१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

सडकभरि ई-रिक्सा

ट्राफिक भगाउने र ड्राइभर भाग्ने लुकामारीले यातायात व्यवसायीमात्र होइन, सर्वसाधारण यात्रु पनि मर्कामा परेका छन्
शिव पुरी

(रौतहट) — चन्द्रपुर नगरपालिका ४ स्थित मुख्य चोक । सधैं व्यस्त हुने चोक हो यो । यहाँ पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म जाने सवारी रोकिन्छन् । यो एउटा मुख्य गन्तव्य पनि हो । पछिल्लो समय व्यस्त सडकभरि ई-रिक्सा भेटिन्छन् । व्यवस्थित पार्किङ गरिएको हुँदैन । जता मन लाग्यो त्यतै रोकेर राख्छन् । दुई वर्षदेखि यही समस्याले ई-रिक्सा मजदुर पनि समस्यामा छन् ।

सडकभरि ई-रिक्सा

चन्द्रपुर नगरपालिकाले पार्किङको व्यवस्था मिलाउन नसक्दा यहाँको सडक ई-रिक्साले पूरै ढाक्ने गरेको छ । उनीहरू पार्किङको अभावमा यताउता भौतारिने गर्छन् । बेलाबेलामा ट्राफिक प्रहरी र उनीहरूबीच लुकामारी चल्छ । ट्राफिकले सडकमा इरिक्सा राख्यो भनेर लखेट्छन् ।


ट्राफिक जान्छ । फेरि त्यही सडकमै पार्किङ हुन्छ । ई-रिक्सा संघका पूर्वअध्यक्ष तथा मजदुर केदारप्रसाद तिमल्सिनाले नगरपालिकाले बेवास्ता गर्दा ई-रिक्सा मजदुरले लामो समयदेखि सास्ती खेप्नु परेको सुनाउँछन् । 'व्यवस्थित पार्किङ छैन । सडकमै राख्नुबाहेक विकल्प पनि छैन,' उनी भन्छन्, 'नगरपालिकाले दुई वर्षदेखि पार्किङको ब्यवस्था गर्छु भनेर झुक्याएको छ ।' सडकको पेटीको नाली भत्काउने र त्यसलाई त्यतिकै छाड्ने गर्दा पनि समस्या बढेको उनको भनाइ छ । नालीलाई व्यवस्थित गर्न सके त्यसैको आडमा पार्किङ गर्न मिल्ने मजदुर बताउँछन् । पूर्वपश्चिमबाट आउने बस रोक्नासाथ यहाँ यात्रु बोक्न ई-रिक्साबीच तछाडमछाड चल्छ । सडक ढाकेर उनीहरू यात्रु बोक्न बस्छन् । त्यही बेला ट्राफिकले लखेेट्ने गरेको हो ।


चन्द्रनिगाहपुर क्षेत्रमा ४ सयका हाराहारी ई-रिक्सा सञ्चालनमा छन् । एक सयभन्दा बढी इन्धनबाट चल्ने अटो रिक्सा छन् । यहाँको क्षमता भनेको १ सय ई-रिक्सा रहेको तिमल्सिनाले बताए । चाहिनेभन्दा झन्डै चार गुणा बढी चल्न थालेपछि पार्किङ सुविधामा कठिनाइ भएको नगरपालिकाको भनाइ छ ।


यति धेरै सवारी एकैपटक सडकमा थुप्रेपछि कुनै बेला यातायात आवागमनमै समस्या हुने गरेको छ । सडकको पेटीमा फलफूलका पसलहरू बग्रेल्ती छन् । यहाँको दुबै क्षेत्र र गौर राजमार्गको सडकमै पसल राखिँदा थप समस्या निम्त्याएको छ । यसले चोकलाई कुरुप बनाएको छ । नगरपालिका प्रमुख रामचन्द्र चौधरीले चाँडै ई-रिक्सा व्यवस्थित गराउने जानकारी दिए । सबै कुरा एकैचोटि कहाँ हुन्छ र ? उनले भने, 'बिस्तारै समाधान निकाल्नुपर्छ । दुबैतिर नाला बनेपछि सबै समस्या सकिन्छ ।'


पछिल्लो समय यहाँ ई-रिक्सा किनेर चलाउनेको संख्या पनि हात्तै बढेको छ । उनीहरूमध्ये अधिकांशको अनुमतिपत्र छैन । ट्राफिकले लाइसेन्स लिन पटकपटक दबाब दिँदै आएको छ ।


