१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २११

विपतको पूर्वतयारी कमजोर

बेलैमा आगो नियन्त्रण गर्न नसकेका कारण व्यवसायीले २५ लाखभन्दा बढीको क्षति व्यहोर्नु पर्‍यो भने फनिर्चरमा लाखौंको सामान जलेर खरानी भइरहँदा आगो निभाउन सकिएन
ओमप्रकाश ठाकुर

सर्लाही — मलंगवा नगरपालिका १०, जिविस चोकका राजनारायण ठाकुरको फर्निचरमा बुधबार राति आगलागी हुँदा उनले निकै ठूलो क्षति व्यहोर्नुपर्‍यो । आगो लाग्ने बित्तिकै नगरमा खबर गरे पनि १ किमिको दूरीमा रहेको बारुण यन्त्र आगो निभाउन आएन ।

विपतको पूर्वतयारी कमजोर

आनो फर्निचर उद्योगमा लागेको आगो निभाउन बारुण यन्त्र नआएपछि उनले हाते कलबाट बाल्टीमा पानी हालेर निभाउने प्रयास गरे ।

तर तेज आगोको रापले उनको त्यो प्रयास सफल हुन सकेन । मिहिनेत र लगानी दुवै आनै आँखा अगाडि खरानी भइरहेको देखेपछि उनले आँसु थाम्न सकेनन् परिवारमा रुवावासी चल्यो ।


बेलैमा आगो नियन्त्रण गर्न नसकेका कारण ठाकुरले २५ लाख बढीको क्षति व्यहोर्नु पर्‍यो । फनिर्चरमा लाखौंको सामान जलेर खरानी भइरहँदा आगो निभाउन सकिएन । मध्यरात भएकाले स्थानीय पनि उल्लेख्य संख्यामा जुट्न सकेनन् । बुधवार मध्य रातमा लागेको आगो विहान ४ बजे मात्र स्थानीय, प्रहरी र हरिवनबाट आएको दमकलले नियन्त्रणमा लिएको थियो ।


आगो नियन्त्रणमा आउँदा सम्पूर्ण सामान जलेर सखाप भइसकेको थियो । आगलागीमा परेर ठाकुरको फर्निचर मात्र होइन उनीसँगै रहेको एक अर्को फर्निचरसहित थप ४ पसल जलेर पूर्णरूपमा नष्ट भएको छ । आगलागीमा परेर स्थानीयको करिव ६० लाख बराबरको क्षति भएको छ ।


सदरमुकाम मलंगवामै आगलागी हुँदा पनि बेलैमा नियन्त्रण आउन नसकेपछि जिल्लाको विपत् व्यवस्थापन कति चुस्त दुरुस्त छ, त्यसमाथी प्रश्न उठेको छ । सदरमुकाममै यस्तो अवस्था भएपछि दुरदराजको ग्रामीण भेकमा विपत् व्यवस्थापनको अवस्था झनै खराव छ । तीन दिनअघि मात्र हरिपुर नगरपालिका ९, पीडारी बजारमा लागेको आगो नियन्त्रण गर्न बारुण यन्त्र नआएपछि याहाँ पनि स्थानीयले लाखौको क्ष्ति व्यहोर्नुपर्‍यो ।


बारुण यन्त्र नआएकाले आगो नियन्त्रणमा आउन सकेन जसका कारण घरमा राखिएको ग्यास सिलिन्डर पडकदा ४ जना घाइते भए । चारै जना अस्पतालमा भर्ना छन् । कविलासी नगरपालिकाका भरत पण्डितले त आगलागीका कारण खुट्टा नै गुमाउनुपर्‍यो । अन्य भने जलेर घाइते छन् ।


स्थानीयले आगलागीमाथि नियन्त्रण पाएपछि मात्र हरिवन नगरपालिकाको बारुण यन्त्र पुगेको थियो । आगलागी भएर सबै सामान नष्ट भएपछि मात्र बारुण यन्त्र आएको भन्दै स्थानीयले आक्रोश पोखे । उनीहरूले बारुण यन्त्र नै तोडफोडको प्रयास गरेका थिए । आगलागी मात्र होइन प्रत्येक वर्ष आउने बाढीमा पनि स्थानीयले जनधनको क्षति व्यहोर्दै आएका छन् ।


स्थानीय नदीहरूमा तटबन्धको निर्माण नहुँदा तटीय क्षेत्रका स्थानीय वर्षा लागे सँगै त्रासमा बस्ने गर्छन् । ठूलो पानी परे संगै नदीमा आएको बाढीले गाउँ नै डुबानमा पर्ने हो कि भन्ने त्रासले स्थानीय भयभित रहने गरेका छन् ।


