कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

माटो दिँदा बिरुवा मासिए

माटो कटान गरी ट्रयाक्टरमा लैजाँदा लाखौं रुपैयाँ बराबरका भर्खर उम्रिएका बिरुवा समेत मासिएका छन्
अवधेशकुमार झा

सप्तरी — वन कार्यालयले नर्सरीका लागि वनक्षेत्रको माटो कटान गर्न अनुमति दिएको छ । त्यही कटानले सप्तरीको रुपनी गाउँपालिका ६ स्थित टिकघारी वनक्षेत्र सखाप हुँदै गएको हो । 

रुपनी गाउँपालिका ६ स्थित हस्तान्तरण हुन बाँकी रहेको वावा डिहिबार सामुदायिक वन उपभोक्ता समूहको वनबाट अन्यत्र नर्सरी लगाउन माटो कटान गर्न डिभिजन वन कार्यालय सप्तरीले आदेश दिएको थियो । सोही अनुरूप माटो कटान गरी ट्रयाक्टरमा लैजाँदा लाखौं रुपैयाँ वराबरका भर्खर उम्रिँदै गरेका बिरुवासमेत कटान गरिएको रुपनी गाउँपालिकाका अध्यक्ष हरेराम यादबले बताए ।


दम्रा खोला किनारमा रहेको उक्त वनभित्र सयौंको संख्यामा टिकका रुखहरू छन् । वन कार्यालयको अनुमतिमा भन्दै बर्सेनि उक्त वनक्षेत्रबाट जथाभावी रूपमा माटो कटान गरिँदा बर्सेनि कयौ रुखहरू ढल्ने गरेको र ती ढलेका रुखहरू पनि अनाधिकृत रूपमा बिक्री–वितरण हुने गरेको अध्यक्ष यादवले आरोप लगाए ।


वन क्षेत्रमा गएर माटो कटान गर्दा लाखौं रुपैयाँ बराबरका भर्खर उम्रिइरहेका बिरुवा समेत कटान गरिएको बाबा डिहिवार सामुदायिक वन उपभोक्ता समूहका कोषाध्यक्ष लालबहादुर महतोले बताए । उनले भने ‘यस वर्ष मात्र माटो कटान गरिँदा पाँच सयभन्दा बढी भर्खर उम्रेका रुखहरू काटिएर नष्ट भएको छ ।


‘एकातिर भर्खर उम्रेका रुखहरू काटेर नष्ट गरिँदै छ अर्कोतिर पुराना रुखहरूको छेउमा खाल्टो हँुदा वर्षा हुनेबित्तिकै ती रुखहरू ढल्ने गरेका छन्,’ कोषाध्यक्ष महतोले भने, ‘वन कार्यालयको लापरबाहीका कारण वनक्षेत्र मासिँदै गएको छ । वन क्षेत्रबाट माटो निकालेर अन्यत्र लैजाँदा वन क्षेत्र नै खत्तम हुने स्थिति सिर्जना भएको रुपनी गाउँपालिकाका अध्यक्ष हरेराम यादवले बताए ।


उनले भने, ‘एक ट्रयाक्टर बालुवा लैजाँदा पक्रेर थुन्ने डिभिजन वन प्रमुखले वन क्षेत्र नै सखाप हुने गरी माटो कटानको आदेश दिन मिल्छ ?’ उनले डिभिजन कार्यालयको लापरबाहीका कारण उक्त वनमा करौडौंको क्षति भएको आरोप लगाए । उक्त वन भित्र विभिन्न स्थानमा माटो कटान गरिएको छ भने कयौं पातला र भर्खर उम्रेका रुखहरू समेत माटोसँगै कटान गरिएको छ ।


‘एक त नदीले कटान गर्दा वन क्षेत्र समाप्त हुने अवस्थामा छ, त्यसमाथि जथाभावी रूपमा बिरुवा समेत माटो कटान गरिँदा थप समस्या भएको छ,’ अध्यक्ष यादबले भने । डिभिजन वन कार्यालय राजविराजका प्रमुख धीरेन्द्रकुमार सिंहले तिलाठी कोइलाडी गाउँपालिका र हनुमाननगर कंकालिनी नगरपालिकामा स्थापना गरिएको नर्सरीमा बिरुवा उमार्नका लागि केही ट्रयाक्टर वनको माटो आवश्यक भएकाले सोको अनुमति मात्र दिएको बताउँदै रूख कटान नभएको दाबी गरे ।


यसैबीच सप्तरीको रुपनीका स्थानीय बासिन्दाहरूले आफूहरूको वनबाट अनाधिकृत रूपमा माटो कटान गरी जंगल सखाप पार्न लागेको आरोप लगाउँदै माटो लिन गएको एउटा ट्रयाक्टर नियन्त्रणमा लिएर प्रहरीमा बुझाएको छ । एउटै ट्रयाक्टरमा स १ त ४४८८ र को २ त २७२३ गरी दुईवटा नम्बर लेखिएको ट्रयाक्टर स्थानीयले नियन्त्रणमा लिएर रुपनी स्थित इलाका प्रहरी कार्यालयमा बुझाएका हुन् । प्रहरीले उक्त ट्रयाक्टर आबश्यक अनुसन्धानका लागि इलाका वन कार्यालय रुपनी पठाएको छ ।

प्रकाशित : माघ १, २०७५ ०९:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?