वैदेशिक रोजगारबाट फर्केकामा एचआईभीको संक्रमण

रासस

बर्दिवास — महोत्तरी जिल्लामा वैदेशिक रोजगारीमा गएका र तीनका परिवारजन बढीजसो एचआईभी संक्रमित पाइएका छन् ।

एचआईभी जाँच रक्त परीक्षण र उपचार सेवा दिँदै आएको नेपाल परिवार नियोजन संघ महोत्तरी परियोजना बर्दिवासले जनाएको छ ।

विश्व एड्स दिवसका अवसरमा परियोजना प्रमुख धीरज पौडेलले हालसम्म आफ्नो ल्याबको परीक्षणबाट संक्रमित पाइएका ५० मध्ये ३१ पुरुष वैदेशिक रोजगारबाट फर्केका पाइएको जानकारी दिए ।

संक्रमित १९ महिला मध्ये ६ जना संक्रमित पुरुष (पति) का पत्नी रहेको परियोजनाले जनाएको छ । जिल्लामा कूल संक्रमित संख्या मध्येका पाँचजना बालबालिका भने गर्भदेखि नै संक्रमित पाइएको परियोजना प्रमुख पौडेलको भनाइ छ ।

सन् २००७ देखि एचआईभी र विभिन्न यौन रोगबारे परामर्श, स्वेच्छिक रक्त परीक्षण र उपचार सेवासमेत दिँदै आएको परियोजनाले सन् २०१३ यता भने एचआईभी संक्रमण न्यूनीकरणमा राम्रो सुधार आएको जनाएको छ । सन् २००७ देखि २०१२ सम्म प्रत्येक वर्ष दुई/चार संख्या संक्रमित भेटिए पनि २०१३ यता भने यसै वर्ष गत अक्टुबरमा एक मात्र संक्रमित भेटाइएको परियोजना प्रमुख पौडेलले जानकारी दिए ।

विभिन्न स्वास्थ्य संस्था, स्वयंसेवी संस्था, एड्स तथा यौन रोगविरुद्धका सघन सचेतना अभियान र कण्डमको प्रयोग बढेसँगै एचआईभी संक्रमित घटेको परियोजनाको ठम्याइ छ ।
जिल्लामा संक्रमितको तथ्यांकअनुसार सबै नै असुरक्षित यौन सम्पर्कको कारण पाइएको परियोजना प्रमुख पौडेलले बताए । संक्रमण पनि भारत र मलेशियाबाट फर्केका बढी पाइएको परियोजनाले जनाएको छ ।

यसैबीच स्वास्थ्य क्षेत्रमा काम गर्दै आएका सामाजिक संघ संस्थाले विदेशबाट फर्कनेलाई विमानस्थल र दुईदेशीय सीमा क्षेत्रमा अनिवार्य एचआईभी परीक्षण गरेर मात्र प्रवेशको व्यवस्था गर्न राज्यसँग माग गरेका छन् ।

प्रकाशित : मंसिर १७, २०७५ १५:४९
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्

‘दो फूल’ खाने तेल र ‘डिजे’बाजा प्रतिबन्ध

रासस

गौशाला — महोत्तरी जिल्लामा आइतबारदेखि ‘दो फूल’ नामक भारतीय कम्पनीको खाने तेल बिक्री वितरणमा र ठूलो आवाजको ‘डिजे’ बाजा बजाउन प्रतिबन्ध लगाइएको छ ।

प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालको अध्यक्षतामा बसेको सर्वपक्षीय बैठकले स्वास्थ्यमा प्रतिकूल असर पार्ने देखिएको उक्त तेल र ठूलो आवाजको डिजे बाजामा आइतबारदेखि प्रतिबन्ध लगाएको हो ।

उक्त तेलका विषयमा प्रमुख जिल्ला अधिकारीसमक्ष धेरै गुनासो आएकाले तिहारअघि जिल्ला सदरमुकाम जलेश्वरको तीन वटा पसलमा खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयले तेलेका तीन वटा नमूना लिएर गुणस्तर जाँचका लागि हेटौँडास्थित खाद्य प्रविधि तथा गुण नियन्त्रण क्षेत्रीय कार्यालयमा पठाएको थियो । क्षेत्रीय कार्यालयले उक्त तेलको बोतलमा तोरीको तेल नलेखिएको, मानव स्वास्थ्यका लागि हानिकारक, गुणस्तरहीन र अखाद्य बस्तु मिसावट गरिएको ठहर गरेकाले सर्वपक्षीय बैठकबाटै जिल्लामा यसको उपभोग तथा बिक्री वितरणमा प्रतिबन्ध लगाइएको प्रजिअ ढकालले बताए ।

बैठकले ठूलो आवाजको डिजे बाजाले वृद्धवृद्धा, बच्चा, मुटु रोगीसहित आम मानिसको स्वास्थ्यमा प्रतिकूल असर पार्नका साथै ध्वनि प्रदूषण गराएकाले यस्ता ठूलो आवाजको बाजा बजाउनमा पनि प्रतिबन्ध लगाएको हो । यस्तै उच्छृङ्खल र अश्लिल गीत बजाउन, बेलुका ८ बजेदेखि बिहान ६ बजेसम्म कुनै पनि बाजा बजाउन, हेलमेट नलगाएर मोटरसाइकल चलाउन, दुई जनाभन्दा बढी मोटरसाइकलमा बस्न पनि प्रतिबन्ध लगाइएको थियो । बैठकमा प्रशासन, सुरक्षा निकाय, राजनीतिकर्मी, उद्योग वाणिज्य सङ्घ, नागरिक समाज, पत्रकारसहितको सहभागिता थियो ।

प्रकाशित : मंसिर १७, २०७५ १५:४८
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT