२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७

साढे २४ हजार क्विन्टल धान खरिद

पर्सा — वीरगन्जस्थित नेपाल खाद्य संस्थान शाखाले यस सिजनमा २४ हजार ५ सय ६७ क्विन्टल धान खरिद गरेको छ । मंसिर १३ बाट धान खरिद खुला गरेको शाखाले यति धान खरिद गरेर यस सिजनका लागि खरिद बन्द गरेको शाखाका निमित्त प्रमुख अम्बिका प्रसाद घिमिरेले बताए । 

‘यस सिजनमा पहिलो चरणमा १५ र दोस्रो चरणमा १० हजार क्विन्टल धान खरिदको लक्ष्य रहेकोमा २४ हजार ५ सय ६७ क्विन्टल खरिद गर्न सफल भयौं,’ उनले भने, ‘प्रतिक्विन्टल २ हजार ४ सय ६० रुपैयाँ ५७ पैसाको दरले सोना मन्सुली धान खरिद

गरेका हौं ।’


यस सिजनमा लक्ष्यको हाराहारी धान खरिद भएपछि किसानले फागुन अन्त्यदेखि थप धान नल्याएपछि खरिद बन्द गरिएको उनले बताए । यस वर्ष धान खरिद खुला गरेको सुरुका दिनमा धान कम आए पनि पुसदेखि भने धान आउन सुरु भएको थियो । पर्सा र बारा दुबै जिल्लाका किसानले यस सिजनमा पर्याप्त धान बिक्री गर्न ल्याएका थिए । संस्थानले बजारमा जस्तो उधारोमा धान खरिद नगर्ने र किसानलाई तत्काले नगद नै दिने भएकाले पनि किसानले संस्थानलाई धान बिक्री गरेको हुन सक्ने उनले बताए ।


गत वर्ष शाखा आफैंले सोना मन्सुली धानको खरिद मूल्य २ हजार ५ सय २५ रुपैयाँ निर्धारण गरेको थियो । गत वर्ष शाखाले १० हजार क्विन्टल सोना मन्सुली धान खरिद गरेको थियो । तर यस वर्ष भने सोना मन्सुली धानकै खरिद मूल्य गत वर्षको भन्दा ६५ रुपैयाँ कम निर्धारण गरिएको थियो । यस वर्ष फागुन मसान्तसम्म धान खरिद गर्ने लक्ष्य राखिएकोमा त्यसअघि नै लक्ष्यको नजिक पुगिएको उनले बताए ।


संस्थान केन्द्रीय कार्यालयले यस वर्ष सोना मन्सुली धानको खरिद मूल्य प्रतिक्विन्टल २ हजार ४ सय ६० रुपैयाँ ५७ पैसा निर्धारण गरेको थियो । सरकारले तोकेको धानको न्यूनतम समर्थन मूल्यलाई आधार मानेर संस्थानले यस वर्ष मुलुकभरीका आफ्ना शाखामा सोना मन्सुली धानको खरिद मूल्य एउटै निर्धारण गरेको हो ।

प्रकाशित : चैत्र १६, २०७५ ०९:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?