कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सम्झिइए मिथिला सहिद

जनकपुर — ७ वर्षअघि जनकपुरको रामानन्द चोकमा गराइएको वम विष्फोटमा परि ज्यान गुमाउने पाँच सहिदलाई बुधबार संझिइएको छ । सहिदको तस्बिरमा फूलमाला तथा अविर लगाएर श्रद्धाञ्जली व्यक्त गरिएको थियो ।

सम्झिइए मिथिला सहिद

मिथिला राज्य संघर्ष समितिका अध्यक्ष परमेश्वर कापडि, मैथिली विकास कोषका अध्यक्ष जीवनाथ चौधरी, मिथिला नाट्यकला परिषद्का अध्यक्ष परमेश झा, रामानन्द युवा क्लवका अध्यक्ष मनमोहन साह, पूर्व ध्यक्ष नविन मिश्र, मधेस अधिकार संघर्ष समिति-मास)का अध्यक्ष सरोजकुमार मिश्रलगायतले श्रद्धाञ्जली व्यक्त गरे ।


'मिथिला प्रदेश' नामकरण गरिनुपर्ने माग राखी मिथिला राज्य संघर्ष समितिको आह्वानमा २०६९ वैशाख १८ गते रामानन्द चोकमा शान्तिपूर्ण धर्नामा बसेको बेला गराइएको बम विस्फोटमा परी पाँच सर्वसाधारणको मृत्यु र ३३ घाइते भएका थिए ।


विष्फोटमा परी चर्चित अभिनेतृ रन्जु झा, जनकपुर-८ बलवा टोलका ३५ वर्षीय विमल शरण, रिक्सा चालक तथा प्रचारक झगरु दास तथा जनकपुर ८ कै सुरेश उपाध्यायको सोही दिन र दीपेन्द्र दासको उपचारको क्रममा काठमाडौंमा मृत्यु भएको थियो ।


विस्फोटमा परी संघर्ष समितिका संयोजक परमेश्वर कापडि, नेपाली काग्रेस जनकपुर नगर कमिटीका तत्कालीन सभापति धीरेन्द्र मोहन झा, जनकपुर उद्योग वाणिज्य संघका तत्कालीन अध्यक्ष शिवशंकर साह हिरा, रामानन्द युवा कमिटीका पूर्वअध्यक्ष रमेश ठाकुर, अध्यक्ष मनमोहन साह, स्टेसन एरिया युवा क्लबका तत्कालीन अध्यक्ष देवु यादव घाइते भएका थिए ।


शक्तिशाली बम रिमोट कन्ट्रोलमार्फत विस्फोट गराइएको अनुसन्धानको क्रममा खुलेको थियो । सप्तरीका जयप्रकाश देवलाई स्थानीय युवाले रिमोटसहित पक्राउ गरेपछि घटना सार्वजनिक भएको थियो ।


घटनाको जिम्मेवारी जनतान्त्रिक तराई मुक्ति मोर्चाका अध्यक्ष राजन मुक्ति तथा तत्कालीन सशस्त्र समूह सञ्चालन गर्दै आएका अर्जुन सिंह भन्ने मुकेश चौधरीले लिएका थिए । हाल राजन मुक्ति तथा मुकेश चौधरी दुवै पुर्पक्षमा जेलमा छन् । पक्राउ परेका आरोपीहरूको बयानको आधारमा धनुषा ४ बाट विजयी तत्कालीन सभासद संजय कुमार साह पनि यस बम काण्डमा आरोपी बनाइएका थिए । पूर्वसांसद साह जनकपुरका व्यवसायी अरुण सिंहानिया हत्या प्रकरणमा धनुषा अदालतबाट दोषी ठहर भइसकेका छन् । रमानन्द चोक वम विष्फोट प्रकरणमा समेत पुर्पक्षमा छन् ।


मिथिला राज संघर्ष समितिका अध्यक्ष परमेश्वर कापडीले वर्तमान सरकारले संघीयताको ग्यारेन्टी गरे पनि प्रदेश २ को नामकरण मिथिला प्रदेशको रुपमा गरिनु पर्ने माग गरेका छन् । 'यस प्रदेशको नामकरण मिथिला प्रदेश भयो भने पाँचै जना सहिदको आत्मालाई शान्ति मिल्ने छ,' कापडीले भने ।

प्रकाशित : वैशाख १९, २०७६ १०:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?