कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१८

गुठीको जग्गामा किर्ते

भुषण यादव

वीरगन्ज — गुठी संस्थानको जग्गा किर्ते गरी व्यक्तिलाई बित्री गरेको पाइएको छ । मालपोतका कर्मचारी, वडाध्यक्ष, सचिव, लेखनदास र भूमाफियाको मिलेमतोमा वीरगन्ज महानगरपालिका २६, लालपर्सामा गुठी संस्थान कार्यालय पर्साको नाममा रहेको एक बिघा ११ कठ्ठा ५ धुर र वीरगन्ज महानगरपालिका १४, मझडिहा पिप्राको १ बिघा १ कठ्ठा जिग्गा किर्ते गरी ३ करोड ४० लाख रुपैयाँमा बिक्री गरिएको हो । 

किर्तेमा संलग्न वीरगन्ज १४ का वडा सचिव झुना महरा, वडा सदस्य रफिक अन्सारी र मध्यस्तकर्ताको काम गरेका हरिषचन्द्र पोखरेललाई जिल्ला प्रहरी कार्यालय पर्साले पक्राउ गरेको छ । वडाध्यक्ष भरत कुर्मी फरार छन् । अदालतले कर्मीलाई पक्राउ गर्न पुर्जी जारी गरिसकेको छ । यसबारे वीरगन्ज महानगरपालिका र वडा कार्यालयमा समेत जानकारी गराइसकिएको प्रहरीले जनाएको छ ।


सचिवले वडाध्यक्षकै निर्देशनमा सिफारिस गरेको प्रहरीलाई बयान दिएका छन् । पर्सा प्रहरी फ्रवक्ता अनन्तराम शर्माले गुठीको जग्गा किर्ते गरी बित्री गर्ने माथि ३ मुद्दा दर्ता गरिएको जनाए । ‘ठगी, लिखितसम्बन्धी कसुर र संगठित अपराधमा मुद्दा दर्ता गरी अनुसन्धान अगाडि बढाएका छौ,’ उनले भने, ‘गुठी संस्थानको जग्गा किर्ते प्रकरणमा १९ जनाको मिलेमतो देखिएको छ ।’


यसरी भयो किर्ते

भूमाफियाले मालपोत कर्मचारीको मिलेमतोमा पर्साको साबिक लालपर्साको वडा ८ र ९ मा दिवंगत महन्थ राघव दास बैरागीको नाममा रहेको १ बिघा ११ कठ्ठा ५ धुर जग्गा भारतीय नागरिक इन्द्रकला देवीको नाममा हक हस्तान्तरण गराएका थिए ।


हक हस्तान्तरणका लागि वीरगन्ज महानगरपालिका १४ का वडा कार्यालयले हक अंश खाने एकमात्र इन्द्रकला देवी रहेको मालपोत कार्यालयलाई सिफारिस गरिदिएको थियो । केही दिन अगाडि मात्र सोही वडा कार्यालयले महन्थको मृत्यु प्रमाणपत्रसमेत बनाएको थियो ।


इन्द्रकलाको नाममा नामसारी भएपछि भूमाफियाले ०७५ असोज २८ मा झापाको दमक नगरपालका ६ का सुशील भट्टराईलाई ऊक्त जग्गा ३ करोड ४० लाखमा बित्री गरे । जग्गा खरिद गरेको करिब २ महिनापछि भट्टराईले बैंकबाट ऋण निकाल्ने क्रममा ठगिएको थाहा पाए । ‘उनले खरिद गरेको उक्त जग्गाको विवरण मालपोतमा थिएन,’ प्रवक्ता शर्मा भन्छन्, ‘मालपोतको राजीनामा लिखत, जग्गाधनी पुर्जा, सरकारी छाप, राजस्व तिरेको रसिद सुशील भट्टराईसँग भए पनि त्यसको विवरण मालपोतमा भेटिएन ।’ प्रहरीका अनुसार भूमाफियाले मालपोतभित्रै कर्मचारीकै अगाडि सहिछाप, लिखित पास गराएका थिए ।


उनले तिरेको राजस्वको रसिदको विवरण मालपोतमा छैन । भट्टराईले प्रहरीलाई गत माघ २१ गते उजुरी दिएपछि प्रहरीले छानबिन अगाडि बढाएको थियो । भूमिसुधार तथा मालपोत कार्यालयले सुशील भट्टराईको नाममा उक्त जग्गाको रेर्कड नभेटिएको प्रहरीलाई लिखित जानकारी गराएको छ । गुठी संस्थान कार्यालय वीरगन्जले पनि उक्त जग्गा संस्थानकै नाममा रहेको पत्राचार गरेको डीएसपी शर्माले जनाए ।


वीरगन्ज चिनीमेल पछाडि मझडिहा पिप्रामा गुठी संस्थानको रहेको १ बिघा १ कठ्ठा जग्गा पनि किर्ते सहिछाप गरी जग्गाधनी लालपुर्जा भूमाफियाले तयार पारेको प्रहरी अनुसन्धानले देखाएको छ । ‘मालपोत कर्मचारी, लेखनदास, भूमाफिया र वडा कार्यालयको मिलेमतोमा गुठी संस्थानको जग्गा बिक्री भएका छन्,’ डीएसपी शर्माले भने, ‘केही फरार छन्, अनुसन्धान जारी छ ।’

प्रकाशित : चैत्र २४, २०७५ ०९:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?