कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

कालोपत्रे सडक गुणस्तरहीन

स्थानीयको गुनासो गरेपछि धनुषाका प्रजिअ नेतृत्वको टोलीले अनुगमन गरेको छ । 
शाहीमान राई

जनकपुर — सहरी विकास तथा भवन निर्माण विभागद्वारा जनकपुरधाम उपमहानगरपालिका क्षेत्रमा कालोपत्रे गर्न लागिएको सडक गुणस्तरहीन भएको स्थानीय बासिन्दाले आरोप लगाएका छन् ।

कालोपत्रे सडक गुणस्तरहीन

ठेकेदार शर्मा एन्ड रमन कन्स्ट्रक्सन संयुक्त कम्पनीले कालोपत्रे गरेको सडक गुणस्तरहीन भएकोले भत्किन थालेको स्थानीयबासीको आरोप छ ।


जनकपुर उपमहानगरपालिका–४ तिरहुतियागाछी भैरवचोकदेखि महावीरचोकसम्म ६ सय ५० मिटर सडक गुणस्तरीय नभएको स्थानीयको गुनासो गरेपछि धनुषाका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कणेल नेतृत्वको टोलीले अनुगमन गरेको छ ।

सरकारको ८३ करोड रुपैयाँ लगानीमा जनकपुरधाम उपमहानगरपालिका क्षेत्रमा कालोपत्रे हुन लागेको छ ।


स्थानीयले गुनासो गरेपछि प्रमुख जिल्ला अधिकारी कणेलले जनकपुरमा क्रियाशील सञ्चारकर्मी, स्थानीय बासिन्दाकै सामुन्नेमा ठेकेदार कम्पनीका परियोजना व्यावस्थापक पीके शर्मा र सहरी विकास तथा भवन निर्माण विभागका इन्जिनियर चिरञ्जीवीप्रशाद साहलाई निर्माणस्थलमा बोलाएर डिजाइन इस्टमेट र सम्झौताअनुसार तलमाथि नगरी गुणस्तरीय काम गर्न गराउन निर्देशन दिएका छन् ।


ठेकेदार शर्मा एन्ड रमन कन्स्ट्रक्सन कम्पनीले कालोपत्रे गर्न सडक राम्ररी बेस (ग्राभेल) तयार नगरी धूलाम्मे सडकमा प्राइमकोड गर्न लागेको भन्दै स्थानीय बासिन्दाले प्रमुख जिल्ला अधिकारीको ध्यानाकर्षण गराएका थिए । ठेकेदारले प्राइमकोड गर्न लागेको कालोपत्रे सडकको बेस गुणस्तरीय नभएको सहरी विकास तथा भवन निर्माण विभागका इन्जिनियर चिरञ्जीवीप्रशाद साहले स्वीकारेका छन् । सहरी विकास तथा भवन निर्माण विभागका प्रमूख डिभिजन इन्जिनियर प्रदीप सिंहले गुणस्तरहीन काम गर्ने ठेकेदारलाई छुट नदिने बताए ।


जनकपुरधाम उपमहानगरपालिकाको परिक्रमा सडक आसपासको क्षेत्रमा सरकारको सहरी विकास मन्त्रालयको ८३ करोड रुपैयाँ लगानीमा १६ दशमलव ८८५ किलोमिटर सडक कालोपत्रे र करिब २१ किलोमिटर ड्रेन निर्माण गर्ने ठेकेदार शर्मा एन्ड रमन कन्स्ट्रक्सन कम्पनीसित सम्झौता छ ।


तर, ठेकेदार कम्पनीले सम्झौता अनुसार निर्माण कार्य तीव्रता दिन नसकेको स्थानीयवासीको गुनासो छ । त्यसमध्ये ठेकेदारले २६ करोड रुपैयाँ भुक्तानी पाइसकेका छन् । एसियाली विकास बैंकको एक अर्ब ९० करोड ऋण सहयोगमा एकीकृत सहरी विकास परियोजनाअन्तर्गत ३१ किलोमिटर ढल निकास ह्युमपाइप ड्रेन नाली विस्तार, फुटपाथ, विद्युत्, खानेपानी र टेलफोन लाइन मर्मत तथा ९ दशमलव ८५ किलोमिटर सडक कालोपत्रे गर्ने कार्य अन्तिम चरणमा पुगेको छ ।


यी दुवै जेडआईईसी शर्मा र रकमन कन्स्ट्रक्सन कम्पनीको संयुक्त ठेक्का सम्झौता छ । सहरी विकास तथा भवन निर्माण कार्यालयअन्तर्गत बसहिया क्याम्पसचोक–आनन्दनगर रामजानकीपथलगायत छोटो दूरीका करिब साढे ६ किलोमिटर सडक कालोपत्रे गरिसकेको कम्पनीका मेनेजर पिके शर्माले बताए ।


धनुषाधामचोक मानकी, शिवचोक, बिसहरापोखरी पश्चिम देवीचोक, मिटक्याम्पस–राराब क्याम्पस, पेठियाबजार मुस्लिमटोल जानकीमन्दिर, जानकी स्कुल संकटमोचन परिक्रमा सडक, विश्वकर्माचोक नमस्कार होटल, जिल्ला प्रशासन–यातायात कार्यालय, राममन्दिर कदमचोक, रामचोक जानकीमन्दिर जनकचोक, मालपोत कार्यालय–क्याम्पस, भैरवचोक महावीरचोक जानकीमन्दिर राममन्दिर, विवाहमण्डप देवीचोक, महावीरचोक पेठियाबजार भ्रमणपुराचोक, मुझेलिया सिनुरजोडा क्याम्पस मार्ग, थापाचोक रजौल पुलिसस्टेसनलगायत छोटो दुरीका ३५ वडा टुक्रे सडक १६ दशमलव ८८५ किलोमिटर कालोपत्रे गर्ने ठेक्का सम्झौता छ ।


सडक विस्तारको क्रममा भत्काइएका घरजग्गाको मुआब्जा, क्षतिपूर्ति वा राहत केही नदिइएकाले उपमहानगरपालिकाप्रति पीडित सर्वसाधारणले गुनासो गर्दै आएका छन् । उपमहानगरपालिकाले मुख्य सडकको चौडाइ तीस मिटर, सहायक सडक २० मिटर, पुराना बजारको सडक १५ मिटर, १३ मिटर, ९ मिटर कायम गरेको छ ।


जनकपुर उपमहानगरपालिकालाई अव्यवस्थित सहरीकरण गरी स्वच्छ, सफा, सुन्दर, आकर्षक पर्यटकीयस्थलको रूपमा विकास गर्ने लक्ष्य पूरा हुने जनकपुर उपमहानगरपलिकाका उपप्रमुख रीताकुमारी मिश्रले बताइन् ।

प्रकाशित : माघ २१, २०७५ ०९:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?