कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

आईसीपीमा पूर्वाधार विस्तार गरिँदै

शंकर आचार्य

पर्सा — वीरगन्जस्थित एकीकृत सुरक्षा जाँच चौकी (आईसीपी) मा अहिले पूर्वाधार बिस्तार गरिँदै छ  । भारत सरकारले निर्माण गरिदिएको आईसीपीमा अहिले सेड र वेयरहाउस गोदाम निर्माण भइरहेको छ  ।

आईसीपीमा पूर्वाधार विस्तार गरिँदै

आईसीपी सञ्चालक इन्टर मोडल यातायात विकास समितिका अधिकृत तर्कराज जोशीले आईसीपीको पश्चिम कुनामा ३ हजार मेट्रिक टन क्षमताको एउटा गोदाम र दक्षिणतर्फ भन्सार जाँचपास कक्षको सेड निर्माण भइरहेको जानकारी दिए ।

हाल आईसीपीको पश्चिम उत्तर कुनामा २ साना गोदाम छन् । दुबैमा गरी १ हजार ३ सय ७४ वर्गमिटर क्षेत्रफल मात्र स्थान मालबस्तु भण्डारणका लागि उपलब्ध छ ।

एउटा गोदाम ६ वटा कन्टेनरको मालबस्तुले भरिन्छ । मुलुककै पहिलो, ठूलो र व्यस्त यो भन्सार बिन्दुमा ठूलो गोदाम चाहिन्छ ।

गत वर्ष चैत तेस्रो सातादेखि मुलुककै पहिलो आईसीपी सञ्चालनमा आएपछि यहाँ गोदाम, भन्सार जाँचपास कक्ष, पार्किङ यार्ड, क्वारेन्टाइन भवनमा कक्ष, डोरमेट्री भवन, सवारी चालकलाई भान्सा कोठा, गेट अफिस, सुरक्षा भवनलगायतको कमी महसुस भएको थियो । इन्टरमोडल यातायात विकास समितिले क्रमशः यी पूर्वाधार निर्माण गर्ने योजनाअनुरूप अत्यावश्यक दुई पूर्वाधार निर्माण थालेको हो ।

यसअघि वीरगन्ज भन्सार कार्यालयको यार्डमा भन्सारको आफ्नै र नेशनल टेडिङको गोदामले जसोतसो धानेको थियो । हाल यो भन्सार परिसरमा साविकको जत्तिको पनि गोदाम उपलब्ध छैन । आईसीपीमा भन्सार जाँचपास घरसमेत अभाव छ । यसले भन्सार कर्मचारीलाई काम गर्न समस्या भएको छ ।

समितिको क्वारेन्टाइन भवन र डोरमेट्री भवनमा तल्ला थप्ने योजना पनि छ । त्यसैगरी, सवारी चालकको भान्सा, सेड, गेट अफिस र सुरक्षा भवन पनि क्रमशः निर्माण गर्ने योजना रहेको समितिले जनाएको छ । आईसीपी निर्माण हुँदा ताका नै सेवाग्राहीले गोदामको कमी र कर्मचारी आवास गृह नभएको आवाज उठाउँदै आएका थिए । हाल आईसीपी परिसरमा पार्किङ यार्डसमेत अभाव छ । यसले गर्दा भारतबाट आउने मालवाहक ट्रक बाटोमै पार्किङ गरेर राख्नु परेको छ ।

यसअघि आईसीपी निर्माण गर्दा त्यसको डिजाइनिङमै त्रुटि रहेको भन्दै सुधार गर्नुपर्ने माग वीरगन्जका उद्योगी व्यवसायीले उति बेलै गरेका थिए । तर सरोकारवाला निकायहरूले त्यसतर्फ ध्यान दिएका थिएनन् । नेपालको आधाभन्दा बढी अन्तर्राष्ट्रिय आयात निर्यात कारोबार आईसीपीबाटै हुने भएकाले सरकारले यसलाई व्यवस्थित र सुविधा सम्पन्न बनाउँदै लान चाहेको छ ।

भारतीय कम्पनी राइट्स योजना व्यवस्थापन सल्लाहकार रहेको यो परियोजना भारतीय ठेकेदार कम्पनीहरू केएस सफ्टनेट सोलसन्स र नागार्जुना कन्स्ट्रक्सन कम्पनीले संयुक्त रूपमा निर्माण गरेका हुन् ।एकै छानामुनि भन्सार, आप्रवासन, क्वारेन्टाइन, सीमा सुरक्षा जस्ता संस्था आउनाले मानवीय तथा मालसामानको अन्तरदेशिय आवतजावतलाई झन्झटरहित बनाउने प्रयासस्वरूप भारतले नेपाल र आफ्नो भूमिमा समेत गरी आईसीपी निर्माण गरेको हो ।

प्रकाशित : फाल्गुन २९, २०७५ ११:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?