कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

नागरिकता लिनेको भीड

सर्वोच्च अदालतको फैसलापछि वंशजका आधारमा नागरिकता लिने बढे

सर्लाही — जिल्ला प्रशासन कार्यालयमा केही दिनयता सेवाग्राहीको चाप बढेको छ  । सर्वोच्च अदालतले जन्मसिद्ध नागरिकता पाएका अभिभावकलाई वंशजका आधारमा नागरिकता दिन सरकारलाई निर्देशन दिएपछि यहाँ सेवा लिनेको भीड देखिएको हो  ।

नागरिकता लिनेको भीड

यसअघि जन्मसिद्ध नागरिकता लिएका अभिभावकका छोराछोरीलाई वंशजका आधारमा दिन गृहले पत्राचार गरे पनि सर्वोच्चले नदिन अन्तरिम आदेश गरेको थियो । अहिले फेरि जन्मसिद्ध नागरिकका छोराछोरीलाई वंशजको नागरिकता दिनुपर्ने सर्वोच्चकै फैसलापछि नागरिकता लिने बढेको हुन् । वर्षौदेखि बसोवास नेपालमै भए पनि जन्मसिद्ध नागरिकका छोराछोरी नागरिकता पाउनबाट वञ्चित थिए ।


नागरिकता नहुुँदा उनीहरूलाई पठनपाठन, स्वदेशमा रोजगारी, वैदेशिक रोजगारी, व्यापार ब्यवसाय, बैंकिङलगायत काम गर्न सकिएको थिएन । नागरिकता पाउन थालेपछि उनीहरू खुसी छन् । ‘जिल्ला प्रशासनबाट जन्मसिद्ध नागरिकता छोराछोरीलाई दिन थालेपछि निकै खुसी छु, म पनि नागरिकता बनाउन आएको हुँ,’ कविलासी नगरपालिका ७ गैरका सरोज साहले भने, ‘अब व्यापार व्यवसाय र स्वदेशी तथा वैदेशिक रोजगारीको बाटो खुलेको छ ।’ साहजस्तै सर्लाहीमा जन्मसिद्धका छोराछोरी वंशज नागरिकता माग गर्दै जिल्ला तथा इलाका प्रशासनमा कागजात पेश गरेका थिए ।

यसैका लागि यहाँ दैनिक सयौंको संख्यामा जिल्ला प्रशासन पुगेपछि प्रशासनले भीड नियन्त्रणका लागि टोकन प्रणाली सुरु गरेको छ । नागरिकता लिनेको भीडका कारण कागजात पेस गरेको २० दिनपछि मात्र पालो आउने गरेको छ । सेवाग्राहीको भीड साविकको भन्दा ५ गुणा बढेपछि प्रशासनले टोकन प्रणाली अपनाएको हो ।प्रमुख जिल्ला अधिकारी द्रोण पोखरेलले सर्वोच्च अदालत र गृह मन्त्रालयको निर्देशनअनुसार जन्मसिद्ध नागरिकको छोराछोरीले नागरिकता पाइरहेको बताए ।

उनले जन्मसिद्ध नागरिकता पाएका बावुआमाका सन्तानले मात्र वंशजका आधारमा नागरिकता पाउने बताए । ‘कागजात पेस गरेपछि वास्तविक नागरिकलाई कानुनले तोकेबमोजिम सेवा लिन कुनै झन्झट छैन, प्रजिअ पोखरेलले भने, ‘निकै भीडभाड बढेकाले काम गर्न सहज होस् भनेर पालो राखिएको हो, कागजात पेश गरेकाले पालोअनुसार नागरिकता लिएर जाने गरेका छन् ।’


बुवाआमाको सक्कल नागरिकता, सक्कल जन्मदर्ता, नाता प्रमाणित, स्थायी बसोबास प्रमाणित र आवश्यक परे प्रहरी सर्जमिनसहितका प्रमाणका आधारमा जन्मसिद्ध नागरिकका सन्तानलाई वंशजको नागरिकता प्रदान गरिएको छ । जिल्ला प्रशासनको तथ्यांकअनुसार जिल्लामा १५ हजार ५ सय ७८ जन्मसिद्धका आधारमा पाएका नागरिक छन् ।

प्रकाशित : वैशाख ११, २०७६ ११:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?