कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

दलित बस्ती बिक्री गर्नेलाई कारबाही

सिरहा — मिर्चैया नगरपालिकाभित्र झन्डै ९० वर्षदेखि बसोबास रहेका दुई वटा दलित बस्ती बिक्री गर्ने काममा संलग्न वडाध्यक्ष र कर्मचारी कारबाहीमा परेका छन् । जिल्ला प्रशासन कार्यालय सिरहाले उनीहरूलाई कारबाहीको दायरामा ल्याएको छ ।

मिर्चैया नगरपालिका ७ स्थित फूलबरियामा ६ कट्ठा र सोही नगरपालिकाको वडानम्बर ९ स्थित रम्पुराको ७ कट्ठा १० धुरमा बसोबास गरेका दलित बतीलाई गत स्थानीय तहमा निर्वाचित वडाध्यक्षले बस्ती र बाटो नभएको सिफारिस गरिदिएपछि बिक्री भएको थियो ।

वडाध्यक्षहरूले दिएको सिफारिसका आधारमा बस्ती नै बिक्री भएपछि जिल्ला प्रशासन कार्यालय सिरहामा उजुरी परेको थियो । उजुरीको छानबिन गर्दै जिल्ला प्रशासन कार्यालयले त्यसमा संलग्न दुई वडाध्यक्ष, पाँच जग्गा कारोबारीका साथै मालपोत र नापी कार्यालयका कर्मचारीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी गरेको छ ।

जग्गा घोटालामा मिर्चैया नगरपालिका ७ र ९ का वडाध्यक्षहरू क्रमशः रामकुमार यादव र मोहन पोखरेल मुछिएका छन् । वडाध्यक्षहरूको सिफारिसको आधारमा मालपोत कार्यालयले मिर्चैया–७ को करिब २३ घर र मिर्चैया–९ को करिब १६ घर रहेको चमार बस्ती व्यक्तिको नाममा पास गरेको छ ।

वडा नम्बर ९ को बस्ती कल्याणपुरका भरत यादवले २०७५ जेठ १७ गते कल्याणपुरकै रामपरीक्षण यादवलाई बिक्री गरेको कागजातमा देखिन्छ । त्यस्तै, वडा नम्बर ७ का रामेश्वर साह, दीपनारायण साह, सत्यनारायण साह र श्रवण कुमार साहले मंसिर ९ गते छिमेकमा रहेको सिङ्ढो दलित बस्ती धनुषा रघुनाथपुरका सुरेश कुमार महतोलाई बिक्री गरेको देखिन्छ ।

वडाध्यक्षद्वय यादव र पोखरेलले वर्षौंदेखि दलित समुदाय बस्दै आएको ती जग्गामा घर, बाटो केही नभएको भनि सिफारिस गरेका थिए । बस्तीका पुराना बासिन्दा ६५ वर्षीय घुरन रामका अनुसार ती जग्गामा झण्डै ९० वर्षदेखि दलित जातिका मोची (चमार) समुदायको बसोबास रहदै आएको छ ।

‘वडा कार्यालय सामुन्ने कै वस्तीमा बाटो, घर केही छैन भनेर वडाअध्यक्षहरूले सिफारिस गरेको आधारमा मालपोतले जग्गा पास गरेको देखियो’ प्रमुख जिल्ला अधिकारी रुद्र प्रसाद पण्डितले भने ‘घर, बाटो र बस्ती सबै कुरा भएको जग्गामा घर, बाटो, बस्ती नभएको भनी सिफारिस गर्दा उक्त जग्गाको मूल्यांकन कम हुने भई राजस्वमा समेत छली हुने देखियो । मैले यही कुरालाई मुख्य आधार बनाएको हुँ ।’

मिर्चैया ७ का राम महरा न्याय माग्न जिल्ला प्रशासन कार्यालय पुगेपछि अनुसन्धान थालनी गरिएको प्रमुख जिल्ला अधिकारी पण्डितले बताए । उनका अनुसार त्यसक्रममा पुस्तौंदेखि दलित बसोबास रहेको साविक फुलबरिया ८ हाल मिर्चैया ७ ‘ख’ को किक्ता नं. ९ को जग्गा जालसाजीमा बित्री गरेको पुष्टि भएको देखिन्छ ।

वडाध्यक्ष यादवको सिफारिसमा मालपोत कार्यालयले न्युनतम रकम राखेर चार जनाको नाममा पहिले नामसारी गरिदिएको देखिन्छ । तीन हप्तामा सोही किक्ताका जग्गाहरूमा रघुनी महरा समेतका व्यत्तिहरूले घर बनाई पुस्तौंदेखि बसोबास गरेको, बाटो, बिजुली, खानेपानी सबै सुविधा भएको सिफारिस वड ध्यक्ष यादवले नै गरेको पाइएको छ ।

जिल्ला प्रशासन कार्यालय सिराहाले अख्तियारमा गरेको ऊजुरीमा लेखिएको छ–बिक्रेता, त्रेता र स्थानीय जनप्रतिनिधिले यथार्थ जानकारी नदिई पहिले सूचना लुकाएको र लिखत पारीत भइसकेपछि घर, बाटो भएको भनी पुनः सिफारिस गरेको पाइएको छ । यस्तै, वडा नम्बर ९ का वडाध्यक्ष पोखरेलले आफू दैनिक ओहोर दोहोर गर्ने फुलबरिया टोलको नक्सा १ ‘ङ’ अन्तर्गत कित्ता नम्बर १८ को ७ कठा १० धुर जग्गामा घर, बाटो केही पनि छैन भनेर प्रमाणित गरेका थिए ।

बस्ती बेचबिखनमा भूमाफिया सक्रियता देखिएकाले कारवाहीको दायरा बढाएको प्रशासनले जनाएको छ । जिल्लाका अन्य सरकारी जग्गामा समेत भूमाफियाले जग्गा किनबेच गरेको हुनसक्ने आशंकामा प्रशासनले जग्गाको स्रेस्ता खोजी सुरु गरेको छ ।

प्रकाशित : वैशाख १७, २०७६ ०९:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?