३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७९५

श्रीमतीले छल गरेपछि....

शाहीमान राई

जनकपुर — तराई मधेसमा दाइजो, बालविवाह, अनमेल विवाह, कुटपिट जस्ता महिलामाथि घरेलुहिंसाका समाचार सुन्ने गरिएको छ । तर महिलाले पुरुषलाई हिंसा गरेको समाचार प्रायः आउँदैन । महिला हिंसाविरुद्ध सामाजिक अभियान व्यापक भएपछि पुरुषमाथिको हिंसा ओझेलमा परे पनि महिलाले पुरुषलाई हिंसा गरेको प्रतिनिधि घटना सार्वजानिक हुन थालेका छन् ।

प्रदेश २ को केन्द्र जनकपुरका एक जना युवालाई सासु ससुरा र श्रीमती मिलेर उठिबास लगाएको घटना सार्वजनिक भएको छ । जनकपुरधाम उपमहानगरपालिका–५ मालीटोलका ४६ वर्षीय विजय साहले आफ्नो पुर्ख्यौली घर जग्गा र नगद समेत ससुरालीले एकलौटी बनाएर घरबाट बाहिर निकालेपछि मात्र उठिबास लगाएको थाहा पाएको बताए ।


डिभी चिठ्ठा परेर २४ वर्षदेखि अमेरिका बस्दै आएका साहको पुर्ख्यौली १३ धुर जग्गामा बनेको घर र अंशमा परेको एक कठ्ठा जमिन ससुरालीले जालझेल गरेर आफ्नो नाममा मालपोत रजिष्ट्रेसन पास गरेको खुलासा गरेका छन् । सन १९९५ मा अमेरिका गएका साहले १५ वर्षअघि छिमेकी वृजनन्दन प्रसाद साह र मन्जुदेवी साहकी छोरी सरिता साहसित मागी विवाह गरेका थिए ।


उनका अनुसार विवाह गरेपछि केही वर्ष आमा गुलावदेवी र श्रीमतीलाई सँगै छाडेर अमेरिका गएका बेला पत्नी सरिताले घरजग्गा आफ्नो नाममा पास गरिदिन दबाब दिन थालिन् । बाबुको मृत्युपछि आमा गुलावदेवीको नाममा नामसारी भइआएको कित्ता नं १८६ को पुर्ख्यौली घरजग्गा र अंशबापत पाएको जनकपुरधाम उपमहानगरपालिका ४ स्थित परिक्रमा सडक छेउको एक कठ्ठा जमिन

आफ्नो नाममा पास गरिदिन दवाव दिदै आएकी थिइन् ।


बुहारीको दवाव थेग्न नसकेर अमेरिकामै बस्दै आएका आमा गुलावदेवीले २०६८ असार २१ गते धनुषा जिल्ला अदालतको पत्रअनुसार अमेरिकाको वासिङटनडिसिस्थित नेपाली राजदुतावासका राजदुत डा.शंकरप्रसाद शर्मामार्फत प्रमाणित गराई विजयको पत्नि सरिता साहको नाममा कित्ता नं १९६ को घरजग्गाको अधिकृत वारेसनामा दिएकी थिइन् ।


तर सरिताले सोही वारेसनामाको आधारमा २०६८ चैत २२ गते आफ्नो श्रीमान् विजय, दुई जना जेठाजु रामलाल साह र श्रीराम साहसमेतको अंशमा हक लाग्ने कित्ता नं १८६ को १३ धुरजग्गा र श्रीमान विजयको नामको एक तले घरसहितको एक कठ्ठा जमिन बाबु वृजनन्दन प्रसाद साह र आमा मन्जुदेवी साहको नाममा मालपोत रजिष्ट्रेसन पास गरिदिएको पीडित साहले मंगलबार पत्रकार सम्मेलन गरी आफ्नो वेदना सुनाए ।


