१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

गुठी संस्थानको १३ अर्ब बक्यौता 

शाहीमान राई

जनकपुर — गुठीको जग्गा उपभोग गरेबापत सरकारी निकायले सर्तबमोजिम तिर्नुपर्ने मुआब्जा नतिरेपछि गुठी संस्थानको १३ अर्ब रुपैयाँभन्दा बढी बक्यौता असुल हुन सकेको छैन । 

जनकपुरधाम उपमहानगरपालिका क्षेत्रमा सरकारी तथा गैरसरकारी संघसंस्थाको कार्यालय, मठमन्दिर, तालपोखरी, खुल्ला चौर, खेलमैदान, कुटी, विद्यालय, शैक्षिक संस्थाले गुठीको जग्गामा भवन निर्माण गरी उपभोग गर्दै आएका छन् ।


जनकपुरधाम उपमहानगरपालिका क्षेत्रमा अधिकांश जमिन गुठी संस्थानअन्तर्गत रहेकाले सरकारी तथा गैरसरकारी संघसंस्थाको कार्यालय गुठीको जग्गामा राखिएका हुन् । गुठी संस्थानको तथ्यांकअनुसार २९ वटा सरकारी कार्यालयले ६५ बिघा १६ कट्ठा १६ धुर जमिन उपभोग गर्दै आएका छन् । गैरसरकारी संघसंस्था र व्याक्तिले ओगटेको जमिनको लेखाजोखा छैन । गुठी संस्थानअन्तर्गत रहेका २४ वटा मठमन्दिरले ३ सय ७८ बिघा १३ कट्ठा १४ धुर जमिन उपभोग गर्दै आएका छन् ।


यसबाहेक जनकपुरको प्रसिद्ध जानकी मन्दिरलगायत विभिन्न मठमन्दिर, तालपोखरी सार्वजानिकस्थल, देवस्थल, विद्यालय, संघसंस्था, जातीय, धार्मिक समुदायको आ-आपmनै गुठी छन् । गुठी संस्थानअन्तर्गत गुठी अधीनस्थ ७ सय १२ बिघा १ कट्ठा १२ धुर, गुठी तैनाथी १ हजार ७ सय ४२ बिघा १० कट्ठा १३ धुर र गुठी रैतान ३ हजार ६ सय ७३ बिघा १० कट्ठा ४ धुर गरी ६ हजार एक सय २९ बिघा २ कट्ठा ११ धुर जमिन छ ।


यसवाहेक विभिन्न जातीय समुदायद्वारा निर्मित मठमन्दिर कुटी, तालपोखरीको कुनै हिसाबकिताब छैन । यसमध्ये जनकपुरधाम उपमहानगरपालिका, जिल्ला प्रशासन, प्रहरी, अदालत, पशु सेवा, कृषि लगायत विभिन्न सरकारी कार्यालयले गुठीकै जमिनमा भवन निर्माण गरी उपभोग गर्दै आएको संस्थानका प्रमुख मनोज शर्माले बताए ।


गुठी संस्थानबाट भोगाधिकार पाएका सरकारी कार्यालय, संघसंस्थाले जग्गाको संरक्षण गर्न सकेका छैनन् । गुठीको जग्गा भोगाधिकार पाए संघसंस्थाले घरटहरा निर्माण गरी व्यापारीलाई भाडामा दिएका छन् । भाडा असुले पनि संस्थानलाई बुझाएका छैनन् ।


हजारौं बिघा जमिनको मालिक गुठीसंस्थान स्वायत्त निकाय भएपनि सरकार आफैले अतिक्रमण गरी अर्बौं रुपैयाँ मुआब्जाबापतको रकम उपलब्ध नगराउँदा संस्थान मातहतमा रहेका जग्गाजमिन, मठमन्दिर, गुठी अधीनस्थ, गुठी तैनाथी र गुठी रैतान नम्बरी जग्गाको संरक्षण तथा व्यवस्थापन गर्न नसकेको गुठी संस्थानका सहायक अधिकृत शर्माले बताए । संस्थानको बक्यौता रकम बुझाउन सरकारलाई पटकपटक ध्यानाकर्षण गराए पनि सुनुवाइ नभएको संस्थानले जनाएको छ ।


जनकपुरमा गुठी संस्थानले सयौं घरटहराबाट भाडा असुली, माछापोखरी, हाटबजार ठेक्काबापत रकम असुल्ने र गुठी रैतान जग्गाको मालपोत असुलेर वाषिर्क करिब तीन करोड रुपैयाँ आम्दानी गर्दै आएको छ । तर गुठीसंस्थान मातहतको मठमन्दिर, संघसंस्थाको संरक्षणमा रहेको अधिकांश जमिन अतिक्रमणमा परेको छ । गुठीको जग्गामा घरटहरा खेलमैदान, विद्यालय, सार्वजानिक संस्था क्लब भवन निर्माण गरी आफूखुसी आम्दानी गर्दै आएका छन् । तर गुठीसंस्थानलाई रकम बुझाउँदैनन् ।


