पञ्चावती मन्दिरमा घुइँचो

वैशाख शुक्ल पूर्णिमाका दिन हरेक वर्ष लाग्ने मेला भर्न र विगतमा गरेको भाकल पूरा भएपछि मन्दिरमा पशुपक्षीको बलि दिन सिरहा, सप्तरी, उदयपुर, धनुषा, काठमाडौं, झापा, सुनसरी, महोतरीलगायत भारतको बिहारबाट समेत भक्तजन आउने गर्छन् ।
भरत जर्घामगर

सिरहा — सिरहाको लहान नगरपालिका १५ ढोढनास्थित राजदेवी पञ्चावती मन्दिरमा शनिबार मेलामा श्रद्धालुहरूको घुइँचो लागेको छ । वर्षेनी मेला भर्न आउने श्रद्धालुहरूको संख्या बढ्दो छ ।

सिरहाको ढोढनास्थित राजदेवी पञ्चावती मन्दिरमा शनिबार श्रद्धालुको घुइँचो । तस्बिर : भरत/कान्तिपुर

वैशाख शुक्ल पुर्णिमाका दिन हरेक वर्ष लाग्ने मेला भर्न र विगतमा गरेको भाकल पूरा भएपछि मन्दिरमा पशुपंक्षीको बलि दिन सिरहा, सप्तरी, उदयपुर, धनुषा, काठमाडौं, झापा, सुनसरी, महोतरीलगायत भारतको विहारबाट समेत भक्तजन आउने गर्छन् ।

राजदेवी मन्दिरमा पूजा गरेपछि निःसन्तानलाई सन्तान प्राप्ति, रोग विनाश, कार्यसफलता हुने विश्वासले भक्तजन भाकल गरेर आउने गर्छन् । लहानदेखि ९ किलोमिटर उतर चुरेजङ्गलको फेदीमा रहेको राजदेवी मन्दिरमा बोका, पाठी, हाास, परेवा रकुखुराको बलि दिने गरिएको छ ।

पुरुषले भाकल गर्दा बोका र महिलाले पाठी बलि दिन्छन् । वैशाखे पूर्णिमा अर्थात् चण्डी पूर्णिमाका दिन मात्र बलि दिइने मन्दिरमा भाकल पूरा भएपछि भक्तजनले पशुपंक्षी बली दिने गरेका हुन् । राजदेवी मातालाई चण्डी पूर्णिमाका दिन मात्र बलि चढाउने गरिएको छ ।

भाकल पूरा भएपछि मन्दिरमा बली चढाउन आउने भक्तजनको संख्या बर्सेनि बृद्धि हुने गरेको पूजा व्यावस्थापन समितिले जनाएको छ । गतवर्ष ३५ हजारभन्दा बढी बोका र पाठीको बलि दिइएको थियो । चुरेजंगलमा स्थापित मन्दिरमा परापूर्वकालदेखि नै बलिपूजा गर्ने प्रचलन रहेको स्थानीय बासिन्दाले बताए ।

गढिमाई मन्दिरपछि राजदेवी पञ्चावती मन्दिरमा अत्यधिक बलि दिने गरिएको मन्दिरका पुजारी डम्बरबहादुर भट्टले बताए । उनका अनुसार दश पुस्ताअघि त्यस क्षेत्रको वनमा जंगली जनावरले दुःख दिन थालेपछि धामीलाई देवीले सपनामा त्यसक्षेत्रमा मन्दिर स्थापना गरी पूर्णिमाको दिन बलि दिनु भनेअनुसार बलि दिने परम्परा शुरु भएका हो ।

मन्दिरको चारैतीर जंगलले घेरिएको र चरा चुरुंगी चिरबिर आवाजले देवस्थल रमणीय छ । मन्दिरको उतरपट्टि राजाजी, दिनाभद्री, कुवेर, पूर्वतिर लाटी बौकी र सलहेस, दक्षिणमा नागनागिना रउतरपश्चिमतर्फ बलि दिने स्थान छ ।
चर्को घामले एक श्रद्धालुको मृत्यु
चर्को घाम र अत्यधिक गर्मीका कारण मेला भर्न आएका सिरहा सुखीपुर २ चन्नरपट्टिका ४० वर्षीय बालगोपाल यादवको मृत्यु भएको छ । भीडभाड, चर्को घाम र गर्मीका कारण बेहोस भएका यादवको प्राथमिक उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

उनी बेहोस भएपछि मेला समितिले तत्काल उपचारका लागि प्रयत्न गरे पनि सफल नसकेको समितिले जनाएको छ । चर्को घाम, गर्मी र अत्यधिक भीडका कारण १२ जना श्रद्धालु भक्तजन बेहोस भएको समितिले जनायो । प्राथमिक उपचारपछिउनीहरू घर फर्किएका छन् ।

प्रकाशित : जेष्ठ ५, २०७६ १२:१४
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

