कामै नगरी समय काट्छन् कैदी

भूषण यादव

वीरगन्ज — विगत दुई वर्षदेखि वीरगन्ज कारागारमा कैदी जीवन बिताइरहेका पर्साका मनोज चौहानको दैनिकी केही नगरी बित्ने गरेको छ । चौहान मात्र नभई कारागारका आधाभन्दा बढी कैदी काम नगरी समय काटिरहेका छन् । 

कामै नगरी समय काट्छन् कैदी

विभिन्न अपराधमा संलग्न रहेका एक हजार दुई सय ६४ कैदी तथा थुनुवा वीरगन्ज कारागारमा कैद छन् । जसमध्ये पाँच सय २४ जना कैदीले मात्र काम पाएका छन् । नाइके शेख भोलाका अनुसार करिब तीन सय जना सिलाइ कटाइमा संलग्न छन्, सय जना मुढा बनाउने कार्यमा छन्, कारागारको सैलुन, होटल र पसलमा पनि कैदीले काम पाएका छन् ।


पर्स र ढाका टोपी बनाउन १२/१२ जना र भान्सामा २५/३० जनाले काम पाएका छन् । मनोरञ्जन र खेलकुदका लागि क्यारेम बोर्ड, पुल हाउस, टेनिस र टेलिभिजनको पनि व्यवस्था गरिएको छ । अध्ययन गर्न चाहनेलाई पुस्तकालय पनि छ । करिब ८० वर्ष अगाडिदेखि सञ्चालनमा आएको कारागार अहिलेको अवस्थामा कैदीहरूका लागि साँघुरो बनेको छ ।


खुला मैदानको पनि अभाव छ । ‘कैदी बाहिर जान सक्दैनन्,’ कारागारका नाइके भोला भन्छन्, ‘काम गर्न चाहेर पनि गर्ने अवस्था छैन् ।’ ठूलो जनशक्ति काम नैगरी बसिरहेको देखेपछि जेलर सुनिल खनालले गत कात्तिकमा वीरगन्ज उद्योग वाणिज्य संघका पदाधिकारीसँग के गर्न सकिन्छ भनी सल्लाह गरेका थिए ।


‘काम दिन्छौँ भन्ने आश्वासन पनि दिएका थिए,’ जेलर खनाल भन्छन्, ‘आश्वासन कार्यान्वयन भएको छैन ।’ उनका अनुसार घरेलु तथा साना उद्योगका काम कैदीले जेल भित्र बसेर हातले गर्न सक्छन् । ‘काम पाए कैदी परिवारको आर्थिक रूपमा भरथेग हुन्थ्यो, ठूलो जनशक्ति उत्पादनमा लाग्थ्यो,’ उनले भने, ‘छुटेर गएपछि समाजमा पुनःस्थापना पनि सजिलो हुन्थ्यो, मनोविज्ञान पनि परिवर्तन हुन्थ्यो ।’


काम नगरी यक्तिकै समय कटाउँदा अनेक थरि नकारात्मक विचार दिमागमा आउने गरेको कैदी मनोज चौहानले खुलाए । कारागारका नाइके शेख भोलाका अनुसार काम नपाएका कैदीले अनावश्यक कुरा सोचेर बस्ने गरेका छन् । ‘अधिकांश तनावमा देखिन्छन्,’ उनले भने, ‘दिमाग मोड्न राज्यले कामको व्यवस्था गरिदिनुपर्छ ।’


कारागारलाई सुधार गृह भनिए पनि कैदीहरू मानसिक तनावमा बस्न बाध्य छन् । मासिक लाखौँ रुपैयाँ कैदीको व्यवस्थापन र राशनमा सरकारले खर्च गर्दै आएको छ । सात सय ग्राम चामल र ६० रुपैयाँ नगद दैनिक रूपमा प्रत्येक कैदीलाई वितरण गरिन्छ । यसको अलावा वर्षमा दुई पटक गर्मीको लुगा र दुई वर्षमा एक पटक सिरक/डसना दिने गरिएको कारागार प्रशासनले जनाएको छ ।

विस १९९५ भन्दा अगाडि नै स्थापना भएको यो कारगारको क्षमता एक हजार कैदी राख्ने भए पनि पछिल्लो केही वर्षयतादेखि क्षमताभन्दा बढी कैदी बसिरहेका छन् । घना बस्तीको बीचमा रहेको यो कारागार स्थानान्तरणको आवश्यकता रहेको सरोकारवालाले औँल्याएका छन् । प्रदेश २ का भौतिक पूर्वाधार तथा यातायात मन्त्री जीतेन्द्र सोनलले सोमबार कारागारको निरीक्षण अनुगमन गरेका छन् ।


उनले पनि संघीय सरकारसँग समन्वय गरि घना बस्तीको बीचबाट कारागारलाई स्थानान्तरण गर्ने आश्वासन दिए । सहरको बीचमा रहेको कारागार साँघुरो भएकाले यसको स्थानान्तरणका लागि जिल्लाका सबै दलले पनि माग गर्दै आएका छन् ।

प्रकाशित : फाल्गुन २८, २०७५ ०९:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?