कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

सरस्वतीका मूर्ति बनाउन भ्याइनभ्याइ

महोत्तरी — महोत्तरीको दक्षिणी भेगका एकलो मूर्ति कलाकार रामनारायण पंडितलाई अहिले भ्याइ नभ्याइ छ । सरस्वती पूजा आउन ४ दिन बाँकी छँदा उनको व्यस्तता झन् बढेको हो ।

सरस्वतीका मूर्ति बनाउन भ्याइनभ्याइ

‘आइतबार श्रीपंचमी हो । शनिबारसम्म सवै मूर्ति लगिसक्छन् । यसका लागि शुक्रबारै सबै मूर्ति तयार पार्नुपर्छ,’ उनले भने ।

यो वर्ष उनले ठूला र साना गरी ३० जति मूर्ति बनाएका छन् । उमेरले ७६ नागेका पंडितलाई बाँस, पराल, माटो र रंगको संयोजन गरेर मूर्ति बनाउन आनन्द लाग्छ । कमाइ पनि छ । मूर्तिको आकार र मिहेनत हेरी डेढ हजारदेखि १० हजार रुपैयाँसम्मका सरस्वतीका मूर्ति बनाएका छन् ।


यो वर्ष मौसमले पनि साथ दियो । शीतलहर नपरेकाले मूर्ति बनाउन खासै असहज भएन । तर जलेश्वर वर्दिवास सडकबाट उडने धुलोले उनलाई मूर्ति गढन र रङ्ग लगाउन भने गाह्रो पारेको छ । मूर्ति बनाउने थलो सडक छेउकै आँगन भएकाले सवारीले उडाउने धुलोले उनका स्वास्थ्यमा पनि असर पारेको छ । श्वासप्रश्वास बढेको छ ।


वसन्त लागेदेखि नै मूर्तिका लागि अर्डरभने दिनहजसो आउने गरेको छ । तर सवै अर्डर पुरा गर्न नसकेको उनले बताए । ‘सवै अर्डरको मूर्ति हो,’ उनले आगन र दलिनमा राखिएका मूर्तिमा रङ लागाउदै भने,‘कम्मरको ब्यथा धुलोले गर्दा अर्डर आएजति बनाउन सकिन ।’

उनलाई यसपटक सयबढी मूर्तिको अर्डर आएको थियो । सामुदायिक र बोर्डिङ स्कुल थपिएसंगै वसन्तपंचमीको अवसरमा सरस्वती मुर्तिको माग बढेको उनले जनाए ।


मधेशमा आआफ्नै घरमा मूर्ति स्थापना गरि सरस्वती पूजा गर्ने परंपरा रहेकोले संस्थागतवाहेक निजी अर्डर पनि आउने गरको छ । उनी अझै पनि फुर्तिलो देखिन्छन् । तर ढल्दो उमेरले पहिले झै काम गर्न नसकेको बताउछन् । घरमा २ छारो र ८ नातिनातिना भए पनि आफूलाई सघाउने कोही नहुदा बढी अर्डर नलिने अर्को कारण भएको उनले जनाए । ‘एक त जाडो मौसम उसमाथि बुढेसकाल’ उनले विवशता सुनाए, ‘सघाउने पनि कोही छैन अर्डर लिएर मात्र हुँदैन । समयमा बनाएर पनि त दिन सक्नुपर्‍यो ।’


प्रविधिले विकास गर्दै गए पनि मूर्ति पूजाको आस्थामा भने कमि नआएको उनको अनुभव छ । यो आस्थाका कारण मुर्ति ब्यवसायमा राम्रो भविष्य रहेको उनको भनाई छ । तर युवा पुस्तामा मुर्ति कलाप्रति आकर्षण न भएकोमा उनी चिन्तित छन् । आफना छोराहरूले पनि अन्य ब्यवसाय अपनाएकाले आफुले मूर्तिकलाको उत्तराधिकारी पनि नपाएको दुखेसो गरे । ‘यसमा पनि भविष्य छ,’ उनले भने, ‘तर आजकालका केटा माटो छुन र घाँस पराल मिलाउन लाज मान्छन् ।’


कर लगाएर मूर्ति बनाउन नसकिने उनको अनुभव छ । ‘भित्रबाटै इच्छा हुनुपर्छ,’ उनले अनुभव सुनाए, ‘माटो र खरपातलाई भगवानको रुप दिन करले हुँदैन भावना कल्पनाका साथ कला पनि चाहिन्छ ।’ ४० वर्षदेखि यही भावना र कलाको संयोजनले काँचो माटोमा ईश्वरको रुप गढेर व्यवसाय गर्दै आएका उनी हरेक वर्ष कृष्ण अष्टमी, विश्वकर्मा पूजा, लक्ष्मी पूजा र सरस्वती पूजाका लागि मूर्ति बनाउँछन् ।


उनी वर्षेनी विधाकी देवीको मूर्ति बनाउँछन् तर आफू भने निरक्षर छन् । भन्छन, ‘पढाइलेखाइमा त आफू काला अक्षर भैंसी बराबर ।’ नाबालकमै बुबा बितेकोले पनि आफूले विद्यालयको मुख हेर्न नपाएको दुखेसो गरे । ‘शिक्षा नभए पनि सीप त छ,’ उनले भने ।

प्रकाशित : माघ २४, २०७५ १०:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?