१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४७

तरकारी बेचेर मनग्य आम्दानी

पवन यादव

सिमरा — कलैया उपमहानगरपालिका ८ बरेवाका बद्री महतो कोइरीको दिन अहिले तरकारी बारीमै बित्ने गरेको छ । बिहान उठेपछि नित्य करम पुरा गरेर उनी गाउ नजिकै रहेको काउली बारीमा पुग्छन । उनको पछिपछि छोराहरू गगनदेव कुशवाहा र सिकिन्द्र कुशवाहा पनि खेतमा पुग्छन । 

तरकारी बेचेर मनग्य आम्दानी

बाबु खुर्पी लिएर र छोराहरू साइकल, भांगा (ठूलो बोरा) लिएर खेतमा पुग्छन । खेतमा पुगेपछि बाबु काउली छानेर काट्छन । काटिएका काउली संकलन गरेर सडकमा ल्याई भांगामा राख्ने काम छोराहरूको हो । दुवै भाइ कलैया बजारमा पुर्‍याएर थोकमा काउली बिक्री गर्छन । यसपालि काउलीबाट मात्रै ६ लाख बन्दा बढी आम्दानी गर्ने लक्ष्य महतो परिवारले लिएको छ ।

महतो परिवारमा बाबु, छोराहरूको दिनचर्या यसरी नै बित्ने गरेको छ । उनले ५ कठ्ठामा काउली खेती गरेको बताए । २ साता देखी तरकारी बारीबाट बिक्री गर्न लायक काउली निस्कन थालेको उनले जानकारी दिए । ‘दैनिक ४ क्विन्टल जति काउली निस्कन (उत्पादन हुन) थाल्या छ,’ उनले भने, ‘अहिले बजारमा थोक भाउमा काउली बिक्री गर्दा दैनिक १० हजार रुपैयाँ जती आम्दानी गर्न थालेका छौं ।’ तरकारी खेती गर्न लागेको लगानीको प्रतिफल पाउन थालिएको उनले जानकारी दिए ।

उनका अनुसार अहिले कलैया बजारमा थोकमा २५ रुपैयाँ किलोमा काउली बिक्री भईरहेको छ । व्यपारीलाई थोकमा काउली बेच्दा ढाल्टा (क्विन्टलमा १० किलो बढी काउली) दिनु पर्ने बाध्यता छ । ढाल्टा नदिएर आफैंले काउली बेच्दा फाइदा बढी हुन्थ्यो । बीरगंजका व्यापारीलाई ढाल्टा तिर्नु पर्दैन । तर कलैया बजारका व्यापारीलाई अनिवार्य ढाल्टा तिर्नु पर्ने बाध्याता रहेको महतोले बताए । किसानले मिहनेत गरी उत्पादन गरेको तरकारीबाट बजारमा तरकारी बेच्ने व्यपारी बढी फाईदा लिने गरेको उनले जानकारी दिए ।

किसानबाट किनेको काउलीको बिक्री मुल्य बढाएर आम्दानी गर्नुका साथै व्यपारीले ढाल्टा लिएर थप नाफा कमाउने गरेको उनले बताए । ‘किसान भन्दा बढी व्यपारी नै नाफामा छन,’ उनले थपे, ‘उनीहरू जिरो पर्सेन्ट रिक्समा तरकारी बेच्छन ।’ तर किसानले शत प्रतिशत जोखिम मोलेर समय लगाएर तरकारी उत्पादन गर्छन् । तर व्यापारी जति फाइदा कमाउन सक्दैनन् ।

किसानले गरेको उत्पादनको मूल्य पनि व्यपारीले नै आफूखुसी निर्धारण गर्ने गरेको उनले सुनाए । किसानले आफ्नो उत्पादनको मूल्य पनि राख्न पाइँदैन । व्यापारीलाई खुसी पार्न थोकमा काउली बिक्री गरेबापत ४० किलो काउली दैनिक निःशुल्क दिनु पर्ने बाध्यता रहेको खेतको तरकारी बजारमा पुर्‍याउँदै महतोका जेठा छोरा गगनदेव कुशवाहाले बताए ।

बबालुले काटी दिएको काउली भांगामा राखेर साईकलमा लोड गरी खेतबाट झन्डै ३ किलोमिटर पैदल हिंड्नुपर्छ । ‘भाइ सिकिन्द्रले पछाडिबाट साइकल धकेल्छन, म साइकल डोर्‍याउँछु,’ उनले भने, ‘बजार सम्म पुग्दा पुग्दै थाकिन्छ ।’ बजार पुर्‍याएबापत गरेको मिहनेत ज्याला जोडिंदैन । जती मिहनेत बजार पुर्‍याउदा हुन्छ । त्यो सबै किसानले बेहोर्नुपर्ने बाध्याता समेत रहेको उनले जानकारी दिए ।

अहिले आफनो बारीबाट निस्केको एउटा काउली डेढ देखी २ किलो तौलको रहेको उनले दाबी गरे । काउलीको तौल बढेसंगै उत्पादन बढने उनले अनुमान गरे । छिमेकी गाउमा हावाहुरीले बालीनाली बिगारे पछि उनको तरकारी बाली चाही सुरक्षित रहेको उनले बताए । असिनाले बाली बिगार्ने चिन्ताले अझ तौल बढने काउलीलाई बजार पुर्‍याउनु परेको उनले जानकारी दिए । अहिले सम्म डेढ लाख रुपैयाँ बराबरको काउली बजारमा बिक्री गरी सकिएको उनले जानकारी दिए ।

किसानको तरकारी बिक्री गर्न ढाल्टा नलिए व्यपारी घाटामा पर्ने कलैया बजारमा तरकारी बेच्दै आएका व्यपारी जोखन साहले बताए ।

‘किसानबाट किनेको मुल्यमा थोरै थपेर उपझोक्तासंग बित्री गर्नु पर्छ,’ उनले भने, ‘ ढाल्टा नलिए बजारको खर्च धान्नै सकिदैन ।’ हाम्रो पनि बालबच्चा छन । बजारमा बस्न धेरै खर्च लाग्छ । तरकारी पसलको भाडा पनि दिनु पर्छ । खर्च काटेर नाफा घाटा बराबर हुन्छ । व्यपारीलाई ढाल्टावापत लिएको तरकारी आम्दानीको मुख्य स्रोत रहेको उनले जानकारी दिए । कलैया बजारका सबै व्यपारीले किसानबाट ढाल्टा लिने गरेको उनले जानकारी दिए ।

कलैया बजारमा एक सय भन्दा बढी तरकारी बिक्री गर्ने पसल व्यपारीले संचालन गरेका छन । तरकारीको मुल्यमा एकरुपता ल्याउन र किसानलाई सघाउन सम्बन्धित निकायले चासो नदेखाएको किसानको आरोप छ ।

प्रकाशित : वैशाख ८, २०७६ ०९:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?