२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६७

प्रश्नपत्र आउट गर्ने प्रहरी जवानद्वय कारागार

काठमाडौँ — माध्यमिक शिक्षा परीक्षा (एसइई) को प्रश्नपत्र परीक्षा अगावै आउट गर्ने कार्यमा संलग्न रहेको आरोपमा पक्राउ परेका दुई प्रहरी जवानलाई जिल्ला अदालत सिरहाले पूर्पक्षका लागि कारागार पठाएको छ । अदालतका न्यायाधिश गायत्रीप्रसाद रेग्मीको एकल इजलाशले प्रश्नपत्र आउट गर्ने कार्यमा संलग्न रहेको आरोपमा पक्राउ परेका प्रहरी जवानद्वय ब्रहमदेव यादव र दीपेन्द्र मण्डललाई पूर्पक्षका लागि कारागार पठाएको हो ।

प्रश्नपत्र आउट गर्ने प्रहरी जवानद्वय कारागार

प्रहरी जवानद्वय यादव र मण्डल इलाका प्रहरी कार्यालय कल्याणपुर सिरहामा कार्यरत रहेका थिए । प्रश्नपत्र सार्वजनिक गरेको आरोपमा पक्राउ परेका सप्तरीको राजविराज नगरपालिका–१० निवासी विष्णुदेव यादव र अरोजकुमार यादवलाई जनही रु एक लाख ५० हजार धरौटीमा रिहा गर्न आदेश गरिएको अदालतले जनाएको छ ।


त्यस्तै राजविराज नगरपालिका–१६ निवासी शिक्षक मनोज यादव, सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–१ निवासी १७ वर्षीय राजेश यादव, सोही ठाउँका १७ वर्षीय उमेश यादव र तराकान्त इसरलाई जनही रु एक लाख धरौटीमा रिहा गर्न आदेश दिइएको जनाइएको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईवी)का प्रहरी नायब महानिरीक्षक नीरजबहादुर शाहीको नेतृत्वको टोलीले गत चैत १४ गतेको विज्ञान र १५ गतेको सामाजिक विषयको प्रश्नपत्र प्रहरी जवानद्वय यादव र मण्डलमार्फत परीक्षा अगावै सार्वजनिक भएको भन्दै उहाँहरुलाई पक्राउ गरेको थियो । पक्राउ परेकामाथि प्रहरीले सरकारी लिखत किर्ते र परीक्षा मर्यादा विपरीत कार्य सम्बन्धित मुद्दा चलाएको हो ।


इलाका प्रहरी कार्यालय कल्याणपुरमा राखिएको स्थानबाट निकालेर फोटो खिची ब्रहमदेवले इमोमार्फत आफ्नो दाई विष्णुदेव यादवलाई पठाएको अनुसन्धानबाट खुलेको थियो । भाई ब्रहमदेवले पठाएको प्रश्नपत्र विष्णुदेवले सामाजिक सञ्जालमार्फत शिक्षक रहेका मनोजलाई प्रश्नपत्रको फोटो पठाएका थिए । त्यसपछि मनोजबाट उमेश हुँदै अन्य व्यक्तिसम्म प्रश्नपत्र पुगेको थियो ।


गाडी नियन्त्रणमा


म्याद गुज्रिएको चिसो पेय पदार्थ बिक्री गरेको आरोपमा स्थानीयले आज सिरहाको मिर्चैयाबाट डिलरको गाडीसहित एकलाई नियन्त्रणमा लिई प्रहरीलाई बुझाएको छ । म्याद गुज्रिएको कोकाकोला, फेन्टा, डिउलगायतका चिसो पेय पदार्थ बिक्री गरेको आरोपमा पेय पदार्थका लहानस्थित अधिकृत बिक्रेता डिलरको ना १ क ३५२६ नम्बरको पिकअप भ्यानसहित गाडी चालकलाई नियन्त्रणमा लिई स्थानीयले इलाका प्रहरी कार्यालय मिर्चैयामा बुझाएको हो ।

प्रकाशित : वैशाख २२, २०७६ १९:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?