कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

स्थानीय तहकाे प्राथमिकता सडक

पवन यादव

सिमरा — बाराका २ उपमहानगरपालिकासहित १६ वटै स्थानीय तहले यस आवको बजेटमा सडक पूर्वाधारलाई पहिलो प्राथमिकतामा राखेका छन् । जिल्लाकै जेठो नगरपालिकाका रुपमा रहेको कलैया उपमहानगरपालिकाले १ अर्ब १ करोड २२ लाख ३० हजार रुपैयाँ चालू वर्षको बजेट विनियोजन गरेको छ ।

‍जसमा सडक, भवन निर्माण, नालालगायत भौतिक पूर्वाधारको कामलाई प्राथमिकतामा राखिएको छ । पूर्वाधार निर्माणका लागि झन्डै ३४ करोड रुपैयाँ विनियोजन गरिएको कलैया उपमहानगरपालिका प्रमुख राजेश राय यादवले जानकारी दिए ।


उपमहानगरले दोस्रो प्राथमिकतामा शिक्षा राखेको छ । शिक्षा क्षेत्रको उत्थानका लागी सशर्त र निशर्त गरी झन्डै ३० करोड विनियोजित गरिएको छ । विद्यालय भवन निर्माण, नमुना विद्यालय कार्यक्रम, भत्केको विद्यालयको पर्खाल निर्माण, शौचालयलगायत पूरा गर्न बजेटमा जोड दिइएको उनले बताए ।


त्यस्तै नगर क्षेत्रभित्रका स्वास्थ्य संस्था, अस्पताललाई सुधार गर्न र सेवा विस्तार गर्न सशर्त र निशर्त गरी ११ करोड ४१ लाख रुपैयाँ विनियोजित गरिएको छ । जनप्रतिनिधि अभावमा सेवाको स्तर खस्कँदै गएपछि त्यसलाई सुधार गर्न उपमहानगरपालिकाले प्राथमितासाथ अघि बढिरहेको उनले जानकारी दिए । यहाँका ८० प्रतिशत बासिन्दा कृषि पेसामा निर्भर छन् ।


तर कृषि क्षेत्रको विकासका लागि उपमहानगरपालिकाले बजेटमा प्राथमिकता दिएको देखिँदैन । कलैया उपमहानगरपालिकाले कृषि क्षेत्रको उत्थानका लागि १ करोड १६ लाखमात्र विनियोजित गरेको जनाएको छ । नगर क्षेत्रको जनताको चित्त बुझाउन फुटकर (टुक्रे) योजनाका लागि पनि थोरैथोरै बजेटको योजना ल्याइएको उपमहानगरपालिकाले जनाएको छ ।


नगर क्षेत्रको उत्थानका लागी आकर्षक योजना बनाइए पनि कर्मचारी अभावले प्रभावकारी काम गर्न नसकिएको प्रमुख यादवले बताए । ‘थोरै संख्यामा रहेका कर्मचारीको भरमा काम गर्नुपरेको छ,’ उनले भने, ‘नगरपालिकाको अधिकांश फाँट प्रमुखविहीन छन ।’ वडा कार्यालय र उपमहानगरपालिकामा गरी २ सय ९ जनाको दरबन्दी रहेको उपमहानगर ४० जनाको भरमा चलेको छ ।


एउटा सचिवले २/३ वटा वडाको जिम्मेवारी सम्हालेका छन् । कर्मचारी अभावमा सेवाग्राहीले सोचेअनुरुप सेवा पाउन नसकेको उनले गुनासो गरे । नगर क्षेत्रभित्र सडक पूर्वाधारलाई अगाडि बढाउन साइड क्लियरेन्स गर्न समस्या भइरहेको उनले जानकारी दिए । त्यस्तै जितपुर सिमरा उपमहानगरले पनि भौतिक पूर्वाधार विकासलाई बजेटमा प्राथमिकता दिएको छ । जितपुर सिमराले चालू आवमा कुल १ अर्ब ७ करोड रुपैयाँ नगर क्षेत्रको विकासका लागि बजेट विनियोजन गरेको छ ।


जसमा सडक पूर्वाधारलगायतमा २९ करोड रुपैयाँ भौतिक पूर्वाधार विकास शीर्षकमा विनियोजन गरेको छ । कुल बजेटको २५ प्रतिशत रकम शिक्षा क्षेत्रको विकासका लागि छुटयाएको जितपुर सिमरा उपमहानगरप्रमुख कृष्ण पौडेलले जनाए । शिक्षाका लागि नगर र वडा सबैमा गरी २९ करोड विनियोजन गरिएको उनले बताए । त्यस्तै स्वास्थ्य क्षेत्रमा ८ करोड रुपैयाँ, कृषि क्षेत्रको उत्थानका लागि ३ करोड बजेट विनियोजन गरिएको उनले जानकारी दिए ।


नगरवासीका लागी आकर्षक योजना ल्याइए पनि योजनालाई चुस्तदुरुस्त रुपले सम्पन्न गर्न कर्मचारी अभावले समस्या पारेको उनले जानकारी दिए । ‘कर्मचारी अभावले नगर र वडाको काम प्रभावित भएका छन्,’ उनले भने, ‘उपमहानगरलाई सञ्चालन गर्न पर्याप्त जनशक्ति छैन ।’ २ सय ६६ कर्मचारी आवश्यक रहेको उपमहानगरलाई ८० कर्मचारीको भरमा सञ्चालन गर्नु परेको उनले बताए । केन्द्र वा प्रदेश सरकार कसले कर्मचारी पूर्ति गर्ने चाँडै गर्नु पर्‍यो । दुबै उपमहानगरले छुटयाएको योजनाको बजेटलाई अन्य योजनामा रकमान्तर नगरिएको दुवै नगर प्रमुखले दाबी गरेका छन् ।

प्रकाशित : वैशाख ७, २०७६ ०९:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?