उही ठाउँमा बसपार्क चन्द्रनिगाहपुरको मुख्य चोकमा सवारी रोक्दा ट्राफिक व्यवस्थापन समस्या भएको गुनासोपछि चन्द्रपुर नगरपालिकाले झन्डै ४ सय मिटर अगाडिको क्षेत्रमा लगेर रोक्ने भन्ने निर्णय गर्‍यो । निर्णय कागजमै सीमित भयो । नगरपालिकाले केही गर्न सकेन ।


पुरानो स्थानबाट केही अगाडि ल्याएर बस रोक्न थालेपछि झनै समस्या देखियो । गएको मंसिरमा नगरपालिकाले बस रोक्ने ठाउँलाई व्यवस्थित गर्ने र राजमार्गको मुख्य सडक दायाँबायाँ अतिक्रमण हटाउने अर्को निर्णय गर्‍यो । जिल्ला ट्राफिक, इलाका प्रहरीलगायता सरोकारवालालाई साक्षी राखेर निर्णय भएको थियो । त्यसको चार महिनापछि नगरपालिका, ट्राफिकलगायत सरोकारवाला मिलेर पुरानै स्थानमा बसपार्क सारेको छ । पश्चिम जाने बसलाई भने जहाँको त्यही रोक्न भनिएको छ ।


बसपार्कलाई पुरानै स्थानमा सारिए पनि सडकको दुवै क्षेत्रमा बढदो अतिक्रमण हटाइएको छैन । अहिले चोकको दुबै क्षेत्रमा अतिक्रमण बढदो छ । सडक पेटी र मुख्य राजमार्गमै थापिएका पसलले पेटीमा हिँड्नै समस्या छ । उनीहरू अटेर गरी सामान राखेर बसेका छन् । नगर नै कुरुप हुने गरी सडकमै पसल राख्दा सम्बन्धित निकाय चुप बस्नु आश्चर्य भएको स्थानीय बिनोद घिमिरेले बताए । सडकमै पसल राख्ने क्रम पनि बढेको छ ।


जथाभावी सवारी रोक्न छाडेको छैन । चन्द्रनिगाहपुरको मुख्य चोकमा सबैको नजर पुग्ने र देशभरिका यात्रु ओहोरदोहोर गर्ने हुँदा यसलाई सफा र व्यवस्थित गर्नुपर्ने भनेर जनप्रतिनिधिलाई दबाब दिँदै आएको छ । तर बेवास्ता गर्दै आएका छन् । राजधानीलगायत पश्चिम जाने बसले चोक क्षेत्र अस्तव्यस्त पार्छ ।


बिहान सबारी व्यवस्थापन गर्न ट्राफिकलाई हम्मेहम्मे पर्छ । उनीहरू कराउँछन् । सम्झाउँछन् । तर बस चालक टेर्दैनन् । अन्तमा जरिवाना काटेर छाड्छन् । ट्राफिक प्रहरी निरीक्षक बिजय श्रेष्ठले नगरपालिकाले व्यवस्थित गर्नुपर्नेमा किन नगरेको भनेर प्रश्न गर्छन् । 'ट्राफिक एक्लैले सम्भव छैन । व्यवस्थित बसपार्क र ई-रिक्साको समस्या समाधान नभएसम्म मुख्य चोकको अवस्था गन्जागोल देखिन्छ ।'


यहाँ चोेकका विभिन्न स्थानमा जथाभावी बस, ट्रक रोकेर राख्छन । बस, ट्रक, ई-रिक्सा, जिप ब्यस्त सडकमै पार्किङ हुन्छ । ट्राफिकले राखेको नोपार्किङ बोर्डमै लगेर सवारी रोक्छन् । रोक्ने स्थान नभएपछि कहाँ जाने भनेर सबाल जवाफ फर्काउछन् । राष्ट्रिय राजमार्ग भनिएको सडकलाई पार्किङस्थल बनाइएको छ । नियम विपरीत गरिएको पार्किङले सवारी साधन गुडाउनमात्र होइन, पैदलयात्रुलाई हिँड्न समेत बाधा पुगेको छ ।

प्रकाशित : वैशाख ४, २०७६ ११:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?