१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६३

कपडा तस्करी बढ्दो

भूषण यादव

वीरगन्ज — नेपाल प्रहरी र सशस्त्र प्रहरीको ८ वटा चौकी छिछोल्दै भारतीय नाकाबाट झन्डै ३० किलोमिटरभित्र नेपाली भूमिमा धान बोकेर आएको टयाक्टरबाट ठूलो परिमाणमा भन्सार राजस्व छलीका कपडा बरामद भएका छन् । 

सशस्त्र प्रहरी बलको प्रदेश नम्बर दुईका प्रमुख सशस्त्र प्रहरी नायव महानिरीक्षक (डीआइजी) प्रवीण कुमार श्रेष्ठको टोलीले आइतबार बिहान करिब ९ बजे वीरगन्ज–पोखरिया सडक खण्डको तिलावे पुल नजिकै धान बोकेको टयाक्टरलाई नियन्त्रणमा लिएको थियो ।


‘चेकजाँचका क्रममा धानको बोरामुनि ५० पोका कपडा बरामद भएको छ,’ डीआइजी श्रेष्ठले भने, ‘ठूलो परिमाणमा तस्करी भइरहेको सूचना आएपछि टोली परिचालन गरिएको थियो ।’ पोकाभित्र करिब ५० लाख रुपैयाँ बराबरको सर्टिङ, सुर्टिङ, साडी, सरुवाल कुर्ता लगायतका कपडा रहेको डीआइजी श्रेष्ठले बताए ।


ना२त १६४८ नम्बरको टयाक्टरले माथिल्लो भागमा धानको बोरा (५० क्विन्टल) र त्यसको मुनि कपडा राखेर पर्साको सीमावर्ती नाका मिर्जापुर, लगंडी, पोखरिया, बहुअर्वाभाटा, विन्दवासनी हुँदै वीरगन्जतर्फ आउने क्रममा डीआइजीको टोलीले नियन्त्रणमा लिएको थियो ।


त्यसक्रममा उक्त टयाक्टरले नेपाल प्रहरीको एक इलाका सहित पाँच वटा चौकी र सशस्त्र प्रहरीको तीनवटा बीओपीको ऐरिया पार गरेको थियो ।


ग्रामीण नाकामा खटाइएका प्रहरीले तस्करसँगको मिलोमतोमा ‘लाइन’ खोलेका छन् । वीरगन्ज भन्सारको वरिपरिको नाकाबाट तस्करीमा कडाइ भएपछि कारोबारीले ग्रामीण नाकाबाट तस्करी गरिरहेका छन् । यसअघि पुस ९ मा पर्सा–बारा औद्योगिक कोरिडोरमा सञ्चालनमा रहेको सिमेन्ट उद्योगबाट सिमेन्ट लोड गरी काठमाडौँ गइरहेको ना७ख ९८४८ नम्बरको ट्रकबाट मकवानपुर प्रहरीले २५ पोका कपडा बरामद गरेको थियो ।


ग्रामीण नाकाबाट भित्र्याएको भन्सार छलीका कपडा कारोबारीले ट्रक चालकलाई मिलाएर कपडा लोड गरेका थिए । स्रोतका अनुसार पछिल्लो समयमा अवैध कारोबारीले सिमेन्टसँगै इँटा बोक्ने ट्रकमा पनि कपडा तस्करी गरेका छन् ।


‘वीरगन्ज र ग्रामीण नाकाबाट अवैध रूपले भित्र्याएका कपडा इँटा, सिमेन्ट र चामल बोकेर काठमाडौँ जाने ट्रकमा लोड गरी अवैध कारोबार व्यापक रूपमा भइरहेको छ,’ नाम उल्लेख नगर्ने शर्तमा एक कारोबारी भन्छन्, ‘दैनिक करिब ३ सय पोका कपडा काठमाडौँ तस्करीमार्फत गइरहेको छ ।’


वीरगन्जका ट्रान्सपोर्ट व्यवसायीले भन्सार छलीका कपडा बोक्न छाडेपछि कारोबारीले विकल्पका रूपमा इँटा, सिमेन्ट, धान/चामल बोकेर काठमाडौँ, नारायणगढ, पोखरा जाने ट्रकलाई रोजेका हुन् । जानकीटोला, मिर्जा, भिस्वा, पिडारी, अमरपट्टी, बन्जारी लगायतका नाकाबाट अवैध कारोबारीले सुरक्षाकर्मीको मिलेमतोमा निर्वाध कपडा भित्र्याउने गरेका छन् । ‘ट्रकको अगाडि र पछाडि इँटा, सिमेन्ट र धान/चामल लोड हुन्छ,’ सम्बद्ध स्रोत भन्छन्, ‘बीच भागमा कपडाको पोका राखिन्छ ।’ पछिल्लो समय तस्करी नियन्त्रणमा प्रहरीका माथिल्लो हाकिमले कडाइ गरे पनि ग्रामीण भेकमा खटिएका प्रहरीले अवैध कारोबारीसँग मिलेमतो गर्ने गरेको पाइएको छ ।


