१९°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २२३

पंक्षीपालन सक्रिय महेश्वर

भरत जर्घामगर

सिरहा — गाउँघरमा व्यावसायिक खेतीपाती, पशुपक्षी पालन छाडेर रोजगारीका लागि युवाहरू विदेसिने क्रम बढिरहेका बेला सिरहा धनगढीमाई नगरपालिका १३ का ५९ वर्षीय महेश्वर श्रेष्ठ भने नयाँनयाँ प्रजातिको पक्षीपालनमा सक्रिय छन् ।

पंक्षीपालन सक्रिय महेश्वर

व्यावसायिक पक्षीपालनबाटै उनले आम्दानी लिन सफल भएका छन् । तीन वर्ष व्यावसायिक हाँस पालन सुरु गरेका महेश्वरको खोरमा अहिले डेढ सय हाँस छन् ।


हाँस पाल्न उनले दुई कट्ठा जग्गामा पोखरी खनाए । हाँससँगै उनले माछा पालन समेत सुरु गरेका छन् । उनीसँग अहिले २५ वटा टर्की, २३ जोडी परेवा र केही स्थानीय जातका कुखुरा पनि छन् । उनले प्रतिगोटा ५ सयका दरले टर्की चितवनबाट किनेर ल्याएका हुन् ।


हाँसले दैनिक २५ अण्डा दिने गर्छन् । उनी प्रतिगोटा २२ का दरले थोक व्यापारीलाई अण्डा बिक्री गर्छन । अण्डाका अलावा हाँसको चल्ला हुर्काउँछन् । चल्लासमेत बिक्री गर्छन । केही महिनापछि टर्कीले अण्डा उत्पादन सुरु गर्ने उनले बताए । टर्कीको अण्डा बजारमा महँगो मानिन्छ । १२ देखि १५ किलोग्रामसम्म तौल हुने टर्कीको मासु महँगोमा बिक्री हुनुका साथै स्वास्थ्यका लागि लाभप्रदक मानिन्छ ।


बिहान उठेदेखि नै हाँस, टर्की, परेवा र माछाको आहारा दिनेदेखि खोर सरसफाइमा सक्रिय रहने उनको दिनचर्या पक्षी र माछाको हेरचाहमा बित्ने गरेको छ । 'शरीर बुढ्यौली हुँदै गए पनि पक्षीको हेरचाहमा सक्रिय हुँदा दिन बितेको पत्तो नै पाइँदैन,' उनले भने, 'घर र खोर वरपरका पक्षी नै मेरो दिनचर्या भएको छ ।'


पंक्षी पालनका अलावा फुर्सद निकालेर समाज सेवामा समेत सक्रिय छन् उनी । समय समयमा पक्षीलाई आहारा दिइसकेपछि उनी गाउँघर निस्कन्छन् र आहारा दिनेबेला भएपछि फेरी घर पुग्छन् । त्यसो त उनको काममा दुई बुहारीले पनि सघाएका छन् । 'पत्नी गोमा २३ वर्षदेखि गाउँकै स्वास्थ्य केन्द्रमा अनमीमा कार्यरत छिन्,' महेश्वरले भने, 'छुट्टीका बेला पत्नी र अरुबेला दुई बुहारीले पंक्षी पालनमा सहयोग गर्छन् ।'


व्यावसायिक पक्षीपालनका अलावा फुर्सद निकालेर गाउँघरमा खानेपानी समितिदेखि विकास निर्माणको काममा समेत नेतृत्व लिन उनी सक्रिय हुने गरेको धनगढीमाई नगरपालिका १३ का वडाध्यक्ष सूर्यमान तामाङले सुनाए । व्यावसायिक पक्षीपालनमा वडामैं उदाहरणीय बनेका महेश्वर श्रेष्ठले गाउँघरमैं जाँगर चलाउन सके आम्दानी र रोजगारीका लागि भौंतारी हिँड्नुनपर्ने बताए । तर, त्यसका लागि आफूमा सीप र जागर जरुरी रहेको उनले सुझाए ।

प्रकाशित : जेष्ठ ४, २०७६ ०९:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?