कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

उखु छोडेर परवल खेती

ओमप्रकाश ठाकुर

सर्लाही — जिल्लाको उत्तरी क्षेत्रका किसान उखु छाडेर परवल खेती तर्फ आकषिर्त हुन थालेका छन् । उखुभन्दा दोब्बर आम्दानी हुन थालेपछि परवलतर्फ किसानको आकर्षण बढेको हो ।

गाउँ नजिकै चिनी उद्योग भए पनि उनीहरू उखु खेती गर्दैनन् । उत्तरी क्षेत्रका किसानले उखु खर्चिलो र झन्झटिलो भएकाले परवल खेतीमा आकर्षण बढेको बताएका छन् ।


किसानका अनुसार वैशाखदेखि कात्तिकसम्म प्रत्येक साता परवल बेचेर बिघाको २५ हजार नगद आम्दानी हुने गरेको छ । 'उखु खेती झन्झटिलो र खर्चिलो छ, उखु बेचेको पैसा पनि किसानले समयमा पाउँदैनन्, तर परवलमा यो समस्या छैन,' हरिवन नगरपालिका-११ का शुभ भण्डारीले भने, 'उखुको मूल्य तय गर्नका लागि संघर्ष गर्नुपर्ने, भुक्तानीका लागि वर्षौं कुर्नुपर्नेभन्दा परवल खेतीमा हप्तै पिच्छे नगद पाइरहेका छौं ।'


कम मिहिनेत र सजिलै उब्जाउन सकिने परवलको बजारको सुनिश्चितता रहेको किसानको भनाइ छ । किसानले उब्जाएको परवल व्यपारीले खरिद गर्न खेतमै पुग्न थालेपछि यहाँका किसान यस खेतीमा केन्दि्रत भएका हुन । अन्य खेतीमा खर्च र मजदुर बढी लाग्ने तर परवल खेतीमा घरका महिलाले पनि गर्न सक्ने भएकाले यो खेती सजिलो भएको स्थानीय इमा भण्डारीले बताईन् ।


'अन्य खेतीमा पटक-पटक खनजोत गर्नुपर्दा महिलालाई समस्या हुन्छ तर मंसिरमा लगाएको परवल समान्य गोडमेल गरेर वैशाखदेखि टिप्न सुरु गर्छु,' उनले भनिन्, 'परवल खरिद गर्ने व्यापारी खेतमै आउने गरेकाले बेच्न कुनै समस्या हुँदैन, हामी घरका महिलाले यो सबै काम गर्छौं ।' वैशाखदेखि कात्तिकसम्म आम्दानी लिन सकिने भएकाले परवल खेती दिनदिनै फस्टाउँदै गएको उनले बताइन् ।


राजमार्ग आसपासका बलौटे दोमट माटोमा अन्य बालीभन्दा परवल सपि्रन थालेपछि एक दशकयता परवल खेती गर्नेको संख्या दिनप्रतिदिन बढदै गएको छ । जिल्लाको हरिवन, लालबन्दी, बरहथवा, बागमती लगायतका ठाउँमा अन्य खेती छोडेर किसानहरू परवल खेतीमा केन्दि्रत हुन थालेका छन् । यस अतिरिक्त जिल्लाको लखनदेहि, चापिनि खोला र वागमती नदीको उत्तरदेखि दक्षिण क्षेत्रसम्मको बगरमा परवल खेती हुने गरेको कृषि ज्ञान केन्द्रले जनाएको छ ।


यस क्षेत्रमा उत्पादन भएको परवल काठमाडौं, पोखरा, बुटवल, वीरगञ्ज, जनकपुर, विराटनगर खपत हुँदै आएको छ । व्यापारीहरूले खेतमा नै गएर परवल खरिद गर्न थालेपछि किसानलाई बजारको चिन्ता छैन । हरिवन, नवलपुर, लालबन्दी, बयलवास र बरहथवामा खुद्रारुपमा पनि परवल बिक्री हुने गर्छ ।


सरकारले उखुमा अनुदान दिएपनि उखु किसान दिनदिनै घट्दै छ तर परवल खेती गर्ने किसानले अनुदान नपाए पनि यसको खेती दिनदिनै बढ्दो छ । उखु खेती गर्दा टोलमा गरिबी रहेको र परवल खेती पछि टोलको गरिबी हटेको किसानहरूको भनाइ छ ।

प्रकाशित : जेष्ठ ४, २०७६ ०९:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?