३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२७

१८ बोरा मरिच बरामद

रवीन्द्र उप्रेती

महोत्तरी — भारतीय सीमावर्ती मटिहानी बजारबाट प्रहरीले ठूलो परिमाणमा मरिच बरामद गरेको छ । प्रहरीले मटिहानी नगरपालिका-७ स्थित महेशप्रसाद साहको किराना पसलबाट ४ सय ५० किलोग्राम मरिच नियन्त्रणमा लिएको हो । साह उद्योग वाणिज्य संघ मटिहानीका सदस्यसमेत हुन् ।

प्रदेश प्रहरी जनकपुर र जिल्ला प्रहरी कार्यालय जलेश्वरबाट आईतवार राति ८ बजे मटिहानी पुगेको टोलीले साहको गोदाममा खोजतलास गर्दा २५ किलोका १८ बोरा मरिच फेला पारेको हो ।


भारतीय बजारतर्फ तस्करी गरेर लैजादा विगतमा पनि मरिच बरामद हुने गरेको थियो । व्यापारी साहले मरिचको बिल विजकमा त्रुटि फेला परेपछि नियन्त्रणमा लिइएको प्रहरी उपरीक्षक ईश्वर कार्कीले बताए ।


उनले जनकपुर उपमहानगरपालिका-२ परिक्रमा सडकमा पर्ने जानकी स्टोर्सबाट वैशाख ५ मा कमल एण्ड सन्सको नाममा खरिद गरेको ४ सय ५० किलो मरिचको बिलमा क्रेताको करदाता दर्ता नं ३०१२३७५१३ उल्लेख छ ।


यसअघि जनकपुरकै नानेश इन्रटरप्राइजेजबाट ०७५ भदौ ६ मा कमल एण्ड सन्स कै नाममा खरिद गरेको १ सय ५० किलो मरिचको बिल लमा बिक्रेताको करदाता दर्ता नम्बरमा सामान्य फरक पारेर ३०१२३७५०३ लेखिएको छ । ‘एउटै क्रेताको करदाता नं (५०३ र ५१३) कसरी फरक हुन गयो ?’ एसपी कार्कीले प्रश्न गरे ’ यो त्रुटि नियतबस हो वा भूलचुक ? छानबिनका लागि दुवै बिल विजक सहित मरिचका बोरा नियन्त्रणमा लिएका हाैं ।’


मरिच सञ्चय गरी राखेको साहको गोदाम भारतीय बजार मधवापुरदेखि केवल ५ सय मिटरको दूरीमा रहेकोले पनि प्रहरीले तस्करीको आशंका गरेका छन् ।


मटिहानी नाकाबाट मौका पारेर ससाना परिमाणमा भारततर्फ मरिच तस्करी हुने गरेको सूचनाको आधारमा दश गजा क्षेत्रमा केही समय यता सुरक्षा निकायले निगरानी बढाउँदै आएको थियो । केही समय यता नेपाल र भारतका बजारमा मरिचको मूल्यमा प्रतिकेजी ४ सय रुपैयाँसम्म अन्तर छ । ‘नेपाली बजारमा अहिले मरिचको खुद्रा मूल्य प्रतिकिलो ५ सय ५० रुपैयाँ मात्र छ,’ स्थानीय एक किराना पसलेले बताए ।


‘तर भारतीय सीमा नजिकैको भिट्ठामोड लगायत भारतीय बजारमा भने यसको मूल्य प्रतिकेजी भारु ६ सय रुपैयाँ छ । पटना, मुजफ्फरपुर लगायत विभिन्न शहरमा पु¥याउँदा थप महँगो हुँदै जानाले लुकाई छिपाई मरिच तस्करी हुने गरेको हो ।’ जिल्ला प्रहरीले बरामद मरिच सोमवार जलेश्वर भन्सार बुझाएको छ ।


भन्सार प्रमुख केशव भण्डारीले प्रहरीले बुझाएको मरिचको भन्सार ऐनबमोजिम कारबाही अघि बढाएको जनाए ।

प्रकाशित : जेष्ठ ७, २०७६ ११:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?