कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

जनकपुरमा विद्युत् अनियमितता

शाहीमान राई

जनकपुर — प्रदेश २ का मुख्यमन्त्री मोहम्मद लालबावु राउतको कार्य कक्षमा छिनछिनमा बत्ती निभ्छ । मोबाइलको टर्च बालेर मधुरो उज्यालो पारेर काम चलाउँछन् मुख्यमन्त्री । बैकल्पिक उज्यालोका निम्ति खरिद गरिएको इन्भर्टर व्याट्रीले पनि काम गरेको छैन । विद्युत् लाइन कनेक्सन सिस्टममा समस्या भएकाले काम नगरेपछि जेनेरेटरबाट मुख्यमन्त्री कार्यालयमा उज्यालोको व्यवस्था गरिएको छ ।

मुख्यमन्त्री कार्यालय जस्तै प्रदेश २ को राजधानी सहर जनकपुरधामस्थित सरकारी तथा गैरसरकारी कार्यालयमा विद्युत् लाइन छिनछिनमा अवरुद्ध हुँदा अधिकांश सेवाग्राहीको कामकाजमा बाधा हुने गरेको छ । नेपाल विद्युत् प्राधिकरणले धनुषा क्षेत्रमा वितरण गरेको ३२ केभी प्रसारण लाइनको कनेक्सन सिस्टममा खरावीका कारण इन्भर्टर व्याट्रीमा रिचार्ज नहुने र छिनछिनमा लाइन जाने भएकाले सेवाग्राहीलाई समस्या परेको हो ।


प्रदेश नं २ को राजधानी सहर जनकपुरधामस्थित बन्द रहेको जनकपुर चुरोट कारखाना परिसरमा सञ्चालित मुख्यमन्त्रीको कार्यालय लगायत अन्य मन्त्रालयको विद्युत् प्रणालीको समस्या उस्तै रहेको प्रदेश सरकारका प्रमुख सचिव दिपक सुवेदीले बताए । उनले मुख्यमन्त्रीको कार्यालयमा विद्युत् आपूर्तिमा समस्या देखिएपछि जेनेरेटर खरिद गरी बैकल्पिक व्यवस्थापन गरिएको बताए ।


प्रदेश सरकारको मन्त्रालय सञ्चालित बन्द जनकपुर चुरोट कारखानाभित्र रहेका भवनमा गरिएको वाइरिङ सिस्टम पुरानो भए पनि मर्मतसम्भार नगरिएकाले समस्या भएको प्रमुख सचिव सुवेदीले बताए । सङ्घीय सरकारको उद्योग मन्त्रालय मातहतमा रहेको जनकपुर चुरोट कारखाना प्रदेश सरकारको मातहतमा नआएकाले विद्युत् प्रणाली मर्मतसम्भार गर्न समेत अप्ठयारो परेको प्रमुख सचिव सुवेदीले बताए ।


लोडसेडिङ अन्त्य गरिसकेको नेपाल विद्युत् प्राधिकरणले नियमित विद्युत् आपूर्ति गर्न नसक्दा धनुषा लगायत प्रदेश २ का अधिकांस जिल्लामा सेवाग्राही असन्तुष्ट छन् । विद्युत् प्राधिकरणले वितरण प्रणाली मर्मतसम्भार, सुधार र विस्तार गर्न नसकेको सेवाग्राहीले गुनासो गर्दै आएका छन् । सेवाग्रहीलाई विद्युत् अवरुद्ध हुने कार्यतालिकाको सूचना प्रवाह नगर्दा कामकाजमा बाधा हुने गरेको छ ।


धनुषाको जनकपुरधाम आसपासको क्षेत्रमा सडक विस्तार, ढल निकास, ड्रेन नाली निर्माण, मर्मतसम्भार लगायत निर्माण कार्य भइरहेकाले विद्युत् आपूर्ति अवरुद्ध हुने गरेको नेपाल विद्युत् प्राधिकरणको जनकपुर वितरण केन्द्रका प्रमुख सूर्यनारायण मण्डलले बताए ।


एसियाली विकास बैंकको ऋण सहयोगमा जनकपुर उपमहानगरपालिका एकीकृत सहरी विकास आयोजनाअन्तर्गत निर्माणाधीन सडक विस्तार, कालोपत्रे, ढल निकासका लागि ड्रेन नाली, विद्युत् खानेपानी र टेलिफोन लाइन मर्मतसम्भार भइरहेकाले दिउँसोको समयमा विद्युत् आपूर्ति अवरुद्ध पार्ने गरेको विद्युत् वितरण केन्द्र प्रमुख मण्डलले बताए । तर सर्वसाधारणलाई सूचना प्रवाह नगर्दा गुनासो आएको उनले बताए । विद्युत् आपूर्ति र वितरण लाइन कमजोर व्यवस्थापन र असावधानीका कारण प्रदेश २ मा हालसम्म दुई सय ४५ जनाले ज्यान गुमाइसकेको संघीय प्रहरी इकाइ कार्यालय धनुषाले जनाएको छ ।

विद्युत् प्रसारण लाइन कमजोर व्यवस्थापनका कारण कतै पोल र तार जीर्ण, कतै तार नै चुँडिएर लथालिङ्ग रहेको कतै पोल ढल्न लागेको, रूख बोटबिरुवामा अल्झिने गरेको पाइए पनि विद्युत् प्राधिकरणको बेवास्ताका कारण दुर्घटना हुने गरेको सेवाग्रही गुनासो गर्छन् ।


यसबाहेक विद्युतीकरण गरिएको ग्रामीण बस्तीमा विद्युत् तारमा हुकिङ गरेर विद्युत् चोरी गरेर उपभोग गर्ने र यसबाट विद्युत् चुहावट हुने गरेको छ । जसबाट विद्युत् ट्रान्सफरमर उपकरण जल्ने गरेको छ । तर प्राधिकरणले अनुगमन, सुधार, नियन्त्रण र व्यवस्थापन गर्न नसकेको उपभोक्ताको गुनासो छ ।

प्रकाशित : माघ २३, २०७५ १२:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?