हुरीपीडित भन्छन्- 'चाँडै घर बनाइदेऊ सरकार'

शंकर आचार्य

(चैनपुर, बारा) — चैत १७ को विनाशकारी हुरीले बारा चैनपुरका ४५ वर्षीय उमानाथ रामको खपडाको घर तहसनहस बनायो । अहिले उनको ५ बालबच्चासहित ७ जनाको परिवार नेपाली सेनाले आँगनमा बनाइदिएको टेन्टमा आश्रय लिइरहेको छ । 

हुरीपीडित भन्छन्- 'चाँडै घर बनाइदेऊ सरकार'

उमानाथकी पत्नी ४२ वर्षीया लालपरीलाई अब जीवन फेरि कहाँबाट सुरु गर्ने भन्ने चिन्ता छ । 'हुरीले क्षणभरमै घर मात्र लगेन, बाँकी जीवन नै उजाडेको अनुभव भइरहेको छ,' उनले भनिन्, 'तैपनि सन्तानको भविष्य सम्झेर मन दर्‍हो बनाएकी छु ।'


उमानाथलाई भने भत्किएको घर फेरि कसरी ठड्याउने भन्ने पिरलो छ । 'टाउको लुकाउने एउटा घर पनि रहेन,' उनी भन्छन्, 'अब घर बनाउने मेरो ल्याकत छैन, सरकारले बनाइदिन्छ भन्ने सुनेको छु, खोइ कहिले बनाउने हो, जतिसक्दो छिटो भइदिए हुन्थ्यो ।' उनले राहतको अन्नपात अब आफूहरूलाई नचाहिने भन्दै बलियो छानो आवश्यक रहेको बताए ।


स्थानीय शंकर रामको पक्की घर पनि काम नलाग्ने गरी भत्कियो । जीर्ण घरमा बस्न समस्या भएपछि उनको परिवार पनि टेन्टमा आश्रति छ । सोमबार र मंगलबार निरन्तर आँधीहुरीसहित पानी परेकाले उनलाई अब टेन्टले कतिन्जेल थेग्ला भनेर चिन्ता हुन थालेको छ ।


'एक त सपरिवार टेन्टको बास, त्यसमाथि दैनिकजसो हुरीबताससहितको पानी परिरहेको छ,' उनले भने, 'यो टेन्टले कति दिन देला हामीलाई ओत ।' पक्की घरबाट एकैपटक टेन्टको बास भएपछि उनलाई आफ्नोभन्दा पनि बालबच्चाको भविष्यको चिन्ता छ । 'हामी पुरुष जसोतसो दुःखकष्ट सहेर भए पनि जीवन गुजार्न सक्छौं तर महिला र विद्यालय जाने उमेरका बालबालिकाले कसरी र कति दिन कष्ट सहलान्,' उनले भने, 'हामीलाई अब राहतको अन्न र लत्ताकपडाभन्दा स्थायी घर चाहियो, सरकारले घोषणा गरेअनुसार हाम्रो घर चाँडोभन्दा चाँडो बनाइदिनुपर्‍यो ।'


अगुवा महन्थ राम पनि गाउँमा पर्याप्त राहत सामग्री आइसकेकाले अब सरकारले स्थायी राहतस्वरूप पीडितका लागि घर नै बनाइदिनु आवश्यक रहेको बताउँछन् । 'सरकारले घोषणा गरिसकेको र घर बनाउने काममा पनि नेपाली सेनालाई नै प्रयोग गर्ने भनेको छ,' उनले भने, 'हाम्रो दशा भूकम्पपीडितको घरको जस्तो नहोस्, सरकार आफैंले जे जति प्रक्रिया पूरा गर्नु छ त्यो गरेर भए पनि आउँदो वर्षाअघि तयार पारिदिए ठूलो धर्म हुने थियो, अन्यथा वर्षायाममा विजोग हुनेछ ।'


परवानीपुर गाउँपालिका ४ मा रहेको राम र माझीहरूको बहुलता छ । स्थानीयको करिब २ सय घरमा हुरीबतासले ठूलो क्षति पुर्‍याएको छ । सम्हालिने प्रयासमा रहेका पीडितलाई खेतमा पाकेको गहुँ बाली भिर्‍याउने चटारो पनि छ । दैनिकजसो असिनासहित पानी परिरहेकाले बालीनालीमा पनि क्षति पुर्‍याइरहेको छ ।

प्रकाशित : चैत्र २७, २०७५ १८:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?