मालपोत कार्यालयको जग्गा राजिनामाको तमसुक अनुसार सरिताले सासुको घरजग्गा दश लाख ६० हजार रुपैयाँमा आफ्नै बाबुलाई बिक्री गरेको देखिन्छ । तर उक्त जग्गाको बजारमूल्य प्रतिधुर २५ लाख रुपैयाँका दरले तीन करोड २५ लाख रुपैयाँ पर्छ । अर्को जनकपुरको परिक्रमा सडकले छोएको घरसहित एक कठ्ठा जमिनको मुल्य ५ करोड रुपैयाँ पर्ने उनका दाजु रामलाल साहले बताए ।


पछिल्लो समय श्रीमती सरिता, दश वर्षीय छोरा आदित्य साह र अर्को छोरा ८ वर्षीय अंकित साहसहित अमेरिकामै बस्दै आएको विजय साहले बताए । पााच दिनअघि पूर्ख्यौली घरजग्गा आफ्नो नाममा नामसारी गर्न अमेरिकाबाट पारिवारिक सल्लाहअनुसार ससुराली घर आइपुग्दा ससुरालीले बासै नदिएपछि छाँगाबाट खसेजस्तो भएको बताए ।


उनलाई ससुरा वृजनन्दन, सासु मन्जुदेवी, श्रीमतिका भाइहरू राजेश र दीपक साहले कुटपीट, दुरव्यवहार समेत गरेको सुनाए । ससुराली पुग्दा सासु ससुराले विजयको सम्पूर्ण घरजग्गा छोरीबाट आफूले किनेको जवाफ दिएपछि आफूलाई उठिवास लगाएको महसुस गरेको पीडित विजय साहले बताए । ‘उनी अमेरिका जानुअघि पतिको सबै चलअचल सम्पति आमाबाबुलाई रजिष्ट्रेसन पास गरिदिएकी रहिछन्,’ पीडित साहले भने, ‘जग्गाजमिन आफ्नो नाममा पास गरेर फर्किनका लागि मलाई श्रीमतीले नै पठाएको हो, तर यो के भइरहेको हो बुझ्नै सकेको छैन ।’


अमेरिकामा ट्रक चालकको काम गर्दै आएका साहले २४ वर्षको बसाइमा ससुरालीलाई १५ लाख रुपैयाँभन्दा बढी नगद पनि दिएको बताए । यसवाहेक अमेरिकामा तीन लाख डलर (करिब साढे तीन करोड रुपैंयाँ) मा एक तले घर किनेको बताए । त्यही घरमा श्रीमती र छोराहरू बस्दैछन् । तर ससुरालीको कुटाइ र दुर्व्यवहारपछि श्रीमतीले सम्बन्धविच्छेद माग्न थालेको विजय साहले बताए ।


‘अमेरिकी कानुनअनुसार सम्बन्धविच्छेद मागेपछि भइहाल्छ, तर ५० प्रतिशत सम्पत्ति पनि दिनुपर्ने हुन्छ,’ पीडित साहले भने, ‘विदेशमा धेरै दुःख गरें, अहिले घर न घाटको भएँ, सबै सम्पत्ति ससुरालीले लिए, अर्कोतिर श्रीमती पनि पारपाचुके माग्दैछिन् ।’ यतिबेला श्रीमतीसित सम्पर्क समेत हुन नसकेको बताए । ‘मेरो आइफोन खोसिएपछि अर्को सेटवाट सम्पर्क गर्दा सम्पर्क हुन सकेको छैन,’ उनले भने, ‘अब मसित सम्पत्तिको नाममा पासपोर्ट बाहेक केही छैन ।’


सगोलमा रहेको पुर्ख्यौली जमिन पत्नी सरिताले बाबुआमालाई राजीनामा पास गरिदिएपछि दाजुहरू रामलाल र श्रीरामसित सम्बन्ध बिग्रिएको छ । उनीहरूले आमाको नामको जग्गा तीन भागमा एक एक भाग पाउनुपर्ने माग गर्दै आएका छन् ।

प्रकाशित : वैशाख १६, २०७६ ०९:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?