खानी उत्खननले बस्ती जोखिममा

धनगढीमाई नगरपालिका-८ मा पर्ने महुलिया बस्तीको तीनतिरबाट ग्राभेल माटो उत्खनन गरिएको छ 
भरत जर्घामगर

सिरहा — जथाभावी खानीजन्य पदार्थ उत्खनन गरिँदा धनगढीमाई नगरपालिका ८ मा रहेको महुलिया बस्ती जोखिममा परेको छ । बस्तीको दक्षिण, पूर्व र उत्तर तिनैतिर जथाभावी अवैध रुपमा खानीजन्य पदार्थ उत्खनन गर्दा बस्ती जोखिममा परेको हो ।

सिरहाको धनगढीमाई नगरपालिका ८, महुलिया क्षेत्रमा खानी माफियाद्वारा अवैध रूपले माटो उत्खनन गरिँदै । तस्बिर : भरत/कान्तिपुर

तीनतिरबाट खानीजन्य पदार्थ उत्खनन गरिएको छ । अहिले बस्ती टापुमा परिणत भएको छ । उत्खनन गरिएको स्थलबाट बस्ती जोडिन मुस्किलले ५० मिटर दूरी मात्र बाँकी छ ।

बस्तीमा ५५ यादव, २ महतो, २ राम र १ सोनार गरी ६० घरधुरीको बसोबास छ । बस्तीको दक्षिणपट्टी पुकार बालुवा प्रशोधन उद्योगको नाममा दैनिक ४ जेसिबीले ग्राभेल, ढुंगा उत्खनन गर्दा ठूल्ठूला खाल्डाखुल्डीसँगै खण्डहर बन्दै गएको छ ।

४ जेसिबी र दैनिक सय बढी ट्रिपरले ग्राभेल ओसार्दा धुलो र आवाजले बस्तीमा बस्न समस्या भएको महुलियाका बासिन्दा बताउँछन् । ६३ वर्षीय विश्वनाथ यादवले बस्ती छुन ५० मिटर मात्र बाँकी रहे पनि प्रहरी, प्रशासन र जनप्रतिनिधिलाई रोक्न आग्रह गर्दा पनि सुनुवाइ नभएपछि बस्तीबाट विस्थापित हुनुपर्ने अवस्था आएको बताए ।

'रोक्न खोज्दा ग्राभेल ढुंगा उत्खननमा सक्रिय गिरोहले बस्तीमा आएर उल्टै धम्क्याउँछन्,' उनले भने, 'प्रहरी, जनप्रतिनिधिसमेत मूकदर्शक बन्छन्, उनीहरू सबै ग्राभेल झिक्नेसँग मिलेका छन्, हाम्रो सुनुवाइ हुँदैन ।' उनका अनुसार बस्तीको दक्षिण, पूर्व र उत्तर तिनैतिरबाट ठूल्ठूला खाल्डाखुल्डी पारेर ग्राभेल ढुंगा झिकेपछि बस्तीवासी विस्थापित हुने अवस्था आएको छ ।

'बर्खामा खाल्डा-खुल्डीमा पानी भरिन्छ, बालबच्चा तथा आफू पनि डुबेर मरिन्छ भन्ने पिरलो हुन्छ,' बस्तीका परमेश्वर यादवले भने, 'बस्ती टापुमा परिणत भएको छ, सुक्खायाममा धुलोले बस्न सकिँदैन, त्यसमाथि टि्रपरको दौडाइ र आवाजले बसिसक्नु छैन ।' जिजुबाजे हसाई यादव, बाजे नन्दी, बुवा तेजीलालसहित तीन पुस्तादेखि महुलियामा बस्दै आएको थातथलो ग्राभेल उत्खनन नरोकिए छाडेर बसाइँ सर्नुपर्ने अवस्था आएको परमेश्वरको दुःखेसो छ ।

ग्राभेल उत्खनन नरोकिए जिल्ला प्रशासनलाई बस्तीको सम्पूर्ण जग्गाधनी पुर्जा, घर, धनसम्पत्ति जिम्मा लगाएर बस्ने ठाउँ माग्न जान मात्रै बाँकी रहेको विश्वनाथ सुनाउँछन् । 'होइन भने बस्तीलाई टापु हुनबाट प्रशासन, पुलिस, सरकारले रोकोस्,' ग्राभेल ढुंगाबाट आजित बस्तीका पीडितको एउटै भनाइ छ, 'यदि सक्दैन भने हामीलाई थातथलो देखाइदिनुपर्‍यो, यसरी राज्यविहीन भएर हामीलाई अन्याय पार्नु भएन ।'