गुठी संस्थानको जमिन सबभन्दा बढी उपभोग गर्ने सरकारी निकाय चरण परीक्षण तथा बीउ वृद्धि र्फमले ३७ बिघा ४ कट्ठा १४ धुर उपभोग गर्दै आएको छ । गुठीको जमिन कृषि विकास -ज्ञान केन्द्र) कार्यालयलाई एक बिघा ११ कट्ठा एक धुर, खाद्य तथा कृषि बजारलाई दश कट्ठा, पशु विकास पशु स्वास्थ्य शाखा एक बिघा १२ कट्ठा ४ धुर र शिक्षा कार्यालयले एक बिघा एक कट्ठा ५ धुर उपयोग गर्दै आएका छन् ।


यसैगरि, धनुषा जिल्ला अदालतले एक बिघा ७ कट्ठा १३ धुर, परिवार नियोजन संघ ३ कट्ठा १७ धुर, जिल्ला प्रहरी कार्यालय एक बिघा ५ कट्ठा १५ धुर, अञ्चल प्रहरी कार्यालय चार बिघा ९ कट्ठा १४ धुर, नेपाल रेडक्रस सोसाइटी ३ कट्ठा १८ धुर, सहरी विकास तथा भवन निर्माण विभाग ५ कट्ठा १४ धुर र महिला विकास केन्द्र एक बिघा १२ कट्ठा ४ धुर, प्रयोग गर्दै आएको छ ।


रासस धनुषा एक कट्ठा १४ धुर, जिल्ला समन्वय समिति कार्यादय एक बिघा १९ कट्ठा ४ धुर, मध्यमाञ्चल क्षेत्रीय पशु सेवा केन्द्र ११ कट्ठा ११ धुर, बाल मन्दिरलाई ३ कट्ठा १६ धुर, नेपाल स्काउट तीन कट्ठा दश धुर, खेलकुद परिषद ४ कट्ठा ९ धुर, सिताराम गौशाला ८ कट्ठा दश धुर, अतिथि गृह १२ कट्ठा ४ धुर, जनकपुर अञ्चल अस्पताल तीन बिघा २ कट्ठा ७ धुर प्रयोग गरेकेा छ । यसैगरि पुनरावेदन अदालत १९ कट्ठा १२ धुर, जनकपुर उपमहानगरपालिका ५ कट्ठा १३ धुर, जिल्ला वन कार्यालय ११ कट्ठा १९ धुर, सडक विभाग १४ धुर, पुनरावेदन सरकारी वकिल एक कट्ठा ३ धुर, जिल्ला प्रशासन कार्यालय १७ कट्ठा गरी ६५ बिघा १६ कट्ठा १६ धुर जमिन सरकारी कार्यालयले ओगटेका छन् ।


जनकपुरधाम उपमहानगरपालिका-४ तिरहुतियागाछीस्थित सीताराम गौशालाले भोगाधिकार पाएको ८ कट्ठा दश धुर जमिनमा निर्मित चार दर्जन घर टहराबाट भाडा असुल्दै आएको छ । गुठीसंस्थान बाहेक विभिन्न मठमन्दिर, विद्यालय, कुटीको नाममा रहेको सार्वजानिकस्थल, चौर, तालपोखरी हजारौं बिघा जमिनको लेखाजोखा छैन ।


अधिकांश गुठीको जमिन अतिक्रमणमा परिसकेको छ । तर सरकारले गुठी संस्थान लगायत विभिन्न राजगुठी, निजी गुठी संरक्षण गर्न चासो दिएको छैन । जनकपुरधाम क्षेत्रमा गुठीसंस्थान अन्तर्गत रहेको सबैभन्दा बढी जमिन मठमन्दिरको नाममा छ । गुठीसंस्थानले राममन्दिर, जानकी मन्दिर, रत्नसागर मठ, हनुमाननगर मठ, कुपेश्वरनाथ मठ, गिरीनारी कुटी, लक्ष्मण मन्दिर, कपिलेश्वर मठ, विरखकुटी, बराही कुटी, बेरही कुटी, राधाकृष्ण भगवान विरपुर कुटी, रामजानकी दुलाहा दुलही भगवान कुटीलगायतको व्यावस्थापन गर्दै आएको छ ।


गुठी संस्थानको आम्दानीको लागि १४ वटा माछा पोखरी र दुईवटा हाट बजार ५ वर्षे ठेक्का सम्झौता गरी निजी र्फमलाई व्यवस्थापनको जिम्मेवारी दिएको छ । माछापोखरी र हाटबजार व्यवस्थापन गर्न ५ वर्षका लागि ८ करोड ६० लाख ९५ हजार ७ सय ९५ रुपैयाँमा ठेक्का सम्झौता भएको छ । यसबाट वाषिर्क एक करोड ७२ लाख १९ हजार एक सय ५९ रुपैयाँ आम्दानी भइरहेको संस्थान जनकपुरका लेखापाल रोशन ढुंगानाले बताए ।

प्रकाशित : जेष्ठ ६, २०७६ ११:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?