१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

हावाहुन्डरी पीडित : सेनाले थाल्यो घर निर्माण

एकैसाथ १२ स्थानमा घर निर्माणको शिलान्यास, एउटा सानो परिवारलाई पुग्ने शौचालय, भान्साकोठासहित २ कोठे घर निर्माण हुने 
पवन यादव

पुरैनिया (बारा) — बारा र पर्सामा चैत १७ को विनाशकारी हावाहुरीले पूर्ण क्षति बनाएको एक हजार ४ सय ५३ घर निर्माण कार्य नेपाली सेनाले शनिबारबाट औपचारिक रूपमा शुरु गरेको छ ।

हावाहुन्डरी पीडित : सेनाले थाल्यो घर निर्माण

रक्षामन्त्री ईश्वर पोखरेल सहितका उपप्रधानमन्त्रीहरू, मन्त्रीहरू, प्रदेश २ का मुख्यमन्त्री समेतले एकै साथ १२ स्थानमा घर निर्माणको शिलान्यास गरेपछि निर्माण कार्य सुरु भएको हो । जनता आवास निर्माण आयोजनामार्फत घरहरूको निर्माण थालिएको हो ।

जिल्लाको पुरैनिया, भलुही भरवलीया, हर्दिया, प्रसुरामपुर, तेलगाई, बेनौली, रमपुरवा, चैनपुर सहित ९ र पर्साको जगरनाथपुर, डकैला बहुअरि र उदयपुरघुर्मीमा गरी १२ ठाउँमा एकैसाथ घर निर्माण कार्य सुरु भएको छ ।


उपप्रधानमन्त्रीद्वय ईश्वर पोखरेल र उपेन्द्र यादव, गृहमन्त्री रामबहादुर थापा, ऊर्जा तथा जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुन, भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले शिलान्यास गरेको नेपाली सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेयले बताए । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डित, महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री थममाया थापा, सहरी विकास मन्त्री मोहम्मद इस्तियाक राई, खानेपानी मन्त्री विना थापा मगर र भूमि व्यवस्था सहकारी मन्त्री पद्माकुमारी अर्याल लगायतको सहभागिता थियो ।


उपप्रधान तथा रक्षामन्त्री पोखरेलले तत्काल आवासका लागि घर बनाउन लागे पनि सरकारले एकीकृत बस्तीको योजना ल्याउने जनाए । यस्तै, उपप्रधान तथा स्वास्थ्यमन्त्री यादवले बाराको चैनपुरमा शिलान्यास गरी घर निर्माण कार्यको औपचारिक शुभारम्भ गरे । ऊर्जा तथा जलस्रोत सिँचाइमन्त्री पुनले पर्साको जगरनाथपुर २२ मा घर निर्माणको शिलान्यास गरे ।


घर निर्माणका लागि २ हजारभन्दा बढी सेना फिल्डमा खटिएको सेनाका प्रवक्ता पाण्डेयले बताए । उनका अनुसार एउटा सानो परिवारलाई पुग्ने शौचालय, भान्साकोठा सहित २ कोठे घर निर्माण थालिएको हो । भित्ता सिमेन्टको र छानो जस्ता (ट्रष्ट) को लाग्छ । कुल १४ सय ५३ घर बनाउनु पर्छ ।


जसमध्ये पर्सामा ९१ र बारामा एक हजार ३ सय ६२ घर बन्ने छ । १२ वटा ग्रुप (कलस्टर) मा घर निर्माण कार्य सुरु गरिएको छ । १२ वटै समूहले निर्माण थालेको घरको शिलान्यास शनिबार भएको उनले जनाए । शिलान्यास गर्न मन्त्रीहरू २ वटा हेलिकप्टरमा पुगेका थिए । सेनाका रथी गौरव टण्डनले सेनामाथि वर्षा अगाडी नै घर निर्माण गर्नु पर्ने चुनौती थपिएको बताए ।


यस कार्यमा सेनाले एक्लै भ्याउन नसक्ने भएकोले स्थानीयहरूको सहयोगको खाचो पर्ने र आफूहरूले स्थानीयहरूबाट पनि सहयोग पाउनमा विश्वस्त रहेको बताए । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत गद्दीले केपी ओली नेतृत्वको सरकारले हुरी पीडितहरूको समस्या बुझी घर निर्माणको जिम्मा सेनालाई दिएको कार्य सराहनीय भएको बताए ।


सार्वजनिक खरिद नियमवालीले झनझटिलो र लामो समय लाग्ने भएको देखेर नै सेनालाई निर्माणको जिम्मा दिइएको कार्य पनि राम्रो र समय सान्दर्भिक रहेको उनको भनाइ थियो । उपप्रधान तथा रक्षामन्त्री पोखरेल हुरीबाट घरवारविहीन बनेकाहरूलाई साउन दोश्रो साताभित्र नै नया घर निर्माण गर्नु पर्ने भएकोले यसको निर्माण गर्न सरकारले नेपाली सेनालाई जिम्मा दिएको बताए ।


वर्षाअघि नै क्षति भएको घरहरूको पुनर्निर्माण गर्नको लागि ३ चरणमा यसको कार्य अगाडि बढाइने योजना रहेको निर्माण कार्यमा समन्वय गरि रहेका सेनाका चन्दन गणका गणपति कर्णेल पारसविक्रम शाहले जानकारी दिए । पहिलो चरणमा एक महिना भित्रमा सकिने गरि चार सय ८२ वटा घरहरू निर्माण गरिने र त्यसै गरि दोस्रो र तेस्रो चरणमा गरी साउन अन्तिम साता सम्ममा पूर्ण क्षति भएका घरहरूको निर्माण कार्य पुरा गर्ने लक्ष्य लिइएको उनले बताए ।


हुरी पीडितको लागि निर्माण गर्न लागिएको घरमा दुई वटा कोठा एउटा बरन्डा र एउटा बाथ रुम रहेको जनता आवास कार्यदलका सदस्य नेपाली सेनाका इन्जिनियर महेन्द्र सिजापति थापाले बताए । सेनाले जिम्मा पाएको एउटा घरको निर्माण कार्यमा मूल्य अभिबृद्धि करसहित ५ लाख ४५ हजार खर्च हुने उनले जनाए ।


हुरीबाट बाराका ८ वटा स्थानीय तहको विभिन्न गाउँहरूमा गरी पूर्ण रूपले क्षति भएको एक हजार ३ सय ६२ घरहरू पहिलो प्राथमिकतामा राखेर निर्माण कार्य अगाडि बढाइएको सेनाले बतायो ।

प्रकाशित : वैशाख २२, २०७६ १०:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?