प्रहरी आचरण विपरीत कार्य गर्ने करिब तीन दर्जन प्रहरीलाई जिल्ला प्रहरी कार्यालय पर्साले कारवाही गरिसकेको छ । सीमावर्ती क्षेत्रमा खटिएका प्रहरीकै मिलेमतोमा तस्करी भइरहेको पाइएपछि प्रदेश नम्बर दुई प्रहरी कार्यालय जनकपुरले पनि दुई साता अगाडि पर्साका ५ प्रहरीलाई कारवाही गरेको थियो ।


एसपी रेवती ढकालका अनुसार पर्साको भारतसँग एक सय सात किलोमिटर खुला बोर्डरका कारण सबै नाका ‘कर्भर’ गर्न सम्भव छैन् । योसँगै खुला सीमासँगै जोडिन गएको एउटा पक्ष मूल्यान्तरको कारोबार हो र यो कारोबार सीमासँग जोडिएका क्षेत्रका एउटा समूहका लागि जीविका र अवसरको आश्रय भइदिएको छ । ‘सीमावर्ती क्षेत्रमा बसोबास गर्ने केहीलाई सजिलै पैसा कमाउने लत लागेको छ,’ उनले भने, ‘जति कडाइ गरे पनि इजी अर्निङको बानी लागेकाले खुला नाकाको दुरुपयोग गरिहाल्दोरहेछन् ।’


तस्करी नियन्त्रण नेपाल प्रहरीको पहिलो प्राथमिकतामा नरहेको एसपी ढकालले बताए । तस्करी नियन्त्रणका लागि सशस्त्र प्रहरीको राजस्व गस्ती टोली परिचालन गरिएको छ । योसँगै सशस्त्रको बीओपी (बोर्डर आउट रिच पोस्ट) समेत स्थापना गरिएको छ । सशस्त्र प्रहरीका एसपी प्रेमध्वज शाहले नेपाल प्रहरीको प्राथमिकतामा तस्करी नियन्त्रण नपर्ने भएपछि किन नाकामा चौकी स्थापना गरेको भन्दै प्रश्न गर्छन् ।


‘भन्सार राजस्व गस्ती बाहेक हाम्रो ९ वटा बीओपी छन्,’ उनले भने, ‘तर, प्रहरीको ३३ वटा चौकी छन्, नाकामा सशस्त्रभन्दा अगाडि प्रहरीका चौकी छन् ।’ खुला बोर्डर भएकाले सूचनाबिना तस्करी न्यून गर्न सम्भव नरहेको उनले बताए ।


किन हुन्छ कपडा तस्करी ?

नेपाल कपडा उद्योग संघका अनुसार मुलुकमा स्वेदशी उत्पादनले माग पूरा गर्ने अवस्था छैन । संघका अनुसार मुलुकमा वार्षिक एक अर्ब मिटर कपडा आवश्यक पर्छ । जसमध्ये स्वदेशी उद्योगले वार्षिक ७ करोड मिटर मात्र उत्पादन गर्छन् । करिब १३ करोड मिटर भन्सार राजस्व दाखिला गरी आयात हुन्छ । बाँकी कपडा तस्करीको माध्यमले भित्रिने गरेको छ ।


गत आर्थिक वर्ष करिब ८० अर्व रुपैयाँ मूल्य बराबरको कपडा अवैध रूपले मुलुक भित्रिएको छ । भन्सार कार्यालयका अनुसार सिलाएको कपडामा २० प्रतिशत र नसिलाएको कपडामा १५ प्रतिशत भन्सार महसुलका साथै १३ प्रतिशत मूल्य अभिवृद्धि (भ्याट) कर लाग्ने गरेको छ ।


एक थान कुर्ता सुरुवाल आयात गर्दा २० प्रतिशत भन्सार महसुल, १३ प्रतिशत भ्याट तिर्नुपर्छ । ‘यसले गर्दा सीमावर्ती सहरमा सामान्य एक जोर कुर्ता सुरुवालमा झन्डै चार सय रुपैयाँ फरक पर्छ,’ एक व्यवसायीले भने, ‘त्यही कुर्ता काठमाडौँमा दोब्बरमा बिक्री हुन्छ ।’ भन्सार राजस्व छलि कपडा भित्र्याउँदा व्यापारीलाई अत्यधिक फाइदा हुने गरेको छ ।


‘अवैध तरिकाले एक पोका कपडा काठमाडौँ पुर्‍याउँदा खर्च कटाएर पाँच हजार तस्करलाई फाइदा हुन्छ,’ एक कारोबारीले भने । सीमावर्ती क्षेत्रमा चोरी तस्करीमा संलग्न हुने अधिकांश कारोबारी सुरुमा कपडा तस्करीबाटै यो धन्दामा हात हाल्छन् । चितवन, पोखरा, काठमाडौँ लगायतका सहरका कपडा व्यापारीलाई वीरगन्ज र रक्सौलका व्यापारीले वैध/अवैध तरिकाले कपडा डिलेभरी दिने गरेका छन् ।

प्रकाशित : माघ १६, २०७५ १०:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?