतिर पर्ने आधारभुत विद्यालय तेनुवापट्टीछेउ हातखुट्टा बाँधेर कुटपीट गरिएको दाबी गर्दै आएका छन् ।


लहानमा मृतकका काका मनोज सिंहले घरमा आयोजना गरेको अष्टजाममा सपरिवार गएको र घरमा ७० वर्षीय हजुरआमा ऐंजन देवी र अनिस मात्रै रहेको मौका छोपी अपहरण गरी मरणासन्न कुटपिट गरिएको परिवार पक्षले दाबी गरेका छन् ।


सिरहाका प्रहरी प्रमुख एसपी जीवनले श्रेष्ठले किटानी जाहेरी परेलगत्तै प्रहरीले घटनाको अनुसन्धान गरी संलग्नको खोजीलाई तीब्र पारिएको जनाए । ‘घटनास्थल गाउँका पुरुष सबै भागेकाले अनुसन्धानमा समस्या भएपनि विभिन्न टिम बनाएर खोजीसँगै, शंकास्पद स्थानमा खानतलासी, गाउँमा भेटिएकाहरूसँग सोधपुछ जारी राखेका छौं,’ एसपी श्रेष्ठले भने, ‘छिमेकी जिल्लासँग र भारतीय प्रहरीसँग समेत समन्वय गरी खोजी कार्यलाई तीब्रता दिएका छौं ।’ हरेक कोणबाट अनुसन्धान र खोजीकार्यलाई तीब्रता दिएकाले पक्राउ गर्नमात्र बाँकी रहेको उनले जानकारी दिए ।

प्रकाशित : जेष्ठ ७, २०७६ ११:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?