बागमति, मनुष्मारा, लखन्देही र झिम नदीका कारण वर्षाको बेला जिल्लाका दर्जनौं गाउँ डुवानमा पर्ने गरेका छन् । वागमती नदीमा आउने बाढीले बाँध फुटाएर जिल्लाको पश्चिमी क्षेत्रका गाउँमा पस्ने गरेका छन् भने अन्य नदीमा पानीको बढी बहावका कारण गाउँमा पसेपछि स्थानीयले सास्ती खेप्ने गरेका छन् ।


नदी किनारका बासिन्दाले भरपर्दो तटबन्धको व्यवस्था नहुँदा जोखिम बढेको बताउँदै आए पनि नदी नियन्त्रणको काम पूर्ण रूपमा हुन सकेको छैन । सरोकारवाला निकायले विपदको पूर्वतयारीमा ध्यान नदिदा स्थानीयले क्षति ब्यहोर्दै आएका नागरिक अगुवा रजनीकान्त झाले बताए । ‘विपदको पूर्वतयारीमा सरोकारवाला पक्ष स्थानीय तह, प्रदेश र संघीय सरकारले ध्यान दिएको पाइँदैन,’ उनले भने, ‘विपदबाट बच्नका लागि पुर्व तयारी हुनै पर्छ, नभए क्षति रोकिदैन ।’


विपदका बेला उद्धार र राहतमा पनि समस्या आउने गरेका छन् । कहिले बारुण यन्त्र बिग्रएको त कहिले नदी नियन्त्रणको लागि बजेट नभएको भन्दै हात उठाउने काम मात्र गर्दै आएको झाको भनाइ छ । जोखिम रहेको ठाउँमा सुरक्षा निकायले बेलाबेलामा बोरा र बाँस हालेर भए पनि तत्कालिन रोकथामको लागि प्रयास गरेपनि दीर्घकालीन उपायका बारेमा कसैले ख्याल गरेको देखिँदैन ।

स्थानीयले आगलागी तथा बाढीबाट क्षति व्यहोरेपछि जनप्रतिनिधिमाथि आक्रोस पोख्ने गरेका छन् ।


आगलागीका मौसममा जनप्रतिनिधिले बारुण यन्त्र थन्काएर राख्ने र बाढी आउनुभन्दा अगावै बस्ती जोगाउन कुनै पहल नगरेको स्थानीयको आरोप छ । उनीहरू नगर प्रमुखले जनताकै करबाट चिल्ला गाडी चढ्ने तर जनताकै जिउधनको सुरक्षाका लागि चासो नदिएको आगलागी पीडित राजनारायण ठाकुरले बताए ।


‘नगर प्रमुख हामीले नै तिरेको करबाट चिल्ला गाडी चढ्छन् तर हावा हुरीको समयमा जनताको सुरक्षाका लागि बारुण यन्त्र मर्मतमा ध्यान दिएको छैन,’ उनले भने, ‘स्थानीय सरकारको लापारवाहीका कारण हामीले लाखौंको क्षति व्यहोर्नु पर्‍यो, बारुण यन्त्र सुचारु भएको भए धेरै हदसम्म क्षति न्यूनीकरण गर्न सकिन्थ्यो ।’


जिल्लामा हावाहुरीबाट हुन सक्ने जनधनको क्षति न्यूनीकरणका लागि जनचेतना फैलाउँदै आगलागीको समेत उच्च जोखिम रहेका सबै स्थानीय तहहरूमा बारुण यन्त्रको व्यवस्थापन गर्न अनुरोध गर्ने जिल्ला विपद् व्यवस्थापन समितिले निर्णय गरेको छ । बिहीवार समितिको बसेको बैठकले हावाहुरीबाट हुन सक्ने सम्भावित दुर्घटनाबाट जोगिन कुनै एक स्थानीय तहले एकलौटी दमकलको व्यवस्थापन गर्न नसके छेउछाउका तीन/चार वटा स्थानीय तहसँग मिलेर बारुण यन्त्रको व्यवस्था गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी द्रोण पोखरेलले बताए ।


यस्तै बैठकले जिल्लाको विपत् पूर्वतयारी तथा प्रतिकार्य योजना अद्यावधिक गर्ने जिम्मा नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा, बागमती सेवा समाज र राष्ट्रिय रोजगार प्रवर्द्धन केन्द्रलाई दिने निर्णय समेत गरेको छ ।

प्रकाशित : चैत्र २५, २०७५ १०:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?