कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

शिशु बिमा सम्झौता 

शाहीमान राई

जनकपुर — प्रदेश नं २ सरकारले सुरु गरेको नवजात शिशुको बिमा गर्न प्रभु बैंकसित सम्झौता भएको छ । ‘बेटी बचाऊ, बेटी पढाऊ’ कार्यक्रम अन्तर्गत माघ १ गतेदेखि जन्मिएका शिशु (छोरी) को नाममा एक लाख बराबरको बिमा रकम प्रभु बैंकमा जम्मा गर्न लागेको हो ।

शिशु बिमा योजना लागू भइसकेकाले शिशु जन्मिएको ६ महिनाभित्र तोकिएको कागजातसहित मुख्यमन्त्री कार्यालयमा आवेदन पेस गर्न आह्वान गरिएको छ । मुख्यमन्त्री कार्यालयको सिफारिसमा प्रभु बैंकमा मुद्दती खाता खोलेर बिमावापतको रकम जम्मा गर्ने व्यवस्था मिलाएको छ ।


बिमा योजना लागू भएको ८ जिल्लाका ८ स्थानीय तहका अविभावकले शिशु जन्मिएको एक सय ८० दिनभित्र अस्पतालमा जन्म प्रमाणपत्र, वडा कार्यालयको जन्मदर्ता प्रमाणपत्र, बाबुआमाको नागरिकता, मुख्यमन्त्री कार्यालयको सिफारिसपत्र लिएर गएपछि बैंकले शिशुको नाममा मुद्दती खाता खोलेर बिमा रकम जम्मा गरिदिने सर्तसहित मुख्यमन्त्री कार्यालयका सचिव हरिप्रसाद फुयाल र प्रभु बंैंकका तर्फबाट सहायक प्रबन्धक अशोक खड्गीबीच १५ बँुदे सम्झौता पत्रमा हस्ताक्षर गरी प्रदेश नं २ का मुख्यमन्त्री मोहम्मद लालबाबु राउत समक्ष बुझाएका छन् ।


बिमा बापतको रकम शिशु हुर्किएर बीस वर्ष पुगेर नागरिकता प्रमाण–पत्र प्राप्त गरेपछि एकमुष्ठ एक लाख प्रदान गर्ने व्यवस्था गरिएको छ । बेटी बिमाबापत प्रदेश सरकारले बैंकलाई प्रतिव्यक्ति १३ हजार ६ सय ४६ रुपैयाँ १५ पैसाका दरले बुझाउने सम्झौता छ ।


यो शिक्षा बिमा भएकाले शिशुलाई उमेर पुगेपछि विद्यालयमा अनिबार्य भर्ना गर्नुपर्ने सर्त छ । बिमा गरिएका छोरीले २० वर्षभन्दा कम उमेरमा पढाइ छाडेर विवाह गरेमा र बेपत्ता भएमा बिमा बापतको रकम मुख्यमन्त्री बेटी बचाऊ, बेटी पढाऊ कोषमा फिर्ता हुने व्यवस्था गरिएको छ ।


तर खातावाला छोरी कडा रोग लागेर विरामी भएर पढाइमा बाधा भएमा र अभिभावकको मृत्यु भएको अवस्थामा मन्त्रालयको सिफारिसमा खातामा जम्मा भएको सावाव्याज रकम भुक्तानी दिने व्यवस्था गरिएको मुख्यमन्त्री कार्यालयले जनाएको छ । बेटी शिक्षा बिमा योजना प्रभावकारी कार्यान्वयन गर्न छोरी शिक्षा बिमा मुद्दती बचत खाता सञ्चालन कार्यविधि २०७५ तयार गरिएको मुख्यमन्त्रीको प्रेस संयोजक आतिश मिश्रले बताए ।


कार्यविधिमा विमित व्यक्ति अपांगता भई कमजोर आर्थिक अवस्थाका कारण विद्यालयमा कक्षा १२ सम्म उत्तीर्ण गर्न नसक्ने अवस्था आइपरेमा बेटी बचाऊ, बेटी पढाऊ निर्देशक समितिको सिफारिसमा २० वर्ष अवधि पूरा गर्नुअघि नै रकमको सावाव्याज भुक्तानी दिन सक्ने व्यवस्था गरिएको छ ।


तराई मधेसमा सामाजिक विकृतिका रूपमा रहेको दहेजप्रथाका कारण छोरीलाई दाइजो दिनुपर्ने भएकाले गर्भमै भ्रुण हत्या गर्ने प्रचलनको अन्त्य गरी सुरक्षित मातृत्व, जन्मने र शिक्षा पाउने अधिकार ग्यारेन्टी गर्न बिमा गर्न लागिएको हो । प्रदेशको २ को ८ वटा स्थानीय तहमध्ये पर्साको वीरगञ्ज महानगरपालिकाको वडा नं १ देखि १६ नं सम्म, बाराको स्वर्ण गाउँपालिका, रौतहटको यमुनामाई, सर्लाहीको पर्सा, महोत्तरीको एकडारा, सिराहाको औरही, सप्तरीको महादेवा गाउँपालिका र धनुषाको कमला नगरपालिकाको सबै वडामा जन्मिने शिशुको नाममा छोरी शिक्षा बिमा कार्यक्रम लागू गरिएको छ ।


छोरी शिक्षा बिमा मद्दती बचत खाता सञ्चालन कार्यविधि २०७५ को बुँदा नं ७ अनुसार सेवा प्रदायक संस्था (प्रभु बैंक लिमिटेड) ले तोकिएको समयमा सम्झौता नवीकरण नगरेमा तथा सेवाग्राहीलाई तोकिएको सेवा प्रदान नगरेमा सम्झौता रद्द गर्न सक्ने गरी २०७७ पुस मसान्तसम्मका लागि सम्झौता भएको छ । यसबाहेक सेवाग्राही शिक्षा बिमा गरिएका व्यक्तिको अविभावक तथा संरक्षकलाई बैंकबाट कृषि, शिक्षा, वैदेशिक रोजगारी तथा व्यवसाय गर्न सहुलियत ऋण समेतको प्रबन्ध गरिएको छ ।

प्रकाशित : माघ १८, २०७५ १२:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?