बस्ती वरपर उत्खनन नरोकिनुमा गिरोहसँग जनप्रतिनिधि, राजनीतिक दलका नेता, पुलिस, प्रशासनको मिलोमतो रहेको महुलियाका बासिन्दाको आरोप छ । महुलिया मात्र होइन खानीजन्य पदार्थको बढ्दो उत्खननले पूर्व-पश्चिम राजमार्ग उत्तर चुरे क्षेत्रसँग नजिक रहेको धनगढीमाई नगरपालिकाको ८ को जोगिया टोल, महुवा डाँडा, लामाटोल (चैनपुर), लगडीवाला टोल, महतो टोल (चैनपुर) लगायत बस्ती जोखिममा छन् । ती बस्तीका सवा २ सय बढी घरपरिवार जोखिममा छन् ।

ती क्षेत्रबाट व्यवसायीले अवैध रुपमा खानीजन्य पदार्थ निकासी गर्दा ठूल्ठूला खाल्टाखुल्टी बढ्दै गएका छन् । खानी माफियाले विपन्न समुदायका व्यक्तिको जमिन सस्तोमा खरिद गरी तथा लिज -भाडा) मा लिएर उत्खनन गर्दै आइरहेका छन् ।

'हामीले अवरोध गर्न खोजेपछि जनप्रतिनिधिले चासो लिएर २/४ दिनसम्म खानी बन्द हुन्छ,' महुलियाका अवधेशकुमार यादवले भने, 'फेरि उस्तै, बस्तीमा टिपर हुँइकिएको हुइकिँयै हुन्छ, बस्ती वरपर जताततै एक्साभेटर र जेसिबी दिनरात चलेको चल्यै हुन्छ ।' स्थानीयका अनुसार महुलिया, जोगिया टोल, महुवा डाडा, कसहालगायत आधा दर्जन क्षेत्रबाट रातदिन गरी दैनिक एक हजार टिपरले गाउँ थर्काउने गरेरै ग्राभेल ढुंगा र माटो ओसार्छन ।

उत्खननले खेतीयोग्य जमिनमा खाल्डाखुल्डी भएका छन् । बर्खामा सानातिना पोखरीझैं देखिन्छ । खानी क्षेत्रका वडाध्यक्ष पुष्पलाल तामाङले आफूले पटक-पटक खानी उत्खनन गर्ने गिरोहलाई रोक्ने प्रयास गरे पनि नसकिएको बताए ।

'खानीको अवैध उत्खननमा जिल्लास्थित राजनीतिक दलका केही नेताकै संलग्नता भएकाले वडाको प्रयासबाट मात्रै नियन्त्रण गर्न सम्भव छैन,' उनले भने, 'रोक्न प्रयास गरे पनि उनीहरूले नगरपालिकामा राजस्व तिरिरहेका छौं भन्ने गरेका छन्, नगरपालिकालाई परिपत्र गरी के कति मात्रामा उत्खननका लागि स्विकृति दिइएको छ भनी सोध्दा अहिलेसम्म नगरपालिकाबाट जवाफ आएको छैन ।'

अवैध उत्खनन भइरहे यस क्षेत्र केही वर्षमै मरुभूमिमा बन्ने भएपछि कसहा बजार समितिले ग्राभेल ढुंगा ओसार पसारमा नियन्त्रणका लागि पहल थालेको छ । धनगढीमाई नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गजेन्द्रनाथ शर्माले खानी उत्खननका लागि नगरपालिकाबाट कामत कन्स्ट्रक्सन, सुरेश निर्माण सेवा, मनि र तिरुपति कन्स्ट्रक्सनले खानी तथा खनिज पदार्थसम्बन्धी व्यवस्था गर्न बनेको ऐन २०७४ अनुसार अनुमति लिएको जानकारी दिए । तर ऐनमा उल्लेख भएअनुसार राजश्व तिरेर शून्य दशमलव २५ वर्गमिटरभन्दा बढी जमिनबाट खानीजन्य पदार्थ उत्खनन गर्न पाइँदैन ।

खानी तथा खनिज पदार्थ ऐन, २०४२ अनुसार नेपालभित्र निजी वा सरकारी स्वामित्वमा रहेको जुनसुकै जमीनको सतह वा भूगर्भभित्र रहेको वा पाइएको सम्पूर्ण खनिज पदार्थ नेपाल सरकारको सम्पत्ति हुनेछ । त्यस्तो खनिज पदार्थ उत्खनन गर्न सोही ऐनको प्रावधान पुर्‍याउनेलाई खानी तथा भूगर्भ विभागले अनुमति प्रदान गर्छ ।

यस्तै, स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ११ को उपदफा २ (प) अनुसार, ढुंग, गिट्टी, बालुवा, नुन, माटो, खरीढुंगा तथा स्लेट जस्ता खानीजन्यवस्तुको सर्वेक्षण, उत्खनन तथा उपयोगको दर्ता,अनुमति, नवीकरण, खारेजी र व्यवस्थापन स्थानीय तहले गर्ने प्रावधान छ ।

प्रकाशित : जेष्ठ ४, २०७६ ०९:१२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×